२५६३ औँ बुद्ध जयन्ती मनाइँदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

२५६३ औँ बुद्ध जयन्ती मनाइँदै


प्रशासन संवाददाता

४ जेष्ठ २०७६, शनिबार


काठमाडौं । आज देशभर २५६३ औँ बुद्ध जयन्ती विविध कार्यक्रमको आयोजना गरी मनाईँदै छ ।

नेपालको लुम्बिनीमा इसा पूर्व ५६३ अर्थात् आजभन्दा २५६३ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो।

गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्त्वपूर्ण दिनका रूपमा लिने गर्दछन् ।

शाक्यवंशीय राजा शुद्धोधन र रानी मायादेवीका पुत्रका रूपमा वैशाख शुक्ल पूर्णिमाका दिन जन्मिएका राजकुमार सिद्धार्थ गौतमले भारतको बोधगयामा लामो तपस्यापछि बुद्धत्व प्राप्त गरेपछि गौतम बुद्धको नामले विश्वभर प्रख्यात भएका थिए ।

हिन्दूदर्शनले बुद्धलाई विष्णु भगवानको नवौँ अवतारका रूपमा मान्दै आएको छ । यसै कारण वैशाख शुक्ल पूर्णिमामा हिन्दु र बौद्ध दुवै धर्मावलम्बीले बुद्धलाई पूजा गरी बुद्ध जयन्ती मनाउँछन् ।

लुम्बिनीलगायत काठमाडौंको स्वयम्भूनाथ, बौद्धनाथ स्तुपा तथा मुलुकका विभिन्न गुम्बा तथा विहारमा बुद्ध धर्मावलम्बीको घुइँचो लागेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस