काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले धनी र गरीबको खाडल हटाउनुपर्ने बताएका छन् ।
बुधबार राजधानीमा शुरु भएको राष्ट्रिय विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले बैठक विगतको निरन्तरता मात्र हुन नहुने बताउँदै प्रचण्डले आगामी योजनामा धनी र गरिबको खाडल हटाउने योजनालाई प्राथमिकता दिनुपर्ने पनि बताए ।
विगतमा आन्दोलन गर्दा र जनतालाई प्रशिक्षित गर्दा आफूहरुले विभेदको अन्त्य गर्ने भनेको स्मरण गर्दै प्रचण्डले भने, ‘अझ सरकारको नेतृत्व गर्ने पार्टी नेकपा त सबभन्दा बढी त्यही विषयमा प्रशिक्षण दिएर जनताको मन जितेर आएको हो । त्यसैले हामीले वर्ग विभेद हटाउने, सामाजिक न्यायसहितको समतामूलक समाज निर्माण गर्ने कुरालाई प्राथमिकतामा राख्नैपर्दछ ।
त्यस्तै प्रचण्डले रोजगारी सिर्जनाका लागि शिक्षा नीति सुधार हुनुपर्ने बताएका छन् । रोजगारी सिर्जनाका लागि शिक्षामा गुणात्मक सुधार हुनुपर्नेमा जोड दिएका उनले नपढेको भन्दा पढेको जनशक्ति विदेश पलायन हुने क्रम बढ्दो रहेको बताए ।
उनले भने, ‘देशभित्र काम गर्नेभन्दा विदेशमा गएर जागिर खोज्ने प्रवृत्ति बढ्दो छ र देशभित्र उत्पादनशील जनशक्ति घट्दो छ । यो के कारणले भयो भनेर गहिरिएर हेर्ने हो भने मुख्य कुरा शिक्षामै छ ।’
प्रचण्डले सुशासनलाई पनि प्राथमिकतामा राख्न योजना आयोगलाई सुझाव समेत दिए ।