नेपालद्वारा युएइसामु ११४ रनको लक्ष्य प्रस्तुत « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपालद्वारा युएइसामु ११४ रनको लक्ष्य प्रस्तुत


प्रशासन संवाददाता

११ माघ २०७५, शुक्रबार


काठमाडौं । पहिलो एक दिवसीय क्रिकेटमा नेपालले घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि ११४ रनको सामान्य लक्ष्य दिएको छ ।

दुबईस्थित आइसिसी क्रिकेट एकेडेमीको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ३३ ओभर ५ बलमा अलआउट हुँदै ११३ रनमा समेटियो । खराब ब्याटिङ प्रदर्शन गरेको नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन जोडे । यस्तै आरिफ शेखले २५ रन जोड्दा कप्तान पारस खड्काले २० र सन्दीप लामिछाने १५ रनमा आउट भए ।

अन्य नेपाली ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् । नेपालका विनोद भण्डारीले पाँच, पवन सर्राफले चार, करण केसीले तीन रन जोडेर आउट भए । ललितनारायण राजवंशी दुई रनमा अविजीत रहे । नेपालका ओपनर ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी र वसन्त रेग्मीले रनको खाता खोल्नु सकेनन् ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा युएइका मोहमद नाभिद र अमीर हायतले समान तीन÷तीन विकेट लिएका थिए । यस्तै इमरान हेदरले दुई विकेट लिए । नेपालले युएईसँग तीन खेलको एक दिवसीय र तीन खेलको टी–२० सिरिज खेल्नेछ । नेपालले दोस्रो एक दिवसीय खेल शनिबार खेल्नेछ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट एक दिवसीय मान्यता पाएपछि नेपाल दोस्रो एक दिवसीय सिरिज खेल्न युएई पुगेको हो ।

एक दिवसीय मान्यता पाएपछि नेपालले युएईसँग दोस्रो सिरिज खेल्न लागेको हो ।

यसअघि नेदरल्याण्डसँग नेपालले पहिलो एक दिवसीय सिरिज खलेकामा पराजित भए पनि दोस्रो खेलमा एक रनको जित हासिल गरेको थियो ।

नेपालका पारस खड्का तथा युएईका मोहम्मद नाभिदको कप्तानीमा खेल हुँदैछ । नियमित कप्तान रोहन मुस्ताफासहित तीन खेलाडी प्रतिबन्धमा रहेका कारण युएईको नेतृत्व फास्ट बलर नाभिदले गर्दैछन् । नेपालले युएईसँग तीन टि–२० सिरिज पनि खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस