पोखरा । ‘आँखामा हाले पनि नबिझाउने लालगेडी जस्ता थिए रविन्द्र अधिकारी’ शनिवार पोखरामा आयोजना गरिएको एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मन्त्रिपरिषद्का एक जना सदस्य रहेका स्वर्गीय रविन्द्र अधिकारीका बारेमा यसो भने ।
सभागृहमा रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानको उद्घाटन गरेपछि विशाल सभामा प्रधानमन्त्री ओलीले शनिवार सम्बोधन गर्दै स्वर्गीय अधिकारीको बारेमा त्यति मात्र भनेर रोकिएनन् ‘मैले रविन्द्रलाई २०३९ सालमा चिने देखि जतिपल्ट भेटेँ नमुस्कुराएको चेहरा कहिले देखिनँ । जस्तै समस्या आएपनि हँसिलो मुहार उनको पहिचान थियो’ प्रधानमन्त्रीले भने ।
मञ्चको दाँयाबाँया रविन्द्रका हँसिला तस्बिर टाँगिएका थिए । ओलीको मन्त्रिमण्डलमा पर्यटन संस्कृति तथा नागरिक उड्डयन मन्त्री रहेका अधिकारीको फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेर निधन भएको थियो । रविन्द्र बारे प्रधानमन्त्रीले भावुक हुँदै भने ‘रविन्द्रले जिउँदो हुन्जेल कसैका आँखामा आँसु आउन दिएनन् । मरेपछि कसैका आँखा पनि आँसु बिनाका भएनन् ।’
चिनेको ३५ वर्षपछि आफ्नै मन्त्रिपरिषद्को सदस्य भएपछि रविन्द्रसँग झन् धेरै सामिप्य भएको प्रधानमन्त्री ओलीले स्मरण गरे । ‘जतिसुकै सङ्कट पर्दा पनि प्रसन्न चित्तको मान्छे’ प्रधानमन्त्री ओलीले भने ‘मेरो मन्त्रिपरिषद्मा पोखराले अत्यन्तै सक्षम व्यक्ति दिएको थियो ।’
रविन्द्रले छोटो समयमा लामा पदचाप छोडेर गएको प्रधानमन्त्री ओलीले बताए । “रविन्द्रको यात्रा छोटो भयो तर लामा पदचाप छोडेर जानुभयो‘ प्रधानमन्त्री ओलीले भने ‘वहाँले छोडेका पदचाप हामीले पछ्याउनु पर्दछ ।’
वाइडबडीमा रविन्द्र निर्दोष
प्रधानमन्त्री ओलीले रविन्द्र मन्त्री हुनुभन्दा अगावैको वाइडबडीको विषय झिकेर रविन्द्रलाई बदनाम गर्न खोजिएको बताए । रविन्द्र अधिकारी र वाइडबडीका विषयमा प्रधानमन्त्रीले कार्यक्रममा यसो भने ।
मैले एउटा प्रसङ्गमा बोल्ल्दा भने वाइड बडी काण्डमा रविन्द्र अधिकारी मन्त्री हुनुभन्दा अगाडिका कुराहरूको प्रसङ्ग ल्याएर वहाँको नाम बदनाम गर्न कोसिस भयो र मैले भने वहाँ त्यस मामिलामा निर्दोष हुनुहुन्छ । एक थरी अत्यन्त छुद्र मतिका मान्छेहरूलाई सारै पोलेछ । वहाँ निर्दोष ! वास्तवमा निर्दोष हुनुहुन्छ । मैले त्यही कुरा भने । कुनै सम्बन्धै छैन । केही भुईंफुट्टा तत्त्वहरू, केही भूंइफुट्टा संस्थाहरू प्रधानमन्त्रीले यसरी कुनै अदालतले फैसला नगरिकन निर्दोष छ भन्न पाइन्छ भन्न थाले ।
अदालतले फैसला नगरिकन चाहिँ दोषी छ भन्न पाइन्छ त ? म तिनीहरूलाई भन्न चाहन्छु,आरोप लगाउन पाइने,संलग्न नै नभएका कुरामा निर्दोष छ भन्न नपाइने ? ती भुईंफुट्टा संस्थारुहरुले नेकपाका पदाधिकारीलाई जोगाउन प्रधानमन्त्रीले निर्दोष छ भन्नुभयो भने । को हुन् ती न्यायधीसहरु ? त्यही भूंइफुट्टाहरुले मिलेर तथाकथित संस्था गठन गरे अनि त्यसो भन्न पाइन्छ ? निर्दोष भन्न पाइन्छ भन्ने ?
निर्दोषलाई निर्दोषलाई निर्दोष भन्न किन पाइँदैन ? त्यस कारण रविन्द्र अधिकारी एउटा स्वच्छ आचरण भएको, स्वच्छ छवि भएको कर्मठ क्रियाशील व्यक्ति हो । पहिले नेकपा एमालेको नेता कार्यकर्ता पछि नेकपाको नेता कार्यकर्ता । वहाँ अनुशासित, इमानदार पार्टी कार्यकर्ता हो । पार्टीको नेतृत्वका विरुद्ध,निर्णयका विरुद्ध जथाभाबी बोलेर आफ्नो बहादुरी हुन्छ भन्ने भ्रम नपाल्ने कार्यकर्ता हो ।
अधिकारीको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठान सञ्चालनका लागि सरकारले १ करोड रुपैयाँ उपलब्ध गराउने प्रधानमन्त्री ओलीले घोषणा गरेका छन् ।