चितवन । पूर्वअर्थमन्त्री डा.रामशरण महतले कृत्रिमरुपमा बजेटको आकार ठूलो पारिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । यहाँ आज पत्रकारसँग कुराकानी गर्दै उनले ऋण लिएर बजेटको आकार बढाइएको बताए ।
एक तिहाइ हिस्सा ऋणका आधारमा रकम जम्मा गर्नेगरी ल्याइएको बजेटले देशमा वित्तीय सङ्कट ल्याउने उनको भनाइ थियो । डा.महतले भने, ‘जिडिपिको करीब १५ प्रतिशत एक वर्षमा ऋण लिन सरकारले प्रस्ताव गरेको छ यसले देशमा वित्तीय सङ्कट ल्याउँछ । महँगी बढाउँछ ।’
आन्तरिक र बाह्य गरी इतिहासकै ठूलो ऋण लिएको उनको भनाइ थियो । वर्तमान सरकारप्रति सर्वसाधारण र वौदिक वर्ग निरास भएसँगै कांग्रेसप्रतिको लहर बढेर गएको उनले दाबी गरे ।
कांग्रेसभित्रको गुट अन्त्यगरी पार्टीलाई सङ्गठित बनाएर लैजानुपर्ने उनको भनाइ थियो । मानव अधिकार, सङ्क्रमणकालीन न्यायलगायतका ल्याउन लागिएका विधेयकका विषयमा अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण भएको उनको भनाइ थियो ।