प्रदेश २ : नेकपा र कांग्रेसको अवरोधले प्रदेशसभा बैठक स्थगित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रदेश २ : नेकपा र कांग्रेसको अवरोधले प्रदेशसभा बैठक स्थगित


प्रशासन संवाददाता

२० बैशाख २०७६, शुक्रबार


जनकपुरधाम । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसको विरोधका कारण प्रदेश २ को प्रदेशसभाको बैठक स्थगित भएको छ । शुक्रबार बोलाएको बैठकमा नेकपा र कांग्रेसले अवरोध गरेका हुन् ।

उपसभामुख उपमा देवले शुक्रबार प्रदेशसभा बैठकको सुरु गरेपछि नेपाली कांग्रेसका सचेतक उपेन्द्र कुशवाहाले जनता आवास कार्यक्रमको कार्यविधिबारे सरकारको जवाफ नआएसम्म बैठक चल्न नदिने उद्घोष गरे । कुशवाहले जनता अवास कार्यक्रमको कार्यविधि संशोधन गरी भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले सदनमा जवाफ नदिएसम्म बैठक चल्न नदिने बताए ।

बैठकमा नेकपाकी सांसद ज्वाला साहले समेत जनता अवास कार्यविधि सुधार नभएसम्म बैठक चल्न नदिने बताएपछि काँग्रेस र नेकपा साँसदहरुले उठेर बैठक अवरुद्ध गरेका थिए ।

मुख्यमन्त्री लालबाबु राउत स्वयं प्रदेशसभा पुगेपनि बैठकमा सहभागी नै नभई फर्किएका छन् । कार्य व्यवस्था परामर्श समितिकै बैठकमा प्रतिपक्षीले अवरुद्व गर्ने जनाएपछि मुख्यमन्त्री बैठकमा सहभागी नभइकनै फर्किएका थिए ।

प्रमुख प्रतिपक्षी एकमत भएर बैठक अवरुद्व गरेपछि अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको छ । यसअघि वैशाख ११ गते, १६ गते बैठक आह्वान गरिए पनि बस्न सकेको थिएन ।

Tags :
प्रतिक्रिया दिनुहोस