दिदी अब त मैले पुरस्कार पाउँछु नि ? « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दिदी अब त मैले पुरस्कार पाउँछु नि ?


सृजना तिवारी

१४ जेष्ठ २०७६, मंगलबार


गोरी बाटुलो अनुहार भएकी करिब ५ फिट उचाइकी महिला ‘नमस्कार म्याम’ भन्दै मेरो कार्यकक्षमा आइन् । मैले नमस्कार फर्काउँदै बस्न आग्रह गरे । उनले आफ्नो परिचय दिँदै भनिन् ‘मेरो नाम विष्ना जोशी, म अ.न.मी को रूपमा कार्यरत छु ।’ ‘ए खुसी लाग्यो तपाइसँग भेटेर, भन्नुहोस् के सेवा गरौँ’ मैले सोधेँ ।

उनले भनिन् ‘निजामती सेवा पुरस्कार पाउन के गर्नु पर्छ ?’

एक क्षण अवाक् भएर एक टक उनलाई हेरेर सोधेँ- ‘तपाईँले त्यस्तो के काम गर्नु भएको छ ?’

उनले भनिन् ‘मैले २०६३ सालमा बझाङमा फैलिएको झाडा पखालाको महामारीमा दिनरात अनवरत रूपमा बिरामीको सेवामा लागि रहे । धेरैको ज्यान बचाए तर आफैलाई जोगाउन सकिन । त्यो महामारीले मलाई पनि छोडेन, म वर्षै थलिएर दुर्लभ रोगको सिकार भएको छु । मेरो शरीरको प्रतिरोधात्मक क्षमता अत्यन्त कमजोर भएको छ । हेर्दा तपाईँले मलाई विश्वास गर्नु हुन्न म बिरामी छु भनेर ।

राम्रै हट्टाकट्टा देख्नु भएको छ तर म जुन सुकै बेला बिरामी हुन सक्छु, भाइरसले आक्रमण गर्न सक्छ, कहिले अनुहार सुन्निएर फुटेर मुखै भरी घाउ हुन्छ ,आँखा हेर्न सक्दिन, खान पनि सक्दिन । कहिले हात/खुट्टा सुन्निएर छाला फुटेर रगत आउँछ, पुरै शरीर भरी घाउ बन्छ, आगोले पोले सरी जलन हुन्छ । निको हुन महिनौँ लाग्छ । नेपालमा यो रोगको उपचार हुन नसकेकोले दिल्लीको एम्स अस्पतालबाट उपचार गराई रहेको छु । हुन त म नेपाल सरकारको सहयोगले बाँचे कि हँ । तर अझै उपचार गरिरहनु पर्छ, जुन अत्यन्त महँगो छ । बुवा आमालाई पाल्नु त कता हो कता उल्टै सम्पत्ति पनि सकी दिइसकेँ ।

जीवनको बारेमा सुन्दर सपना मैले पनि सजाएकी थिएँ तर शायद दैवलाई मन्जुर भएन । मेरो जीवनका सबै उज्यालो पाटो मेटाएर घनघोर, दर्दनाक एवं कहाली लाग्दो अँध्यारो पाटोको कहानी लेखिएको रहेछ ।’ उनले आफ्ना पिडाहरू सुनाउँदै गइन् । म भने एक तमासले उनको अनुहार हेरिरहेँ । उनका गहिरा आँखामा पीडाका लहरहरू छाल बनी उर्लिरहेका थिए । सुन्दर, जवान, राम्री, हँसिली एवं अत्यन्त आत्मविश्वासी बिश्ना एकै क्षणमा कमजोर बन्दै गइरहेकी थिइन् ।

उनको जीवनको यथार्थ थाहा पाएपछि उनीप्रति श्रद्धा, आदर र प्रेम बढ्न थाल्यो । हामी दुई बिचको आत्मीयता झांगिँदै दिदी बहिनीको पवित्र एवं मायालु सम्बन्धमा कहिले परिणत भयो थाहै भएन । एक दिन बिहान करिब ९ बजे उनको फोन आयो । अत्यन्त मसिनो र काँपेको स्वरमा भनिन् ‘दिदी मेरो डेरामा आउन सक्नु हुन्छ ? हिजोदेखि मेरो शरीर भरी घाउ आएको छ, म ओछ्यानबाट उठ्न नसक्ने अवस्थामा छु ।’ उनको स्वरबाटै उनी बिरामी भएको प्रस्ट आभास भइसकेकोले मैले ‘हुन्छ म ५ बजे पछि आउँछु’ भनेँ र उनको डेराको ठेगाना टिपे । कलङ्की मन्दिरको दक्षिणतिरको ओरालो नजिकै रहेको उनको डेरामा पुग्दा उनी असह्य पीडाले छटपटाई रहेकी थिइन्, बोल्न सक्ने अवस्थामा थिइनन् । हामी दुवैले मौनतामा आशुले भरिएका नयनहरूबाट नै एक अर्काको भाव बुझ्ने प्रयत्न गर्‍यौ ।

आफू भन्दा शक्तिशालीसँग कसको जोर चल्न सक्छ र ? विष्ना असहाय अवस्थामा नियतिसँग लड्दै थिइन् । रोग बलवान बनेर उनीमाथि कब्जा जमाउन आक्रमण गर्दै थियो । करिब दुई महिनाको पैठाजोरी पछि उनी ठिक भइन् । यो प्रक्रिया तीन चार महिनामा पुनः दोहरिइरहन्थ्यो । बिरामी हुने र निको हुने प्रक्रिया उनको जीवनको अभिन्न अङ्ग भैसकेको थियो ।

राष्ट्रकोलागि जीवन अर्पेकी विष्ना आफ्नो कामको मूल्याङ्कन भएको हेर्न चाहन्थिन् । आफ्नो त्याग, तपस्यालाई कर्मचारी एवं जनताको सामु ल्याउन प्रयासरत थिइन् । उनको जीवनी कसैको लागि प्रेरणा बनोस् भन्ने उनको कामना थियो तर कसले सुन्ने उनको पीडा ?

नेपालमा निजामती लगायतका अन्य पुरस्कार दिने पद्धति विचित्रका छन् । पुरस्कारकालागि मनोनयनको बेलादेखि पुरस्कार माग्ने कामको दौड सुरु हुन्छ । शक्तिशाली कर्मचारीका झुण्डहरुको प्रतिस्पर्धात्मक दौड लिगलिग कोटको दौड भन्दा पनि ठुलो गरी सम्बन्धित कार्यालयबाट सुरु भएर विभाग, मन्त्रालय, सामान्य प्रशासन हुँदै अन्त्यमा मुख्य सचिवज्यूको अध्यक्षतामा रहेको समितिमा गएर टुंगिन्छ । मागेर आशीर्वाद स्वरूप पुरस्कार पाइने देश नेपाल मात्रै होला जहाँ लुकी लुकी साम, दाम, दण्ड, भेद अपनाएर पुरस्कार माग्ने अनि पाए पछि देखाउन लजाउने गजबको प्रवृत्ति छ । छाती फुलाएर गर्वका साथ पुरस्कार थाप्नु पर्नेमा मुख लुकाएर थापी रहेका छन् । एकाधलाई छोडेर चाकडी, चाप्लुसी, चतुर्‍याई गर्नेले मात्रै पुरस्कार पाएका छन् भन्दा फरक नपर्ला ।

बिचरी विष्ना भने सरकारले कामको कदर गर्छ कि भनेर कहिले स्वास्थ्य मन्त्रालय, कहिले सामान्यमा चक्कर काटिरहन्थिन्, पुरस्कार पाउनु त कता हो कता उनको नामसमेत कहिल्यै सिफारिस भएन । अन्त्यमा कहिल्यै नउदाउने गरी उनी गत वैशाख २५ गते यो मानवताविहिन दुनियाँबाट सधैका लागि अस्ताईन् । निजामती सेवा पुरस्कार पाउने उनको धोको अधुरै रहेर होला, आज राती सपनीमा उज्यालो अनुहार लगाएर मलाई सोधिन् ‘दिदी अब त मैले पुरस्कार पाउँछु नि ?’

Tags :
प्रतिक्रिया दिनुहोस