स्याङ्जा । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेसले आफैं सच्चिन पर्ने बताएका छन् ।
प्रेस युनियनद्वारा स्याङ्जामा मंगलवार वालिङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले पार्टीभित्र गुटउपगुट रहेकाले सच्चिनुपर्ने बताएका छन् ।
उनले भने, कांग्रेसको भित्र तिक्तत्ता छ, कांग्रेस एक ठाउँमा उभिँदा कसैले हराउन सक्दैन । काङ्ग्रेस धार्मिक स्वतन्त्रताका पक्षमा दृढ रहेको उल्लेख गर्दै उनले सबैलाई धार्मिक स्वतन्त्रताका पक्षमा रहन आग्रह गरे । उनले कांग्रेसभित्रको गुट उपगेट महाधिवेशनसम्म जाने र त्यसपछि अन्त्य हुने पनि बताए ।
पार्टीका केन्द्रीय सदस्य एवं अनुशासन समितिका सदस्य धनराज गुरुङले अनुशासन समितिले गुटउपगुट र पदलाई नचिन्ने उल्लेख गर्दै गल्ती गर्नेलाई प्रमाणका आधारमा कारवाही गरेरै छाड्ने बताए ।
गण्डकी मेडिकल कलेजले विद्यार्थी माथि ठगी गरेको विषयमा पत्रकारको जिज्ञासामा गुरुङले राजनीतिक बर्को ओडेर कसैले पनि अनियमितता गर्न नहुने बताउँदै गल्ती गर्नेलाई कारवाही हुनुपर्नेमा जोड दिए ।