ऊ, म र विधाता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ऊ, म र विधाता


प्रशासन विशेष ब्युरो

१२ माघ २०७५, शनिबार


ऊ, म र विधाता

न बाजेले लिए यो बाटो, न बराजुले,
न बाउ आमाले नै
न त दिदी बहिनीले समाए,
न दाजु भाइले नै चासो लिए यो बाटोमा
आखिर
शाखा सन्तानले नलिएको
नदेखेको, नसोचेको
उत्कट अभिलाषा
कसरी पलायो हँ म मा?
आफै बिलखबन्दमा पर्छु म अचेल
त्यो,
सगरमाथाको टुप्पो चुम्ने सपना मेरो
बर्षौदेखिको लगन,तयारी, पूर्वाभ्यास,
लक्ष्य
के गलत थियो त ?
आफैभित्र द्वन्द्व चर्किन्छ
प्रश्न आफैतिर फर्किन्छ
साँच्चीकै म यो यात्राका लागि अयोग्य हुँ
वा,
अयोग्य बनाईदैछ
फेरि शङ्का उब्जिन्छ मनमा
हुरी बतासिन्छ तनमा
मनमनै वादविवाद चलाउँछु
होइन,
ऊ र म
एउटै परिवार, एउटै उद्देश्य
एउटै बाटोका यात्री
घर उही दाना छाना उही
हिँडाई उस्तै खानपान उही
गन्तव्य एउटै भएका हामी
सँगै बामे सर्दै, हातेमालो गर्दै
खुड्किलो चढ्दै
कतै तुषारोमा चिप्लिदै
कहिले ढुङ्गामा ठोक्किँदै
कहिले उकालीमा सुस्ताउँदै
नथाकीकन अघि बढेका यी अविचलित पदचाप
बेसक्याम्पमा पुगेसी
टक्क अडिन्छ
हिम पहिरो र हिमआँधीले
तैपनि ऊ अघि बढदैछ
यद्यपि
उसको बाटो खुल्ला छ
म यही रहन्छु, यतैबाट फर्किन्छु
किनभने
मेरो बाटोमा यहाँ तगारो छ
न म खोल्न सक्छु न भत्काउन
त्यसैले म यहीसम्म समायोजित हुन सक्छु
धन्य विधाता !
उसलाई वरदान र मलाई श्राप दिएकोमा
मैले सगरमाथा चढ्नै नपरेकोमा !
धिक्कार छ मलाई
तिम्रो मन जित्न नसकेकोमा
तिमीलाई रिझाउने बुद्धि नभई, वरदान लिन नसकेकोमा !
जन्मनै ढिलो गरेकोमा, यात्रा नै अबेर सुरु गरेकोमा,
सलाम छ पुजारी
सही सन्देश प्रवाह नगरेकोमा ।।

Tags :
प्रतिक्रिया दिनुहोस