काठमाडौं । पाँचौ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले मंगलबार विराटनगरको सहिद रंगशालामा भएको उद्घाटन खेलमा भुटानमाथि ३–० गोलको जित निकालेको हो।
नेपालका लागि मन्जली कुमारी योन्जन, सावित्रा भण्डारी र कप्तान निरु थापामगरले १–१ गोल गरे।
पहिलो हाफ सकिदा नेपालले २–० गोलको अग्रता दिलाएको थियो। मन्जलीले खेलको १३ र सावित्राले १६ मिनेटमा गरे। यद्यपी नेपालले पहिलो हाफमा पाएका आधा दर्जन अवसरलाई भने सदुपयोग भने गर्न सकेन।
दोस्रो हाफमा निरु थापाले एक गोल थपिन्। निरुले खेलको ५४ मिनेटमा सावित्राले डिबक्समा हेडमार्फत दिएको पासमा गोल गरेका थिए। त्यसपछि भने नेपालको फिनिसिङ राम्रो हुन सकेन। पटक–पटक नेपाल चुक्दा थप गर्ने अवसर खेर गएको थियो।
प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। यो समूहमा नेपालसहित बङ्गलादेश र भुटान छन्। समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलङ्का छन्। नेपालले पहिलो खेलमा भुटानसँग मंगलबार र दोस्रो खेल नेपालले २ चैतमा बंगलादेशसँग खेल्नेछ।
प्रतियोगिताको दोस्रो खेल बुधबार भारत र माल्दिभ्सबीच खेल हुनेछ।