हिमपातले सुदूरपश्चिम नेपालको जनजीवन कष्टकर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

हिमपातले सुदूरपश्चिम नेपालको जनजीवन कष्टकर


प्रशासन संवाददाता

१७ फाल्गुन २०७५, शुक्रबार


सुर्खेत । भारी हिमपातका कारण मध्य तथा सुदूरपश्चिम नेपालको जनजीवन निकै कष्टकर बनेको छ । पटक–पटकको हिमपातले खासगरी हिमाली जिल्लावासीको जनजीवन असहज बनेको हो । कर्णाली प्रदेशको हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोट, जाजरकोट, दैलेख, रुकुमलगायतका जिल्लामा हिमपात भएको छ ।

त्यस्तै, सुदूरपश्चिमका अछाम, बझाङ, बाजुरा, दार्चुला, बैतडी, डोटी र डडेलधुरामा समेत भारी हिमपात भएको छ ।

हुम्ला जिल्लाको बेँसीमा दुई फिट र उत्तरी भेगमा पर्ने नाम्खा गाउँपालिकाको लिमी, मुचु, चाला, हिल्सा, यारीमा करीब ५ फिट हिमवर्षा भएको जिल्ला प्रशासन कार्यालय हुम्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले जानकारी दिए ।

१५औँ पटक हिमपात हुँदा जनजीवन निकै कष्टकर भए पनि मानवीय तथा पशुचौपाया कुनै क्षति नभएको प्रमुख जिल्ला अधिकारी ढुङ्गानाले बताए ।

डोल्पा, मुगु तथा जुम्लीवासी नागरिकको अवस्था पनि निकै कष्टकर भएको पाइएको छ । हिमपातले कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लाको हवाई उडान तथा सडक यातायात ठप्प भएका छन् । सरकारी कार्यालय, विद्यालय, उद्योग कलकारखाना तथा गैरसरकारी निकाय बन्द छन् ।

हिमवर्षाले यहाँका नागरिकको दैनिक कामकाज ठप्प भएको बताउँदै बेँसीमा २ फिट र लेकमा चार फिट हिमपात भएको जिल्ला प्रशासन कार्यालय जुम्ला निमित्त प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठले जानकारी दिए । ‘हवाई यातायात सञ्चालन गर्न नेपाली सेना, सशस्त्र तथा नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहितको टोलीले विमानस्थलको हिउँ सफा गर्दैछौँ’, उनले भने।

हिउँको मारमा बालबालिका, बिरामी, वृद्ध र विपन्न नागरिक परेको पत्रकार नेत्रबहादुर शाहीले जानकारी दिए । पत्रकार शाहीका अनुसार यो एक दशकमा सबैभन्दा ठूलो हिमपात भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक सीताराम रिजालले अत्यधिक हिमपातका कारण तातोपानी गाउँपालिकामा एकजना कठ्याङ्ग्रिएको र उनको उपचार भइरहेको बताए ।

उनका अनुसार डोल्पामा हिउँमा परी पातारासी गाउँपालिकाका एकको मृत्यु भएको छ । पहाडी जिल्लाका माथिल्लो भेगमा हिमपात भए पनि तल्लो भेगमा पानी परेको थियो । त्यस्तै, भारी हिमवर्षा र हुरीबतासका कारण चार वर्षसम्म निर्वाध बलेको जुम्ला चन्दननाथ मन्दिरको दियो निभेको छ ।

अब दैलेखको ज्वाला क्षेत्र श्रीस्थानबाट दियो लिएर आउने चन्दननाथ भैरवनाथ गुठी समिति जुम्लाले बताएको छ ।

मङ्गलबारदेखिको अविरल हिमवर्षाले कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशको हवाई उडान बन्द भएको प्रमुख जिल्ला अधिकारीहरुले बताएका छन् । हिउँले हिउँदेबालीमा केही असर पुगे पनि वर्षेबाली राम्रो हुने किसानहरुले अपेक्षा गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस