चितवन । राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृत शिक्षालाई सामयिक र आधुनिकीकरण गर्नु आजको आवश्यकता रहेको बताइन् । महेश सन्न्यास आश्रम तथा महेश संस्कृत गुरुकुलको रजत वर्षका अवसरमा आज देवघाटमा आयोजित देवघाट विराट् ज्ञानमहायज्ञ २०७५ एवं ज्ञानसभालाई सम्बोधन गर्दै उनले संस्कृत शिक्षाप्रति युवा वर्गलाई आकर्षण गर्नुपर्नेमा जोड दिइन्।
गुरुकुल शिक्षा प्रणाली आजको शिक्षाको जग भएको बताउँदै उनले गुरुकुल शिक्षा अनुकूलको नैतिक आचरण, व्यवहार र अनुशासनले मानिसको जीवनलाई सधैँ समाज कल्याण उन्मुख बनाउँदै मानवीय सद्भाव, प्रेम र भातृत्व अभिवृद्धि गराउन सहयोग पुर्याउने छ भनिन्।
मानव जीवनलाई भौतिक र मानसिक रुपमा सुखी र सुखी तुल्याउने संस्कृत वाङ्मयका सूत्रहरु बहुमूल्य रहेको बताउँदै उनले भनिन्, ‘गुरुकुल शिक्षा ओझेलमा राख्दा हाम्रो सभ्यता, संस्कृति र पहिचान उजागर गर्न कठिनाइ पर्न सक्छ ।’ उनले गुरुशिष्य परम्परामा आधारित गुरुकुल शिक्षाले ज्ञान प्रवाहमा महत्वपूर्ण योगदान दिएकाले यसको सम्वर्द्धन हुनुपर्ने बताइन्। राष्ट्रपति भण्डारीले भनिन् ‘गुरुकुल शिक्षाले चरित्रवान्, शिक्षित नागरिक बनाउन सहयोग पुग्ने हुँदा समाजमा यसको ठूलो महत्व छ ।’
पवित्र तीर्थस्थल देवघाटधामलाई सांस्कृतिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गर्न सकिने प्रशस्त सम्भावना रहेको हुँदा यसतर्फ सरकारले ध्यान दिनुपर्ने उनले बताइन् ।
कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले देवघाट क्षेत्रको विकासका लागि सरकारले प्राथमिकता दिने बताइन्। गलेश्वर आश्रमका पीठाधीश महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीले वैदिक धर्मको प्रचारप्रसार राष्ट्रको विकासमा बाधा नभएर साधक हुने बताए ।
हरिहर सन्न्यास आश्रमका पीठाधीश एवं नेपाल सन्त समाजका अध्यक्ष ज्ञानानन्द सरस्वतीले धर्मनिरपेक्ष घोषणा गर्दा साधुसन्तलाई सोधपुछ नगरिएको भनी दुःख प्रकट गरे । महेश सन्न्यास आश्रमका पीठाधीश रमणानन्द गिरीले गुरुकुलका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा सांसद किसान श्रेष्ठ, देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापा, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेललगायतले बोलेका थिए ।
सो अवसरमा राष्ट्रपति भण्डारीले गुरुकूलमा नवनिर्मित ४२ कोठे भवनको उद्घाटन गरेका थिए । । पैँतीस दाताले आआफ्ना पितृको सम्झनामा हरेकले एउटा कोठा निर्माण गरेका हुन् । बाँकी रकम विश्वविद्यालय अनुदान कोषले खर्च गरी रु चार करोड ५० लाखमा भवन निर्माण गरिएको हो । भवनमा गुरुकुलका कक्षा ६ देखि आचार्य तहसम्मका कक्षा सञ्चालन हुनेछन् ।
विसं २०५० मा डा स्वामी रामानन्द गिरीले आश्रम र गुरुकुल सञ्चालन ल्याएका हुन् । उनको एक वर्षअघि निधन भएको थियो । महायज्ञमा १०८ श्रीमद्भागवत पाठपारायणका गरिने छ । साथै चारै वेद, विभिन्न पुराणको पाठपारायण, शक्तिको आराधना र ब्रह्मगायत्रीद्वारा विधिपूर्वक लक्ष हवन गरिने महायज्ञ मूलआयोजक समितिका महासचिव डा गुरुप्रसाद सुवेदीले बताए ।
महायज्ञ आगामी फागुन १ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञमा स्वदेश र विदेशबाट ठूलो सङ्ख्यामा सन्त, महन्त र भक्तजन आएका छन् ।