दोहोरो अङ्कको आर्थिक वृद्धिको आधार तयार : राष्ट्रपति भण्डारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

दोहोरो अङ्कको आर्थिक वृद्धिको आधार तयार : राष्ट्रपति भण्डारी


प्रशासन संवाददाता

२० बैशाख २०७६, शुक्रबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारले चालू आर्थिक वर्षमा विकास सम्भव छ र हाम्रै पालामा सम्भव छ भन्ने विश्वास पैदा जनाउँदै दोहोरो अङ्कको आर्थिक वृद्धिको आधार तयार भएको बताएकी छन् ।

हरेक दिन एक कदम अगाडि बढ्ने शैलीका कारण समृद्धिको आधार तयार गर्न सरकार सफल भएको उनले उल्लेख गरिन्। संघीय संसद्को आजको बैठकमा सरकारको आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले एकीकृत राष्ट्रिय तथ्याङ्कको ढाँचा तयार भएको तथा लगानी सम्मेलन र मित्र राष्ट्र चीन एवं अन्य मुलुकको उच्चस्तरीय भ्रमणबाट अन्तरराष्ट्रिय सम्बन्धको विकास र लगानीमैत्री वातावरण सिर्जना भएको बताइन् ।

वर्तमान सरकार गठनपछि राष्ट्रिय अखण्डता र एकता सुदृढ भएको, पुनःनिर्माण उल्लेखनीय भएको, एक हजार किमी सडक कालोपत्र भएको, थप ३०० पुलको निर्माण सम्पन्न भएको र डिजिटल नेपालको कार्यढाँचा तयार भएको तथा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको कार्यक्रममा उल्लेख छ ।

जनता आवास सुविधा उपलब्ध गराइएको, विद्यालय बाहिर रहेकामध्ये ८१ प्रतिशत विद्यार्थीलाई भर्ना गरिएको, प्राविधिक विद्यालय स्थापना शुरु भएको, १६ लाख नेपालीको स्वास्थ्य बीमा गरिसकिएको र भारत र नेपाल जोड्ने रेलमार्ग निर्माणको प्राविधिक कार्य सम्पन्न भएको कार्यक्रममा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस