‘ए’ डिभिजन लिग : बाह्रौँ चरणसम्म अपराजित मनाङ « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

‘ए’ डिभिजन लिग : बाह्रौँ चरणसम्म अपराजित मनाङ


प्रशासन संवाददाता

१८ पुस २०७५, बुधबार


काठमाडौँ  । जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितिसकेको मनाङ मस्र्याङ्दी क्लबलले लगातार १२ औँ जित निकालेको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा आज भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २–१ गोलले पराजित गर्दै मनाङले लगातार १२औँ जित निकालेको हो । लिगको अन्तिम चरणमा मनाङले अब ब्रिगेड ब्वाइज क्लबसँग खेल्न बाँकी छ ।

मनाङको अपराजित यात्रामा आफिज ओलावाले र विशाल राईले एक एक गोल गरे । हिमालयन शेर्पाका विश्वास श्रेष्ठले एक गोल गरेका थिए । खेलको ३६औँ मिनेटमा ओलावालेले गोल गर्दै मनाङलाई शुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ४५औँ मिनेटमा विश्वास श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पालाई खेलमा फर्काएका थिए ।

पहिलो हाफ १÷१ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा मनाङले थप एक गोल गर्न सक्यो । खेलको ६३ औँ मिनेटमा विशालले गोल गर्दै मनाङको अग्रता दोब्बर पारे । जितसँगै मनाङले १२ खेलबाट ३६ अङ्क जोडेको छ ।

मनाङले लिगको उपाधि भने दुई खेल अगावै जितिसकेको छ । पराजित हिमालयन शेर्पा १२ खेलबाट ११ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ । यसैबीच आजदेखि लिगअन्तर्गत १२औँ चरणका खेल सकिएका छन् । अब लिगमा एक चरणको मात्र खेल बाँकी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस