बन्दले कञ्चनपुरको जनजीवन प्रभावित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बन्दले कञ्चनपुरको जनजीवन प्रभावित


प्रशासन संवाददाता

१६ माघ २०७५, बुधबार


भीमदत्तनगर  । कञ्चनपुरको भीमदत्तनगरस्थित विद्यार्थी सङ्गठनले गरेको बन्द आह्वानका कारण यहाँको जनजीवन प्रभावित बनेको छ ।

सरकारी स्वामित्वमा रहेको जग्गामा बनेका अवैध संरचना भत्काउन माग गर्दै पटक–पटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरिएपछि विद्यार्थी सङ्गठनले मङ्गलबारदेखि कञ्चनपुर बन्द गर्दै आएका हुन् । बन्दका कारण बिहानैदेखि भीमदत्तनगरबाट चल्ने छोटो तथा लामो दूरीका सवारीसाधन सञ्चालन हुनसकेका छैनन् भने भीमदत्तनगर बजार, शैक्षिक संघसंस्था, उद्योग कलकारखानालगायतको कामकाजसमेत प्रभावित बनेको छ ।

महेन्द्रनगर नगर विकास समितिबाट भाडाका नाममा बजारको गुरुयोजना नै मिचेर सयौँ पक्की संरचना बनेपछि यहाँका विद्यार्थी र युवा संघ/सङ्गठन त्यसको विरोधमा उत्रेका हुन् । अवैध संरचना भत्काउन नमानेपछि आन्दोलन गर्नु परेको नेपाल तरुण दल कञ्चनपुरका अध्यक्ष महेश चन्दले बताए । बन्दका कारण सयौँ यात्रुहरु पूर्वपश्चिम राजमार्गमा अलपत्र छन् ।

चन्दले भने,’प्रक्रिया मिचेर पहुँचका भरमा सरकारी जग्गाको दुरुपयोग गरिएको छ ।’ अवैध जग्गा लिज खारेजी, निर्माण गरिएका अवैध संरचना भत्काउनुपर्ने र कानून मिचेर जग्गा लिजमा दिने नगर विकास समितिका पदाधिकारीलाई कारवाहीको दायरामा ल्याउनुपर्ने आन्दोलरत पक्षको माग छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अवैध संरचना हटाउन थालेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस