काठमाडौं । अंग्रेजी नयाँवर्षको दिन माइतीघरमा ‘टोपी दिवस’ मनाइएको छ । काठमाडौंको माइतीघर मण्डलामा युवा युवतीहरु भला भएर ढाकाटोपी लगाई राष्ट्रिय टोपी दिवस मनाएको हो ।
विश्वव्यापीकरणको प्रभावले अंग्रेजी नयाँ वर्ष मनाउने प्रचलन बढिरहेको भन्दै ०७० सालदेखि युवाहरुले नेपाली मौलिक पोशाक संरक्षणको अभियानका लागि ‘टोपी दिवस’ मनाउन सुरु गरेका हुन् ।
आज बिहान माइतीघर मण्डलामा भेला भएका युवाहरुले नेपाली राष्ट्रिय पोशाक लगाएर प्रदर्शन गरेका छन् ।
स्वतन्त्र राष्ट्रप्रेमी अभियान नेपाल, जागरुक युवा अभियान नेपाल, गुन्यूचोली राष्ट्रिय जागरण नेपाललगायतका संस्थाहरुले संयुक्त रुपमा टोपी दिवसको कार्यक्रम आयोजना गरेका हुन् ।
राष्ट्रिय पोसाक दौरा सुरुवाल र ढाका टोपीमा सजिएका सहभागीहरुले ढाका टोपीलाई पहिचान दिन माग गर्दै राष्ट्रिय पोसाकको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा सन्हाइ, दमाहा लगायतका परम्परागत बाजागाजा पनि बजाइएका थिए ।