भरतपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेस राजनीतिक मुद्दा छाडेर समृद्धिको मुद्दा लिएर जनतामाझ जानुपर्ने धारण राखेका छन्।
चितवनको खैरहनी नगरपालिका वडा नम्बर ४ र ५ का वडाध्यक्ष स्व नरेन्द्रनाथ अधिकारी र विश्वविजय बस्नेतको स्मृतिमा शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रममा नेता पौडेलले समयअनुसार कांग्रेस परिवर्तन हुनुपर्ने बताएका हुन्।
निर्वाचनका बेला टिकट दिँदा ध्यान पुर्याउन नसक्दा निर्वाचनको गणितमा कांग्रेस पराजित भएको भए पनि विचारमा भने अगाडि रहेको उनले दाबी गरे। नेता पौडेलले कांग्रेसले सरकारमा हुँदा राज्यको ढुकुटी रित्तो पारेको भनी अहिलेको सरकारले प्रचार गरेको आरोप लगाए। कम्युनिष्ट सरकारले कांग्रेसलाई विभिन्न आरोप लगाएर गलत देखाउन खोजे पनि सफल नहुने उनको जिकिर थियो।
उनले सत्तारूढ नेताहरुकै संरक्षणमा देशमा भ्रष्टाचार बढेको बताए।
नेपाली कांग्रेस खैरहनी नगर समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा ६२ जनाले रक्तदान गरेका छन्। रासस