भारतमा अधिकांश विद्यार्थीसहित १५ जनाको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

भारतमा अधिकांश विद्यार्थीसहित १५ जनाको मृत्यु


प्रशासन संवाददाता

१० जेष्ठ २०७६, शुक्रबार


गुजरात । भारतमा शुक्रबार कम्तीमा १५ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये अधिकांश विद्यार्थी भएको बताइएको छ ।

सुरातको सर्थाना क्षेत्रमा रहेको एउटा अग्लो भवनको दोस्रो तलामा भएको आगलागीमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

‘लक्ष्यशिला कम्प्लेक्स’मा रहेको कोचिङ् सेन्टरमा रहेका विद्यार्थीहरु सो आगलागीमा परेको समाचारमा जनाइएको छ ।

‘आगलागीमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ, मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने देखिएको छ,’ सुरातका प्रहरी प्रमुख सतिश कुमार शर्माले भने ।

घटनाका बारेमा थाहा पाएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्वीटर मार्फत् मृतकप्रति श्रद्धान्जली व्यक्त गरेका छन् । उनले घाइतेहरुको स्वास्थ्य लाभको पनि कामना गरेका छन् ।

मोदीले ट्वीटरमा लेखेका छन्,’सुरातमा भएको अत्यन्त दुखद घटना थाहा पाएर मलाई विक्षिप्त बनाएको छ, मृतकप्रति मेरो हार्दिक श्रद्धान्जली छ । घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’

उनले घटना भएको गुजरात प्रदेशको सरकारलाई पनि प्रभावितहरुलाई आवश्यक सहयोग गर्न निर्देशन दिएको पनि उल्लेख गरेका छन् ।

गृहमन्त्री राजनाथ सिंहले पनि ट्वीट गर्दै आगलागीमा परी मृत्यु भएका र घाइते भएकाहरुप्रति दुःख व्यक्त गरेका छन् । त्यसैगरी गुजरातका मुख्यमन्त्री विजय रुपानीले समेत घटनाप्रति दुःख व्यक्त गर्दै घटनाका बारेमा तत्काल अनुसन्धान गर्न र आगलागीमा परी मृत्यु भएका बालबालिकाका परिवारलाई प्रतिपरिवार चार लाख रुपैँया राहत स्वरुप उपलब्ध गराउने घोषणा पनि गरेका छन् ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस