सम्बन्ध विच्छेदको गलपासो र पारिवारिक विचलन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सम्बन्ध विच्छेदको गलपासो र पारिवारिक विचलन


दान बहादुर सुनार

२९ असार २०७६, आइतबार


भनिन्छ, लोग्नेस्वास्नीको झगडा परालको आगो हो । छिट्टै बल्छ र एकैछिनमा निभ्छ । साना तिना कुरामा तर्क वितर्क हुँदा पनि त्यसले एउटा विवादको रूप लिन सक्छ । यी र यस्तै खालका विवाद सही तरिकाले समाधान गर्नुको साटो आ आफ्नै विचारमा अडिग रहेमा विवादले उग्र रूप लिई सम्बन्ध विच्छेदको गलपासोमा फसिन्छ ।

नेपालमा अहिले सम्बन्ध विच्छेद विकराल समस्याको रूपमा देखा पर्न थालेको छ । लोग्ने स्वास्नीको सम्बन्ध विच्छेद गरिपाऊ भनी अदालत धाउने महिला पुरुषहरूको सङ्ख्या दिन प्रतिदिन तीव्र रूपमा बढिरहेको अदालतको तथ्याङ्कले देखाउँछ ।

सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन हेर्दा, आ.वं २०७४/७५ मा झापा जिल्ला अदालतमा ९१० थान सम्बन्ध विच्छेदका मुद्दाहरू दर्ता भएको देखिन्छ भने काठमाडौँ जिल्ला अदालतमा सम्बन्ध विच्छेदकै ३५०२ मुद्दाहरू दर्ता भएको देखिन्छ । यस्तै अन्य जिल्लाहरूको तथ्याङ्क हेर्दा समेत सम्बन्ध विच्छेदका मुद्दाहरू अप्रत्याशित रूपमा बढिरहेको देखिन्छ । भर्खरै लागु भएको देवानी संहितामा पुरुषले समेत सम्बन्ध विच्छेदको मुद्दा सोझै अदालतमा दायर गर्न सक्ने कानुनी प्रावधान रहेकाले सम्बन्ध विच्छेदका मुद्दाहरूको सङ्ख्या झन् अत्यधिक रूपमा बढिरहेको देखिन्छ ।

हुन त सम्बन्ध विच्छेद गर्नु भनेको आफैमा एउटा रहरको विषय नभएर बाध्यात्मक परिस्थिति पनि होला तर पनि परिवारमा हुने गरेका सानातिना मनमुटाव, असमझदारी र विवादलाई लिएर संवेगात्मक र भावनात्मक आवेगमा आई भविष्यमा आउन सक्ने नकारात्मक असरलाई समेत विचार र मनन नगरी लामो समय देखि कायम रहेको लोग्ने स्वास्नीको सम्बन्ध र पारिवारिक संरचना नै धरापमा पर्ने गरी सम्बन्ध विच्छेद जस्तो भयानक गलपासोमा फस्नु भन्दा त्यस्ता खालका पारिवारिक विवादहरूलाई अन्य कुनै विकल्पको माध्यमद्वारा सुल्झाई आफ्नो दाम्पत्य सम्बन्धलाई यथापत कायम राखी फेरी पनि परिवारमा खुसीको माहौल सिर्जना गर्न सकिन्छ ।

विगतका दिनहरूमा भन्दा आजभोलि मान्छेहरू शिक्षित र सचेत भइरहेका अवस्थामा पनि यस्ता खालका विवाद सजिलै सुल्झाई जीवनलाई सही बाटोमा डोरयाउने मनस्थिति र सोचको विकास हुनुको साटो झन् पारिवारिक कलह र विवादले प्रश्रय पाई सङ्गठित भइरहेको सुन्दर पारिवारिक संरचनालाई समेत तहस नहस पार्ने र साना बालबालिकालाई पनि पितृत्व र मातृत्वको न्यानो माया र उपयुक्त स्याहार सुहार तथा शिक्षारुपी उज्यालो घामबाट समेत वञ्चित गराउने गरी सम्बन्ध विच्छेदको बाटो रोज्नु आफैमा एउटा आश्चर्यजनक, दयनीय र दुर्भाग्यपूर्ण विषय बन्न पुगेको छ ।

हामीले आफ्नो एकहटपन र जिद्दी पन त्यागेर सकारात्मक मनस्थिति बनाई समस्याको वास्तविक समाधान पनि त निकाल्न सक्छौ । कुनै पनि समस्या आफैमा ठुलो हुँदैन । त्यसलाई हेर्ने तरिकामा भर पर्दछ । हरेक समस्याका पछाडि समाधान पक्कै हुन्छ ।

प्रायः जसो सम्बन्ध विच्छेदका मुद्दा लिएर अदालत धाउने २० देखि ३० वर्ष उमेरका युवा युवतीहरू देखिन्छन् । मनोवैज्ञानिक दृष्टिकोणले समेत यो उमेर भनेको एकहटपन, जिध्दीपन तथा आफू र आफ्नो विचार नै सर्वे सर्वा ठान्ने उमेर हो । विवादको समाधान तर्फ लाग्नुको साटो आफू नै सर्वेसर्वा ठान्ने प्रवृत्तिले गर्दा निजहरूलाई अन्धकार र गलत बाटोमा हिँडाई रहेको हुन्छ भन्ने कुरा यो पिँडीका युवायुवतीहरूले बुझ्न जरुरी छ ।

हाम्रो एउटा सानो गल्ती र हताश मनस्थितिमा गरिएको निर्णयले पारीरिक संरचना र भावी जीवनमा के कस्तो असर र प्रभाव पर्दछ भन्ने कुरा सोच्न जरुरी छ ऽ।

सम्बन्ध विच्छेदको बाटो नै उपयुक्त विकल्प देखी यस्तो बाटो रोज्ने प्रवृत्ति र कुचेष्टाले निजहरू स्वमयलाई असर त पर्छ नै, त्यो भन्दा बढी असर भर्खर जन्मेका ती कलिला बालबालिकाहरूमा पर्न जान्छ । भनिन्छ, बालबालिकाको पहिलो पाठशाला भनेको घर हो र पहिलो शिक्षिका भनेको आमा हुन । आमा बुवाको न्यानो माया, स्याहार सुहार, पालनपोषण र शिक्षा दीक्षा पाएमा बालबालिकाहरू सभ्य बन्दछन् र सही बाटोमा केन्द्रित हुन्छन् र त्यसो भयो भने तिनीहरूको उज्ज्वल भविष्यको परिकल्पना गर्न सकिन्छ, तर त्यसो भनाई आमा बुवा बिचको सम्बन्ध विच्छेदको गलपासोमा यदि ती कलिला बालबालिका पनि फसे भने तिनीहरूको भविष्य नै अन्धकार त हुन्छ नै, त्यो सँगै अभिभावकको माया प्रेम, निर्देशन र नियन्त्रणको अभावमा कुलत र कुसंस्कारको बाटोमा लागी समाज र राज्यको लागि कलङ्क बनी बोझ हुन सक्दछन् ।

आखिर समस्या कहाँनेर थियो त ? सम्बन्ध विच्छेदकै बाटो रोज्नुको कारण कारण के होला त ? सोतर्फ गम्भीर रूपमा चिन्तन मनन र विश्लेषण गरी आफ्नो र परिवारको दीर्घकालीन रूपमा भविष्यमा पर्न जाने असर समेतलाई मध्यनजर गरी समस्याको वास्तविक पहिचान गरी समाधानको उपयुक्त बाटो रोजी पुनः दाम्पत्य सम्बन्ध यथावत् रूपमा राख्ने तर्फ अभिप्रेरित हुनु बुध्दिमानीपूर्ण कदम हो ।

मानव भएर जन्मिसकेपछि मानवीय मुल्य, मान्यता र पहिचान सँगै आफ्नो कर्तव्यप्रति समेत सचेत हुन आवश्यक छ । कुनै व्यक्तिले आफ्नो जीवनमा गरेको निर्णय र चालेको कदमले अन्य व्यक्तिहरूको मानव अधिकार उल्लङ्घन भइरहेको त छैन, तिनीहरूको स्वतन्त्रता र भविष्य माथि कुनै खेलबाड त भइरहेको छैन ? यो कुरामा गम्भीर हुन जरुरी छ ।

उम्लिँदो रगत र चढेको बैशसँगै हताश मनस्थितिमा गरिएको अपरिपक्व निर्णय र चालिएको गन्तव्यहीन यात्राले आफूलाई त डुबाउँछ नै तर त्यसको प्रत्यक्ष असर ती कलिला बालबालिकाहरूलाई समेत परिरहेकोतर्फ सचेत हुन आवश्यक छ । हो यस्तै विडम्बना अहिले हाम्रो समाजमा देखा परिरहेको छ ।

अभिभावक न्यानो माया, साथ र उत्प्रेरणाको चरम आवश्यक्ता रहेको अवस्था र उमेरका ती निर्दोष बालबालिकाहरूको जीवन माथिको खेलबाड यो कुनै सामान्य विषय होइन। आमा बुवाले चालेको गलत कदमको प्रत्यक्ष असर अहिले बालबालिकाहरूमाथि परिरहेको छ । आमा बुवा बिचको टकराब र सोही टकराबका कारण सम्बन्ध विच्छेदको बाटो रोज्दा बालबालिकाहरू विचलित र सराहाविहिन बन्न पुगी निजहरूको मनस्थितिमा गहिरो असर पर्न थालेको छ । सम्बन्ध विच्छेद गर्न पाउनु तपाईँहरूको अधिकारको कुरा होला तर अधिकारको प्रयोग गर्दा कर्तव्य पनि पालना गर्नुपर्छ भन्ने न्यायको सिद्धान्तलाई बिर्सनु हुन्न ।

हाल प्रचलनमा रहेको देवानी संहिताले समेत सम्बन्ध विच्छेदको कारण देखा पर्ने विकराल समस्यालाई मध्यनजर गर्दै मुद्दा परेको १ वर्षसम्म फैसला नगरी मेलमिलापको भरपूर्ण प्रयास गरी दाम्पत्य सम्बन्धलाई यथावतप राख्नेतर्फ जोड दिएको देखिन्छ ।

संवेगात्मक आवेगमा गरिएको निर्णय र चालिएको कदम कालान्तरमा गएर गहिरो सोच विचार पश्चात् बदलिन सक्छ । जीवन प्रति सजग र सचेत हुन सक्दछन् । पर्याप्त परामर्श र सल्लाह सुझाव पश्चात् पुनः दाम्पत्य सम्बन्धलाई पुरानै अवस्थामा फर्काउन सकिन्छ भन्ने कानुनको मनसाय रहेको देखिन्छ । तसर्थ अदालतमा मुद्दा परिसके पश्चात् समेत पर्याप्त छलफलबाट आत्म आलोचना र आत्मसमिक्षा गरी मेलमिलापको माध्यमबाट पुनः दाम्पत्य सम्बन्धलाई निरन्तरता दिई सुखमय रूपमा जीवन व्यतित गर्न सकिन्छ ।

तसर्थ सानातिना पारिवारिक विवादलाई लिएर अन्य बाह्य मान्छेको प्रभावमा परी वा उक्साहटमा लागी आफ्नो रही आएको पारिवारिक संरचना र ती कलिला बालबालिकालाई दूरगामी प्रभाव पर्ने खालको अप्रत्याशित निर्णय लिनुभन्दा आफ्नो संवेगात्मक आवेगलाई नियन्त्रणमा राखी एक पटक राम्रो तरिकाले सोच विचार गरी आफ्नो जीवनमा सकारात्मक प्रभाव पर्ने किसिमले निर्णय लिनु नै उपयुक्त र प्रभावकारी हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस