नेता भीम रावलले मसँग ‘रिसइबी’ साँध्न खोज्नुभयो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेता भीम रावलले मसँग ‘रिसइबी’ साँध्न खोज्नुभयो


प्रशासन विशेष ब्युरो

१६ मंसिर २०७५, आइतबार


भीम रावल

जिल्ला समन्वय समितिको कार्यालय, अछामका प्रमुख (जिल्ला समन्वय अधिकारी) कपिलप्रसाद उपाध्यायको गत भदौमा सरुवा हुनुभयो । उहाँको सरुवा भएलगत्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत भदौ २२ गते जिल्ला समन्वय समितिको सिफारिसमा छैटौं तहका सामाजिक विकास अधिकृतलाई ‘निमित्त प्रमुख’ तोक्यो । त्यसको एक महिनापछि असोज २५ गते मन्त्रालयले मलाई पनि ‘निमित्त प्रमुख’को जिम्मेवारी दियो ।

मन्त्रालयले दुई जनालाई ‘निमित्त प्रमुख’को जिम्मेवारी दिएपछि केही समय विवाद बढ्यो । तर, कात्तिक दोस्रो साता विवाद समाधान भइसकेको थियो ।

यसअघि ठप्पजस्तै बनेको कार्यालयको प्रशासनिक काम सुचारु भइसकेको थियो । शाखा अधिकृत विष्टले मलाई ‘निमित्त प्रमुख’का रूपमा स्वीकारिसक्नुभएको थियो । सोही बेला उहाँ र खरिदार बाबुराम मानन्धर मसँग बिदा स्वीकृत गराउनुभएको थियो ।

तर, नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का नेता तथा सांसद् भीम रावलले विष्टजीलाई फोन गरेर पूर्वाधार क्षेत्र विकास कार्यक्रमको मिटिङ गर्नुपर्ने भन्दै बिदा रद्द गराउन लगाउनुभयो । त्यसपछि उहाँको बिदा रद्द गरियो ।

मिटिङ बस्नुअघि मैले विष्टजीलाई माइन्युट लेख्न अह्राएको थिएँ । मिटिङ कक्षमा नेता रावल, राष्ट्रिय सभाका सदस्य शेरबहादुर कुँवर, शाखा अधिकृत बिष्ट र म प्रवेश मात्रै गरेका थियौं । नेता रावलले हामीसँग प्रश्न गर्नुभयो, ‘तपाईँहरूको विवाद के हो ?’

मैले उहाँलाई समस्या समाधान भएको जानकारी दिए ।

तर, रावलले पुनः यही प्रश्न विष्टजीलाई सोध्नुभयो ।

विष्टजीले जिल्ला समन्वय समितिको सिफारिसबाट सुरुमा मन्त्रालयले आफूलाई निमित्त प्रमुख तोकेको र पछि मन्त्रालयले मलाई निमित्त प्रमुखको जिम्मेवारी दिएको जवाफ दिनुभयो ।

त्यसपछि नेता रावलले आफूलाई जिल्ला समन्वय समितिको निर्णय मात्रै मान्य हुने भन्दै मलाई बैठक कक्षबाट बाहिर निकाल्नुभयो । त्यसपछि म त्यहाँबाट निस्किएँ ।

जिल्ला समन्वय अधिकारी पूर्वाधार क्षेत्र विकास कार्यक्रम निर्देशक समितिको सचिव हुने कानुनी व्यवस्था छ । तर, नेता रावलका कारण विष्टजीले जिल्ला समन्वय अधिकारीकै हैसियतले सम्पूर्ण प्रशासनिक काम गरिरहनुभएको छ ।

त्यति मात्रै होइन, नेता रावलले प्रमुख जिल्ला अधिकारीलाई पनि विष्ट आधिकारिक जिल्ला समन्वय अधिकारी मान्न बताउनुभएको थियो । उहाँले यसबारे मन्त्रालयका सचिव र मन्त्री लालबाबु पण्डितलाई समेत दबाब दिनुभएको बुझिएको छ ।

मैले केही दिनअघि फेसबुकमार्फत् नेता रावलप्रति दुखेसो पोखेको थिएँ । सायद, त्यही कारण नेता रावलले मसँग ‘रिसइबी’ साँध्न खोज्नुभएको होला ।

उहाँले मलाई समितिको बैठक कक्षबाट बाहिर निकाल्ने समयमा पनि भन्नुभएको थियो, ‘तपाईँले फेसबुकमा लेखेको पढेको छु । तपाईँले चार÷पाँच चोटि कल पनि गर्नुभएको थियो । मैले नउठाउनुको कारण यही हो ।’

Tags :
प्रतिक्रिया दिनुहोस