ज्येष्ठ भएर पनि समायोजनमा यसरी जुनियर भए कर्मचारी ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ज्येष्ठ भएर पनि समायोजनमा यसरी जुनियर भए कर्मचारी ?


प्रशासन विशेष ब्युरो

१५ चैत्र २०७५, शुक्रबार


समायोजन

काठमाडौँ । समायोजित हुने अधिकांश कर्मचारीको प्रश्न छ, म ज्येष्ठ भएर पनि कसरी रोजाईको ठाउँमा नपरी अन्तै पारियो ? र, रिक्त हुँदाहुँदै टाढा समायोजित गरियो ?

बारम्बार यही प्रश्न दोहोरिईरहेपछि हामीले यसबारे बिहीबार मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमै यसबारे सोधेका थियौँ । र, मन्त्री लालबाबु पण्डित, मुख्यसचिव लोक दर्शन रेग्मी तथा सामान्य सचिव दिनेशकुमार थपलियालगायतको उपस्थिति मै सङ्गठन विकास तथा समायोजन महाशाखा प्रमुख केदार प्रसाद पनेरुले यसबारे यसरी प्रष्ट्याएका छन् ।

कतिपय कर्मचारीले आफ्नो दरबन्दी कहाँ छ ? ज्येष्ठता के छ ? गरेको के जिम्मेवारी हो ? भन्ने अध्ययन नगरीकन अनलाइन आवेदन भरेको पाइयो ।

अनलाइन आवेदन भर्ने अन्तिम दिन भन्दा तीन दिन अगाडी कुनै कर्मचारीले मैले स्थानीय तहमा फारम भरेको थिएँ, त्यो ठाउँमा मैले पाइन । सबैभन्दा ज्येष्ठ म छु भनेर आउनु भयो । अनि उहाँलाई मैले अनलाइन विवरण आफै भर्नुभएको हो भनेर ३ पटक सोधेँ, उहाँले हो भन्नुभयो ।

त्यसपछि मैले उहाँलाई नै लगेर सफ्टवेयरमा देखाएँ उहाँलाई विवरण देखाए । तपाईँले त सङ्घमा भर्नुभएको छ, कसरी सङ्घमा भर्नुभयो त भन्दा मैले एउटा साथीलाई दिएको थिएँ, त्यसले धोका दिएछ भन्छ । यस्तो धेरै कुराहरू नमिलेका छन् ।

कोहीले स्थानीय तहमा दरबन्दी हुँदाहुँदै सङ्घमा रोज्नुभएको छ । ज्येष्ठताका आधारमा समायोजन गर्ने भन्नसाथ उहाँ जुनियर हुनुभएको छ । त्यसपछि मेरो आफ्नो स्थानीय तहमा भएर भनेर आउनु भएको छ । यस्ता गुनासाहरू छन् । र, यसलाई हामीले सफ्टवेयरको माध्यमबाट वैज्ञानिक ढङ्गले गरिरहेका छौँ ।

ऐनले निर्देशन गरेको सङ्घ, प्रदेश र स्थानीयको आधार र मापदण्ड अनुसार गरिएको छ ।

ज्येष्ठ हुँदाहुँदै पनि आफूले रोजेको स्थानमा कनिष्ठ आउनुमा अरूलाई नै फाराम भराएको कारण मात्रै हो त ? त्यो त तिनै कर्मचारीलाई थाहा होला । तर, कारण जे सुकै होस्, गल्ती जसको सुकै होस् यसैका कारण कर्मचारीले सधैँ भरी अप्ठ्यारोमा जागिर खानुपर्ने अवस्था भयो र सेवा प्रवाहमा त्यसको असर देखिन्छ भने त्यो चाहिँ पक्कै पनि सोचनिय विषय हो ।

Tags :
प्रतिक्रिया दिनुहोस