प्रशासनिक तरलतामा सामान्यको चचहुँई « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रशासनिक तरलतामा सामान्यको चचहुँई


किशोर अर्याल

३० चैत्र २०७५, शनिबार


सामान्य

विकास, प्रशासन र सुशासनको कुरा दरबारमा त के नै चल्छ र जतिको संवेदनशीलताका साथ भट्टी भट्टीहरूमा गज्जबले चलिरहेको हुन्छ । पंकेसमेत सामेल भएको साँझको साथीभाइहरूसँगको एउटा भेटघाटमा गफगाफ पालैपालो यसरी चलिरहेको रहेछ ।

एक जनाले ह्विस्कीको चुस्की हान्दै भन्दै थिए: नेपालको ईतिहासमा निजामती प्रशासन अहिले जस्तो निस्प्रभावी पहिले कहिल्यै भएको थिएन होला । विगतका प्राय: राजनीतिक संक्रमणमा निजामती प्रशासनले राष्ट्रियताका लागि मियोको भूमिका खेलेको थियो तर आज राजनीतिक परिवर्तनको चरम आकाङ्क्षा पुरा गर्न प्रशासन नै बाधक साबित हुनसक्ने ठुलो शङ्का छ । निजामतीको गौरवमय ईतिहासको पृष्ठभूमिमा उभिएर बदलिएको राजनीतिक व्यवस्थामा नयाँ प्रयोगको अभिलाषासहित आएका जनप्रतिनिधिहरूलाई प्रशासनिक सचेतिकरण र सबलिकरण गर्दै भद्र गतिमा योजनाबद्ध विकासमा सघाउनु पर्ने जिम्मेवारी दिँदा समुचित पुनर्व्यवस्थापन गर्नुपर्नेमा निजामतीलाई भेडाहरूको हुल जस्तै ठानेर अनि ठान्न लगाएर निजामतीको साखलाई गिराएर (त्यसमा पनि प्राविधिक कर्मचारीहरूलाई त मान्छे नगनेर) स्थानीय र प्रादेशिक नेतृत्ववर्गका समीपमा निजामतीको प्रतिष्ठालाई उत्तानो पारेर घाममा सुकाइएको छ ।

दोस्रोलाई व्यभिचारी संस्कार प्रति वितृष्णा जागेको रहेछ क्यारे, साह्रो बाङ्गीएर कुरा सुरु गर्‍यो: देशमा व्यभिचार अति व्याप्त भयो यार ! सिंहदरवारदेखि स्यालदरबारसम्म, उच्चकोटीका नेता देखी न्युनकोटीका जनतासम्मै पनि विभिन्न रङ्ग र रूपमा व्यभिचार छर्लङ्ग छ । यदि सदाचार कायम गर्नु थियो त जग जाहेर व्यभिचार गर्ने एक-दुई जनालाई समयमै कारबाही गर्नुपर्थ्यो । व्यभिचारिहरुलाई उखेल्न अल्छी मानेर काखीको रौँ जस्तै च्यापेपछी खै के भन्ने । त्यसमा पनि तलका ईकाईहरुमा खडा भएका नयाँ संरचनामा आसीन कतिपय प्रतिनिधिहरूले अमुक कार्यकर्ताहरूको व्यक्तिगत एवं पारिवारिक आवश्यकतालाई सङ्घीयताको संस्थागत आवश्यकता जस्तै मानेर त्यसैअनुसार ढालेर कार्यक्रम र क्रियाकलाप तयार गरेका छन् अरे भन्ने सुनिन्छ । विकास र प्रशासनको सिद्धान्त के हो ? योजना के हो ? सामाजिक आवश्यकता के हो ? कार्यक्रम के हो ? धेरैजसो अबोधजस्ता जनप्रतिनिधिहरूले न बुझेको जस्तो देखिन्छ न त बुझ्नै खोजेको झल्को पाइन्छ । अनि प्रशासन पनि ज्याद्रो सामान्य न पर्‍यो । उसलाई आफ्नै साम्राज्य बिस्तार गर्न पाए र निजामतीभित्रको प्राविधिक र विकासे कर्मचारीहरूलाई कुच्याएर आँफु ठूल्दाई कहलाउन पाए पुग्यो । समुद्रको छाल गन्दै पर्ख र हेरेको संस्कारमा हुर्केकालाई विकासको सवाल बाल !

तेस्रोले अर्कै शिराबाट बोल्दै थियो: नेपालमा जन्मिएका धेरैजसो कर्मचारीका छोराछोरी पनि साह्रो अभागी । आफ्ना बाबु आमाको इमानको कमाइले हुर्किने सौभाग्य तिनलाई कहिल्यै मिलेन । ती अबोध बालबच्चाहरूलाई के थाहा, तिनलाई पाल्नका लागि तिनका बाबुआमाहरूले नेताहरूको दहलिजमा नाक रगडेर खुरापातको भिख माग्दै व्यभिचारले कमाएको कुभिन्डो पकाएर श्रीमतीलाई सुँघाउदै छोराछोरीलाई चटाएर बडो सामाजिक प्रतिष्ठाको फुर्ती फड्फडाएका छन् । तलबले डाईपर फेर्न पुग्दैन तर कमाई सोध्नुस् त हिसाब नै मिल्दैन । अप्सनल म्याथमा टपर हो भन्दैमा हुन्छ र ? कति अभागी सन्तान ! बिचरा बाबुआमाको इमानको पसिनाले कमाएको खान नपाएर ईमान्दारीताको कुपोषण र व्यभिचारको भद्दा हर्लिक्सले दिन-दिन हुर्कदैं छन् । अनि त्यसैगरि समाज पनि फलिरहेको छ ।

चौथोलाई चाहिँ अर्कै चोट रैछ क्यार खै, भन्दै थियो: निजामतीका प्रतिनिधि कहलाउने ट्रेड युनियनका मसिहाहरू हुन् या काला अक्षर रटेकै भरमा वरिष्ठ कहलाएका प्रशासकहरू हुन् या राजनीतिको परिशिष्टाङ्क अनुसार दहिचिउरे भइदिएका विशिष्टहरू हुन् सबैले आ-आफ्नो समयअनुसार व्यभिचारमा उत्तिर्ण भएकै छन् होला क्यारे ! तिनलाई तलबमानको के मतलब । नत्र धेरै भन्दा धेरै कमसलहरूले पनि गैह्रसरकारी जागिरमा मनग्ये तलब कमाएर बसिरहेका छन् । हामी भने यस्तो न्यून तलबमानमा जिल्ल पर्दै अन्याय र अत्याचार सहनुपर्ने । अल्लि पहिले भा’को भए कम्तीमा सामाजिक प्रतिष्ठा त छ भन्न हुन्थ्यो । अहिले लुट्न सक्ने जति सबै त्यतै व्यस्त भएकाले बाँकीलाई पनि समाजले कुनै पवित्र नजरले हेर्दैन ।

पाँचलाई समायोजनको प्रक्रियागत व्यवस्था माथि एलर्जी नै भएको रहेछ क्यारे, रुद्रघण्टीमा केही नअड्काईकन बोल्यो: अहिलेको जस्तो गुनासो नै गुनासोहरूले भरिपूर्ण समायोजन अरू कुनै पनि तवरबाट गरेको भए अझ राम्रो हुन्थ्यो होला । समायोजनको वेग तारिफयोग्य रहेको भएता पनि अन्ततः: राज्यका श्रोतको अप्रभावकारी खर्च र कर्मचारीहरूको मानसिक तनावको लेखाजोखा हिसाब गर्ने हो भने प्रत्युत्पादक हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । अहिलेको युगमा सैद्धान्तिक आधार र वैज्ञानिक कारणहरूसहित कर्मचारी व्यवस्थापन गर्नुपर्नेमा निषेधवादी संस्कारको अत्यधिक उपभोग गरी मेलोलाई आधा निम्ठ्याएको छ । अझ उल्टै त्यस्तोलाई स्याबासी थपथपाएको देख्दा यो ज्यानलाई कम्ता निस्पट्ट अन्धकार महसुस भयो होला । हिसाब कसलाई देखाउने ?

छैटौँले भने अर्कै चोट पोख्दै थियो: अत्यधिक कमाई खानको लागि बजारमा मस्त बिकाउको भाउमा रहेका राजनीतिक कार्यकर्ताहरूसँग हाकिमको झोली थाप्दै छटपटाई रहेका ऐतिहासिक निमित्तहरूको पनि प्रशासनमा कहाँ कमी छ र ! व्यक्तिगत स्वार्थका लागि प्रशासनको आधारभूत मूल्य मान्यतालाई गलहत्याउदै राजनीतिको हाछ्युलाई आशीर्वाद मानेका छन् । प्रशासनिक व्यभिचारमा उन्मत्त पिङ खेल्ने प्रशासनका भाइरसहरूलाई नाङ्गो बनाएर लखेट्न कसैले सक्या होइनन् । पद्दति नै कन्फ्युज छ कि यो राज्य हो या हाँडिगाँउ ? आफ्ना र आफन्त भइदिन पर्छ, कुर्सि मात्र निमित्त होईन की पेसा र योग्यता नै निमित्त भइदिन्छ । कोही निमित्त वरिष्ठ, कोही निमित्त विशेषज्ञ, कोही निमित्त वरिष्ठ विशेषज्ञ । सबै जायज हुन्छ । मरिलानु के छ र ! निमित्तहरूलाई पनि राम्रै खान लाउन पुगोस् ।

भलिबलको एक टोली जतिले आ-आफ्नो कण्ठ नरोकेपछी वैकल्पिक खेलाडी (एक्स्ट्रा प्लेयर) को रूपमा रहेको पंकेले पनि मन खोल्यो: हेर साथीहरू हो, यो देशमा व्यक्तिगत ओहोदामा बसेका कसैले केही गर्ने वाला छैनन् । सिंह होस या सिंजा होस् या स्याल होस् सबै दरबारमा आ-आफ्नो चाल चलिरहिएको छ । नसा चढेको छ । कसैलाई जनमतको नसा, कसैलाई जन अभिमतको नसा, कसैलाई जनतावादको नसा त कसैलाई जनमुक्तिको नसा । जुन नसालाई हाम्रो मुलुकी भट्टीको दुई गिलासले सम्मै बनाइदिन्छ ।

बनाउनु पर्ने पौरखी जनता थियो, सुती सुती खान दिन्छु भने- अनि भोकै सुताए । उकास्नु पर्ने जनतालाई थियो- देशमाथि सिंगापुर र स्विजरल्याण्ड थोपरे, थेग्न गाह्रो भो- देशमा भुईँचालो र टाईफुन पल्के । विकास फलाके- घाँटी सुक्यो- कुर्सी पिए- आलस्यमा निदाए । बनाउनुपर्ने संस्था थियो, बनाउँछु मान्छे भने- आँफु बने र आफ्नालाई बनाए । समृद्धिको फाउण्डेसन भत्काए – दलको झन्डाले ओत लाग्ने संस्कार बनाए । मुखले बेस्मारी विकास बिगुले, व्यवहारले व्यभिचार अंगाले । व्यभिचार नै खाए- घुटुक्क निले तर पचेन- अनि पखाला लाग्यो । जिवनजल खानको लागि विदेश हान्निए । गरिबले निखनेको कुटोको व्याजमा हुर्केर बनेको ढुकुटी खाईकन पचाउन नसकेर उपचारको लागि विदेश जाँदै गर्दा एयरपोर्टमा हात हल्लाउँदा आँफुलाई भने आँखा छोप्न मन लाउँछ, देख्नै नसकेर के ? तर कसलाई के भन्ने !

पंकेलाई पनि समायोजनको ह्याङ्गओभर रहेछ, अरू थप्यो: परिवर्तित राज्य व्यवस्थामा नेपालको निजामती सेवालाई एउटा संक्रमणले गाँजेको थियो तर तन्दुरुस्त नै थियो । अफसोच, निजामतीको प्रचलित लिस्नो चढेर बारदलीमा पुगेका महानुभावहरूले लिस्नो त भत्काए ठिकै छ, तर बारदली नै गायब ! त्यो पनि ठिकै छ भने, तर पछि हेर्दै जाँदा त धुरी नै भाँच्दिएका रहेछन् । अनि अहिलेको यो व्यवस्थामा टोल टोलमा उत्पत्ति भएका राजईच्छाहरुलाई प्रशासनिक कार्यात्मक ब्यालेन्स गर्नको लागि निजामतीको गरिमालाई अक्षुण्ण राख्नुपर्नेमा डेट एक्सपाएर भएका सामान्य समूहका डाँडापारिका वरिष्ठहरूले तहसनहस पारेछन् । अब त्यसको दूरगामी असरको ऋण बाँकी रहेका निजामतीका नौ जवान र पौरखी हातहरूले तिर्नुपर्ने देखिन्छ । त्यसमा पनि निजामती त जम्मा जम्मी एउटा जागिर न हो, पगार र परिवेश मन नपरे छोडेर हिँडिदेला । अन्ततः: रुने त देश नै हो ।

पंकेले कुरो टुङ्ग्याउन नपाउँदै भट्टी अगाडीको बाटोमा एक जना जाँड सेवनकर्ता तिरिमिरीवाला हिँडाइ हिँड्दै भन्दै थिए: विश्व ईतिहासमा साम्राज्यवादको युग सकिएको जुग भई सक्यो तर प्रशासनिक मूलधारका मसिहाहरूले सङ्घीयताको च्याखे थापेर सामान्यको साम्राज्य बिस्तार गर्नु देशको दुर्भाग्य हो । नेपालका नोटवादी र भोटवादी जमातहरूको अक्कलले त ठम्याउन नसक्ला, तर अब विकासप्रेमी जनताले नपत्याई सुखै छैन । किनकि नेपालको मौलिकता र वर्तमान समयको विशिष्टताले हिसाब गर्दा सामान्य प्रशासनको मिति सक्किईसकेको भान हुन्छ ।

धेरैले भन्छन् की सामान्य प्रशासनमा नवीनतम सोच र तीव्र विकासको गतिलाई पक्रिन सक्ने हैसियत नै छैन । व्यक्ति विशेषको क्षमता त सामान्यमा पनि हुन सक्छ र छ पनि, त्यसमा शङ्का होइन । तर सामान्यको संस्थागत क्षमता भने हास्यास्पद छ । तर पनि, यति महत्वकांक्षी छन् की जे पनि चलाउँछु भन्छन् । अल्लि अस्ति एक जना साथीले सामान्यलाई पाइलटसँग तुलना गरेका थिए तर खासमा सामान्य प्रशासन एउटा सामान्य ट्राफिकको(सभ्य भाषामा भन्दा) सहचालक मात्र हो । उसकै मर्जी हुने हो भने साइकलमा पनि सहचालक बस्छु भन्छ अरे ! शिक्षामा सहचालक, स्वास्थ्यमा सहचालक, कृषिमा सहचालक, वनमा सहचालक, वातावरणमा सहचालक, ईन्जिनियरीङ्गमा सहचालक, उद्योगमा सहचालक अनि विकास प्रशासन त आफ्नै पुर्खाको बिर्ता जस्तो मान्छन्, कति हाँस्नु ।

नत्र हेरुम् त ! तिन वटै सरकारमा सामान्यको दरबन्दी कतिसम्म थप्न सकेको हो । त्यत्रो थप्ने, अनि अहिले भए जति सबैलाई संघमै अटाउँदा पनि संघमै दरबन्दी खालि । खै कसले बोलेका थिए, पहिला स्थानीय अनि प्रदेशको दरबन्दी भरेपछी बल्ल सङ्घमा समायोजन गरिन्छ भन्थे । कोही त जाओ तिनका अनुहारलाई ऐना दर्शन गराइदेऊ । यत्तिको छल गरिसकेपछी प्रदेश र स्थानीयमा खालि रहेका दरबन्दीमा भोलि आफूले राज गर्न पाउने गरी आफ्नै लाइनका तिनै डेट एक्स्पाएर समूहको जन्ती खडा गर्ने अरे ! चाहिँदैन ओ चाहिँदैन, यो असामान्य हुँदै गइरहेको ज्याद्रो सामान्य अब निजामतीमा चाहिँदैन । सङ्ख्या थपेर मात्र हुन्न हजुर गुणस्तरमा जाँउ अब ढिला भई सक्यो ।

ती विन्दास व्यक्तिले सामान्यको प्रवृत्तिलाई मूलबाटोमै त्यत्ति साह्रो त नभनेको भए पनि हुन्थ्यो जस्तो लागेको रहेछ पंकेलाई । सोच्दै थियो: सामान्यले नै देशको निजामतीलाई यसरी एकताको सूत्रमा बाँधेको कुरा बिर्सेछन् क्यारे ब्रो ले । देशमा शान्ति सुरक्षा कायम गर्न, कानुनको कोरा पल्टाउन र प्रशासनिक अभिलेखिकरणका लागि त सामान्य अद्वितीय नै छ नि ! तर अब विकासको माग र रफ्तारलाई नियालेर हेर्दा समग्र निजामतीको भन्दा पनि पहिले सामान्य प्रशासनलाई रिफर्म गर्ने बेला आएको पंकेलाई लाग्न थालेको रहेछ । मनमनै भन्दै थियो: सामान्यको कार्य प्रभावकारीता र व्यवसायिकताको समीक्षा गरौँ । अब अति सामान्य चाहिँ नगरौं ।

केहि बेरमै एक्कासि बज्र हुरी आएछ । भट्टीको टिनको छानो उप्काउन थाल्यो । रक्सीको ग्लासमा धुलो पर्‍यो । जंड्याहाहरु भिजे । दारु भित्रभित्रै उम्लियो । भट्टीमा देश बनाईसकेपछी अब घर बनाउनतिर हिँड्ने सुरसारमा निस्कनै लागेका थिए । तर लाइन गयो । अन्धकार भयो । सबै सम्मै भयो- जे गरे पनि छुट हुने भयो । किनकि नसा चढेको छ अनि लोक अन्धकारमा छ । भोलि बिहानको घामको झुल्कोसम्म त यो भट्टी चिया पसलमा परिणत भई सक्छ अनि जड्याहाहरुको दोष सबै मेटिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस