जेष्ठ ९ गते, २०७६

कलियुग

रुघाखोकीले सताइएको थियो । धेरै जसोलाई मौसम परिवर्तन सँगै रुघा खोकी लाग्ने गर्छ तर मलाई अलि बढी सताउँछ । रुघाखोकीको बारेमा कहिले काहीँ साथीहरू भन्थे औषधी खाए सात दिनमा निको हुन्छ नखाएमा एक हप्तामा ठिक हुन्छ । त्यस्तै सोच्दै थिए । कार्यालय जान असहजताको महसुस भएको थियो । सोचेँ, आखिर बसेर पनि के गर्नु । एक मनले भन्यो ‘नबस, जा गई हाल ।’ अर्को मनले भन्यो, ‘यस्तै बेलाको लागि त हो नि तँलाई राज्यले बिरामी बिदा दिएको । नजा कोठामा मै आराम गर ।’ बिदा सञ्चित गरे पैसा पाउने व्यवस्थाले होला सायद यो देशमा कर्मचारी नै बिरामी हुँदैनन् । ‘सञ्चित बिरामी बिदाको पैसा नपाउने भएको भए के हुन्थ्यो होला ?’ सोच्दा सोच्दै जवाफ आइहाल्यो यो देशका कर्मचारी वर्षमा बाह्रै दिन बिरामी पर्थे होला । बिरामी बिदाको भरपुर सदुपयोग हुन्थ्यो होला ।

जसोतसो कार्यालय गएँ । कार्यालय सुनसान यि यो । प्रायः कार्यालयहरू हाकिम र लेखा नभए सुनसान नै हुन्छन् । सबैलाई पैसा चाहिएको छ । चेक काट्नेहरू नभए पछि सेवाग्राही आउँदैनन् । चेक काट्नेहरू नआएपछि हामी जस्ता दिन काट्ने कर्मचारीलाई मस्ती हुन्छ । गफ लायो, घाम ताप्यो । लक्ष्मीलाई फोन डाइल गरे । फोनको कल रिङ टोन सँगै उनी मेरो कार्यकक्षमा ‘हजुर सर !’ भन्दै आइन् । मैले भने, ‘लक्ष्मी मलाई तातो पानी खुवाउन सक्छ्यौ ?’ ‘हुन्छ सर । सरलाई रुघा लागेको छ कि के हो ?’ ‘हो नि बेला न कुबेला रुघा लागेर हैरानै पार्‍यो नि !’ मेरो जवाफ पछि उनी तातो पानीको जोह गर्न हिँडिन् ।

‘सर हिजो गइहाल्नु भएछ । सरको एउटा चिठी आएको थियो । म लिएर आउँछु । पर्खनुहोस् है !’ लक्ष्मी हाम्रो कार्यालयको कार्यालय सहयोगी हुन् । उनी हतारमा चिठी ल्याउन दौडिन् । कसले के चिठी पठाए होला भन्दै मनका कुरा खेलाउँदै एकहोरो पर्खेर बसिरहेँ ।

‘यी सर पानी । यो चिठी पनि लिनुहोस् । लक्ष्मीले सम्मानपूर्वक गिलासमा पानी अनि अर्को हातले चिठी टक्रयाइन् ।

खामको बाहिरी ब्यहोरा अनुसार चिठी आमाले पठाउनु भएको रहेछ । प्रायः हिउँदमा चल्थे गाउँमा पौढ कक्षाहरू । मेरो आमा प्रौढ पढ्नु भएको हो । टीका दिदीले प्रौढ पढाउनु भएको थियो मेरो आमालाई । चिठी सिसाकलमले लेखिएको थियो । चिठीको व्यहोरा पढ्न थालेँ । औपचारिक शिक्षा कम भएका व्यक्तिहरूको कथ्य र लेख्य एउटै हुन्छ । त्यसरी केही शब्द आफ्नै केही लेख्य नेपाली शब्द सहितको थियो चिठी ।

प्यारो छोरा आशीर्वाद !
हामी यहाँ दुबै जना सन्चै छौँ । हिजो तँलाई सपनामा देखेको थिएँ । धेरै दिन भयो तेरो याद धेरै आइरहेको छ । कहिले देखौँ कहिले भेटौँ जस्तै गरी मन अतालिएको छ । सम्झन मन लागे त हिजो आज मोबाइलमा म्यासेज पनि गर्न मिल्छ रे ! तेरा बा खोइ के म्यासेन्जरमा लेख्न मिल्छ भन्नुहुन्छ । तर मलाई भने त्यो आउँदैन । खोइ के भएको छ तेरा बालाई आजभोलि ! मोबाइलमा हातका औँला कहिले तल कहिले माथि गराउनु हुन्छ । कहिले एक्लै मोबाइल हेरेर हाँस्नु हुन्छ । आज भोलि म सँग कुरा पनि गर्नु हुन्न । खाली मोबाइल कोट्याएको कोट्याइ गर्नुहुन्छ । स्कुलबाट आयो त्यही मोबाइल मात्र हेर्ने काम हुन्छ । केही कुरा गर्न खोज्यो कि मलाई डिस्टर्ब नगर भन्नुहुन्छ । म्यासेज गर्न मलाई आउँदैन । फोन गर्न रिचार्ज सकिएको छ । पहिले गाउँमा भएको भीम बहादुरको पिसिओ धेरै राम्रो थियो । यो भन्दा त उनैले फुन लगाइ दिन्थ्ये । कुरा भए पछि मात्र पैसा लिन्थे । यो मोबिलले त फोन गर्नुभन्दा पहिले नै पैसा खोज्छ । यो मलाई राम्रो लाग्या छैन हेर बाबु ।

अस्ति तेरो दाइले फोन गरेको थियो । छोराको जन्मदर्ताको नाम फेर्नु पर्‍यो रे ! तेह्र वर्षको भइसक्यो जेठाउ छोरो । मैले माझाघर हेमराज जैसी बाजेसँग त्यस बेला नाम हेर्न लगाउँदा जनक प्रसाद नाम राख्दिनु भएको हो । कस्तो नराम्रो छ यो नाउँ । तर ऊलाई र ऊ भर्ना हुन लागेको विद्यालयलाई त्यो नाम नराम्रो लगेन रे ! यो नेपाली नाम जस्तो भयो रे ! त्यसैले अङ्ग्रेजी नाम राख्नु पर्‍यो रे । उसले पर्ने स्कुलमा नेपाली बोल्न नमिल्ने रहेछ । त्यसैले ‘ज्याकोब’ नाम राख्नु पर्‍यो रे ! म त राम्रोसँग भन्न पनि जान्दिन । क्या हो यो ज्याकोब स्याकोब । कति राम्रो नाउँ छँदै थियो । किन बलै नाउँ फेर्नु पर्‍याउँ होला हेर न बाबु ।

नातिको नाउँ फेर्न हिजो वडा कार्यालय गएकी थिएँ । पोर साल चुनाउको बेला अब काम घर आँगन बाट हुन्छ । सिंहदरबार गाउँ–गाउँ आउँछ भनेपछि तल्लो घरको जेठाजुलाई भोट हालेर वडा अध्यक्ष जिताएको हो । हिजो वडा कार्यालय जाँदा अलि नचिनेको जस्तै गरे । भोट हाल्दा अरूलाई हाल्नु भएछ भन्ने जस्तो को भावमा पो कुरा गरे !

उनी पनि साह्रै तनावमा थिए । खोइ के सवारी साधन चढ्न पाएन भन्दै थिए । मैले धेरै कुरा बुझिन । पोहोर भोट माग्न आउँदा त हिँड्दै आएका थिए । त्यो बेला कुनै सवारी साधन चढेको देखिन । कस्तो कुरा हो अलि बुझिन मैल त ? भोलि आउनु होला आज हुँदैन । भोलि उतै गाउँपालिका आउनु होला भनेर पठाए । फेरि आज गए दिनभरि कुरे । कर्मचारी पनि धेरै थिएनन् । भएका पनि उदास थिए । हाँसेको त कोही देखिएन । एक जना कर्मचारीले भने, ‘समायोजनको टेन्सन छ यार । सङ्घ पर्न सकिएन अब त जागिर पनि खाने कि नखाने जस्तो भइरहेकै छ । मुड नचलेको बेला मान्छे आएर झन् तनाव पो बनाउँछन् । कसले गर्छ यस्तोमा काम । ठर र ठेगान नभएको बेला ।’

तिमीले त लोक सेवा तयारी गर्दा त सरकारी जागिर जस्तो अरू हुँदैन आमा । राज्यको काम गर्न पाउनु अहोभाग्य हो भन्थ्यौ त ? मैले कुरै बुझ्न सकिन ? एक जनालाई मैले सोधेँ । ‘जन्म दर्ता गर्ने कोठा कता हो बाबु ?’ उनले भने ‘खोइ म भर्खर आएको कर्मचारी हुँ ।’ मलाई थाह भएन मैले सोधे, ‘तपाईँको काम के हो त बाबु ?’ उनले भने, ‘आमा, म अहिले सरकारले नियुक्त गरेको रोजगार संयोजक हँ । आएको एक हप्ता भयो बस्ने ठाउँ अनि काम पनि केही पाएको छैन ।’

मनमनै सोचेँ । आफैँ त काम नपाए बेरोजगार छ यसले के अरूलाई रोजगार देला र ? कार्यालयमा काम गर्न कर्मचारी आएको कर्मचारी एक हप्ता भयो । अहिलेसम्म बस्ने ठाउँ र काम नपाए पछि के देशको विकास होला र ? ‘जन्म दर्ता काम त वडा कार्यालयबाट हुने होला । तैपनि उ त्यहाँ नागरिक वडा पत्र छ । त्यहीँ गएर हेर्नुहोस् । त्यहाँ सबै कुरा लेखिएको हुन्छ ।’ उनले भने ।

म त्यतै गए ठुलो बोर्ड राखिएको रहेछ यसो हेरेँ । पहिले माझ घरे टीका नानीले प्रौढ पढाउँदा सिकाएको काम लाग्यो जस्तो लागेर । तर त्यसमा लेखिएको अनुसार न कोठा थिए न काम गर्ने कर्मचारी ? यसो सोचेँ मैले पो अलि–अलि अक्षर चिनेको छु । यही काम गर्न नेटा घर दिदी आइन्न भने के गर्लिन् ? उनका दुई छोराहरू पनि विदेश छन् । उनले पढेलेखेकी छैनन् । घरी निवेदन लेख्नु होस भन्छन् घरी नागरिक बडापत्र । कहिले उजुरी पेटीका कहिले सूचना अधिकारी कहिले गुनासो सुन्ने अधिकारी । मैले यो सब केही बुझिन छोरा । यही भएर सरकारी काम कहिले जाला घाम भनेको जस्तो लाग्यो बाबू ।

तेरा बाले त्यो तैँले साथीसँग मनका कुरा सुन्ने इन्डियन फिलिप्स रेडियोको सेल ल्याउनु हुन्न । मलाई लक्ष्मी न्यौपानेको लोग गीत खुब मन पर्छ । अस्ति रेडियोमा हाल्ने सेल किन्न दोकान गएको । साहुजीको छोरोले हाँस्दै भन्यो, ‘आजभोलि कसले सुन्छ रेडियो सबै मोबाइलमा आउँछ । एउटा मोबाइल किन्नु होस् बई ।’ पोहर साल बजार जाँदा सेल किनेर हालेको थिएँ । हाम्रो जिल्लाका सबैले पढिसकाले साक्षर जिल्ला घोषणा गरे भन्दै थियो समाचारमा । तर नेटा घर माइली दिदीलाई कसैले पनि नाउँ लेख्न सिकाएको छैन । क्या क्या गर्छन् । म त कुरै बुझ्दिन ।

तिमीहरूले काम गर्नेमा कार्यालयमा पनि हाम्रो यहाँको त्यस्तै त होला । पहिले निवेदन लेख भन्छौँ होला । कसरी लेख्ने पढ्दै नपढेकोले निवेदन ? कसरी पढ्ने त्यो तीन दिनसम्म पढेर नसकिने नागरिक वडापत्र । चिटिक्क मिलाएको कोठामा कसरी जाने । हाकिमको कोठामा र गुनासो सुनाउनु । म त साह्रै उदास भएँ । सरकारी कार्यालय देखि ।

म सानो छँदा तेरा बाजे मेरा बा भन्नुहुन्थ्यो, ‘अब कलियुग आउँदै छ छोरी । सत्य युगमा रसयुक्त नाटक हुन्छ । कोही रुँदा निस्केको आशु आँसु नै हुन्छ । तर कलियुगमा म जीवित छु भन्ने देखाउन दुई चार जनाको हत्या गर्न पर्ने हुन्छ । मृत्युलाई जन्म र जन्मलाई मृत्यु भन्नु पर्छ । गरिने काम भनिँदैन । भनेको काम गरिँदैन । मान्छेहरू सकभर अरूलाई भ्रम पार्छन् आफू पनि भ्रममा नै हुन्छन् । आफूलाई जे लागेको छ त्यही नै सत्य हो भन्छन् । झुण्डमा रमाउन चाहन्छन् । कपडा लगाएको लाई नाङ्गो देख्छन् । तर नाङ्गोलाई कपडामा देख्छन् । अरू सबैलाई होचा र आफूलाई मात्र अग्लो देख्छन् । कलाविहिन नाटक मञ्चन गरिरहन्छन् ।’ चिठी पढ्दै गएँ । लेखिएको थियो, ‘कतै त्यस्तै त हुँदै छैन छोरा ? अन्त्यमा जसले जे सुकै गरोस् छोरा । तिमी कसैलाई भ्रममा नपार्नु र आफू पनि नपर्नु ।’ यो सबै कुराका बारेमा मलाई चिठी पठाउनु ।

पत्र पढ्न गाह्रो भएन मलाई । किनभने मेरो आमाले धर्को केर्दा आउने अर्थ मलाई थाहा छ । जीवनका धेरै नलेखिने अक्षरहरू सिकाउनु भयो मलाई । पत्र पढिसके पछि बल्ल म झल्याँस्स भएँ ।

मेरै कारण कतै मेरो आमा जस्तै हजारौँ निरक्षर आमाहरू यसरी प्रताडित त छैनन् ? कार्यालय परिसर यसो हेरेँ । मेरो आमाले चिठीमा लेखेको भन्दा केही कुरामा कमी थिएन । नागरिक बडापत्र हेरेँ । करिब बिस वर्ग मिटरमा फैलिएको थियो । त्यहाँ लेखिएको कुरा न लेख्नेलाई थाह थियो न लेखाउनेलाई नै ।

मेरो कार्यालयको मुलगेट अगाडि नागरिक वडापत्र नामरुपी ठुलो बोर्ड राखिएको थियो । मैले पनि यो भन्दा पहिले नागरिकका लागि बनाइएको नागरिक बडापत्र हेरेको रहेनछु । महालेखा परीक्षकले पक्कै पनि यसको बिल रुजु गरेकै होला जस्तो लाग्यो । यहाँ प्रयोग भए नभएको भन्दा पनि प्रक्रिया पुगे नपुगेको आधारमा रुजु बेरुजु हेरिन्छ । उजुरी पेटीका हेरेँ । पुरानो खिया लागेको ताला थियो । कसैको उजुरी छ कि भनेर उनै लक्ष्मीलाई उजुरी पेटीकाको साँचो खोज्न लगाए । केही समय कुनै पनि साँचो मिलेन । बल्लतल्ल जोड बल गर्दा ताला खुल्यो । साँचो त्यही तालाको हो हैन थाह भएन । खुल्न बित्तिकै एउटा प्लास्टिकको सानो झोला खस्यो । लक्ष्मीले एउटा काठले वल्टाइ पल्टाई बनाउँदै हेरिन् । मुख बिगारे गाली गर्न थालिन् । ‘को नाँस हुनेले यहाँ फालेछ ?’ के हो लक्ष्मी ? मैले सोधेँ । उनले जवाफ दिन चाहिनन् । हाँस्दै त्यही काठमा झुण्ड्यार पर्खाल कटाइ दिइन् । मैले अनुमान गरे त्यो पक्कै कोही कलियुग जोडीको प्रेमको निशानी हुन पर्छ ।

सोचेँ जनताका लागि राखिएका यी सामाग्री आफै कहिले जनता र त्यसका सरोकारवालालाई देखेर अट्टहासले हाँस्छन् होला । मान्छेहरूका गतिविधि देखेर अचम्म मान्छन् होला । कहिले त मज्जा पनि मान्छन् होला । विना टिकट हेर्न मिल्ने मान्छेले गर्ने नाटक देखेर ।

आमाले पत्रमा उठाएका सवालको जवाफ दिनुपर्छ जस्तो लागेर गुगलमा सर्च गरे । हिस्टोरी अफ सिटिजन चार्ट । गुगलले जवाफ दियो यो बेलायतबाट सुरु भएको हो । खोज्नतिर लागिनँ म । कर्मकाण्डीय कुरा आयातित हुन् । यिनी हात्तीका देखाउने दाँत हुन् । असली दाँत त अर्कै छन् । यस्तै सोच्दै आमालाई पत्र लेख्न थाले ।

आमा साष्टाङ्ग दण्डवत ।
हजुरको चिठी हिजो पाएँ । अहिलेको जमाना फेरिएको छ आमा । अब यस्ता चिठी सिठी लेख्ने धेरैलाई फुर्सद हुँदैन । तर हजुरको चिठी पढ्न पाउँदा साह्रै खुसी लाग्यो । अब त म्यासेनजर स्काइप, बाइभर, इ मो, ह्यास्टयाप तथा टुइटर मार्फत कुरा गर्न पर्छ । हजुरले पनि त्यो सिक्न पर्‍यो आमा । नत्र त बेइज्जत हुन्छ आमा । तपाईँ अस्ति मेरो जस्तै कार्यालयमा जानु भएको कुरा थाहा पाएँ । त्यस्तै हो मेरो कार्यालय पनि । सिंहदरवार गाउँ–गाउँमा आउने हैन आमा । गाउँमा भएका सिंहदरवार जाने हो । कोही नेता भएर । कोही कर्मचारी भएर । अलिअलि स्वाद उनैले लिन्छन् । जनता कल्पना गर्दै स्वादमा रमाउने हो । तपाईँले यो नागरिक बडापत्र के हो भन्नु भएको रहेछ । यो हाम्रो हैन विदेशीको लागि हो ।

चिठी अगाडि लेख्दै गएँ । हाम्रोमा अहिले पनि एक सयमा तीस जना मान्छे लेख्न पढ्न जान्दैनन् । यो वडापत्र विदेशी सेता मान्छेका लागि हो । उनैले हामीलाई दिएको । फेरि यो राखेन भने त उताबाट पैसा पनि आउँदैन रे । त्यसैले अब त्यता जाँदा ती कुरामा ध्यान नदिनु होला । तिनी हाम्रा लागि हैनन् । पोहर साल हाम्रो कार्यालयमा उतैबाट आएको तलब भत्ता खानेसँग हाम्रो हाकिम भन्दा नि ठुला हाकिम आएका थिए । दुई जनाले कानेखुसी गरे । यता उता हेरे नागरिक बडापत्र, उजुरी पेटीका, सूचना अधिकारी किन नराखेको भनेर झन्डै जागिर नै खाने गरी थर्काए । गाह्रो छ आमा अर्काको नुन खान । यहाँ गर्नको लागि भन्दा पनि देखाउने कुरा महत्त्वपूर्ण हुन्छ । यो बाजेले भनेकै जस्तै कलियुग हो । आमा यहाँ कलाविहिन नाटक धेरै हुन्छन् । अन्धभक्तहरू दर्शक भएर हेरिरहन्छन् । चिठीको अन्त्यमा लेखेँ, ‘मेरो चिन्ता धेरै नलिनु आमा । म पनि कलियुगमा अभ्यस्त हुँदै छु । उही तपाईँको कलि युगको छोरा !’

चैत्र ३० गते, २०७५ - ०९ः३७ प्रकाशित

प्रतिकृया लेख्नुहोस्:

gsdfs dfg