कृषकले स्वयं जीवन बदलिएको अनुभव गर्ने खालको कार्यक्रम ल्याउँछौँ : मन्त्री खनाल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कृषकले स्वयं जीवन बदलिएको अनुभव गर्ने खालको कार्यक्रम ल्याउँछौँ : मन्त्री खनाल


प्रशासन संवाददाता

३० बैशाख २०७६, सोमबार


कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले अहिलेसम्म चल्दै आएको निर्वाह र परम्परागत तथा जीवन धान्ने अवस्थाको कृषि व्यवसायबाट माथि उठ्न किसान आफैँले जीवनमा बदलिएको महसुस हुने खालको कार्यक्रम ल्याउन लागेको बताएका छन् ।

नेपाल टेलिभिजनबाट प्रसारण हुन लागेको ‘कृषकसँग कृषिमन्त्री’ कार्यक्रमको पहिलो शृङ्खलाको काभ्रेपलाञ्चोकस्थित बनेपा नगरपालिका–४ नालामा आज भएको छायाङ्कन कार्यक्रममा मन्त्री खनालले किसानले आफ्नै जीवनमा बदलिएको महसुस गर्ने गरी कार्यक्रम ल्याउने बताए ।

जिल्लाका विभिन्न क्षेत्रबाट उपस्थित किसानको प्रश्न र जिज्ञासाको जवाफ दिँदै मन्त्री खनालले उत्पादन गरेको वस्तुलाई बजार लाने, बिक्री गर्ने र बाहिर अन्यत्र लाने विधि थाहा नभएकै कारण विचौलियाको मारमा पर्नुपर्ने बाध्यता रहेको उल्लेख गर्दै त्यसको अन्त्य गर्ने काम अब सरकारले गर्ने बताए ।

सो क्रममा उनले किसानले उत्पादन गरेको वस्तु सरकारले लिने र ढुवानीका लागि साधनको व्यवस्थापनका साथै बजार व्यवस्थापन गर्ने विधिका बारेमा समेत नीति तय गर्न सरकारले छलफल चलाइरहेको बताए । कृषकहरुले व्यावसायिक र व्यवस्थित ढङ्गले काम नगरीकन किसान माथि उठ्न नसक्ने बताउँदै उनले त्यसतर्फ सरकारले योजना बनाइरहेको बताएयो ।

सो अवसरमा उनले किसानलाई सहुलियत ऋणको उचित व्यवस्थापन गर्नका लागि किसानको वर्गीकरण गरी परिचयपत्र वितरण गरेर त्यसका आधारमा ऋण प्रवाह गर्ने व्यवस्था गरिने उल्लेख गरे। उनले लिएको ऋणमा सरकारले पाँच प्रतिशत थप्ने र किसानले तीन प्रतिशत मात्र व्यहोर्ने गरी ऋण उपलब्ध गराउने खालको व्यवस्था गर्न परिचयपत्रसहित परियोजना धितो राखेर ऋण प्रवाह गर्ने खालको व्यवस्था ल्याउन लागिपरेको बताए ।

उनले सरकारले अहिले कृषिमा युवा कार्यक्रम ल्याउन लागेको बताउँदै अपाङ्ग भएर कृषिमा लागेकाहरु, महिला र सीप सिकेर कृषिमा आएका युवा तथा अन्यलाई समेट्ने गरी नयाँ कार्यक्रम ल्याउन लागिएको बताए ।

किसान योगराज दाहालले व्यावसायिक बाख्रापालनका लागि उन्नत जातको बोका/पाठीहरु पाउन समस्या रहेको बताउँदै त्यसका लागि सरकारले आवश्यक व्यवस्था गर्नुपर्ने बताए। मण्डनदेउपुर नगरपालिका–७ स्थित नौबिसे कृषि सहकारी संस्थाका सदस्य गोविन्दप्रसाद नेपालले उत्पादन गरेको तरकारी बिक्री नभएर बेच्न नसकेको अवस्थामा सरकारले बजार व्यवस्थापन गर्नाका साथै किनी दिनुपर्ने बताए ।

अर्का किसान पाँचखाल नगरपालिका–२ काभ्रेपलाञ्चोकका रामप्रसाद कोइरालाले विचौलियाको अन्त्य गर्ने काममा सरकारले छिट्टै कदम चाल्नुपर्ने बताए । खेती गर्ने बेलामा मलखाद र बीउबिजनको उपलब्धता एवं भण्डारणका लागि आवश्यक व्यवस्था गर्नुपर्ने र सबैखाले बाली बीमाको व्यवस्था गर्न उनको आग्रह थियो ।

सो कार्यक्रम सातैवटा प्रदेशभित्र रहेका कृषि क्षेत्रका अवसर र चुनौती, किसानको समस्याको समाधान, सरकारका कार्यक्रमलाई स्थानीय तहसम्म पु¥याउने तथा संघीय र प्रदेश सरकारले बनाउने कृषि क्षेत्रको नीति योजना कार्यक्रमलाई कृषिमैत्री बनाउन सहयोग गर्ने उद्देश्यले गर्न लागिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस