सफल भैँसीपालक महिला उद्यमी वकी « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

सफल भैँसीपालक महिला उद्यमी वकी


प्रशासन संवाददाता

२३ माघ २०७५, बुधबार


दाङ । तुलसीपुर उपमहानगरपालिका–६ गोलौराकी ४१ वर्षीया वकी डाँगी व्यावसायिकरूपमा भैँसीपालन गरेर छोटो समयमा एक सफल उद्यमीका रूपमा आफूलाई चिनाउन सफल भएका छन् ।

विगत पाँच वर्षदेखि सो पेसा अङ्गालेकी डाँगी अहिले घरपरिवारका दुई सदस्यसहित भैँसीपालनमा संलग्न छन् । साथै उनले स्थानीय अन्य दुई जनालाई आंशिकरूपमा रोजगारी पनि दिएका छन् ।
डाँगी आफ्नो यो पशुपालन पेशाबाट सन्तुष्ट छन् । उनी भन्छन्, ‘वार्षिक करीब रु सात लाख बचत गर्न सफल भएको छु, यसलाई सन्तोष नै मान्नुपर्छ ।’ उनको दिनचर्या बिहानको मिर्मिरे उज्यालोदेखि शुरु हुन्छ । प्राय भैँसीका पाडापाडीको स्याहार सुसारमा उनी धेरै व्यस्त देखिन्छन् ।

परम्परागतरूपमा खेतीपाती गर्दै आएकी डाँगीले विसं २०७० मा शुभ भैँसी फार्म दर्ता गरी व्यावसायिकरूपमा भैँसीपालनको शुरुआत गरेको बताए ।

उनले भने–’शुरुमा रु १ लाखमा एक उन्नत जातको भैँसी खरीद गरी भैँसीपालन गरेकी हूँ, अहिले फार्ममा साना ठूला गरी १४ वटा भैँसी छन् ।’

अहिले उनका फार्ममा सातवटा दुहुना भैँसी छन् । ती भैँसीले दैनिक रूपमा दिने ६० देखि ७० लिटर दूध स्थानीय तुलसीपुरका डेरी उद्योगमा बिक्री गर्छन्। केही दूध आफ्नै फार्मबाट स्थानीवासीले खरीद गरी लिनेगरेको उनले बताए ।

डाँगीको भैँसी फार्ममा दूध खरीद गर्न आएकी तुलसीपुर उमहानगरपालिका–६ रजौरा निवासी ४३ वर्षीया राधा पाण्डेले आफ्नै घर आँगनमा शुद्ध दूध खान पाइने भएकोले किन्न आएको बताए ।

उनले भने, ‘यसअघि एक लिटर दूध किन्न पनि तुलसीपुर बजार जानुपर्ने बाध्यता थियो तर अहिले घर छेउमा ताजा दूध पाउँदा खुशीलागेको छ ।’ डाँगीको फार्ममा अहिले सम्म रु २५ लाखसम्म लगानी भइसकेको छ भने दुग्धजन्य पदार्थ र मल बिक्रीबाट वार्षिक रु २० देखि २५ लाखसम्म आम्दानी हुने गरेको छ ।

आन्तरिक व्यवस्थापकीय सबैजसो खर्च कटाएर वर्षमा कम्तीमा पनि रु सात लाख बचत गर्न सफल भएका डाँगीले बताए । घाँसको पर्याप्त उत्पादन नहुँदा दाना तथा पराल, चरण्नलगायत अन्य सामग्री खरीद गर्दा लागत खर्च बढेको डाँगीले बताए ।

‘अहिलेसम्म सरकारी निकायबाट केही प्राविधिक सहयोग त पाएको छु तर अरु आर्थिक सहयोग कुनै निकायबाट पाएको छैन’, डाँगीले भने । कम लगानीमा छोटो समयमा मनग्य आम्दानी गर्न सकिने भएकाले अहिले उनको भैँसी फार्ममा विभिन्न ठाउँबाट भैँसी हेर्न, जानकारी लिन तथा भैँसी खरीदका लागि समेत मानिस आउने गरेका छन् ।

‘पढेलेखेका सबैले पैसा कमाउनका लागि जागिर खानै पर्छ या विदेश जानैपर्छ भन्ने छैन’, उनको सुझाव छ । पढेको कुरा व्यवहारमा लागू गर्ने हो भने कृषि व्यवसाय गर्नुपर्छ भन्छन् उनी । तर त्यसका लागि राज्यले नारामा मात्र सीमित नभई व्यावहारिकरूपमै कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनुपर्ने उनको धारणा छ । त्यस्तै उत्पादित सामग्रीलाई बजारको प्रबन्ध गर्न सकेमा किसानमा अझै ठूलो हौसला मिल्ने उनको अनुभव छ ।

Tags :
प्रतिक्रिया दिनुहोस