जाजरकोट सिडियोका ६ महिनाका ६ काम ! « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

जाजरकोट सिडियोका ६ महिनाका ६ काम !


प्रशासन विशेष ब्युरो

१४ मंसिर २०७५, शुक्रबार


काठमाडौँ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी(सिडियो)ले आफ्नो छ महिने कार्यकालमा भएका छ वटा उल्लेखनीय काम सार्वजनिक गरेका छन् ।

प्रजिअको जिम्मेवारीमा जाजरकोट आएर काम थालेको ६ महिना पुगेछ भन्दै सुरुवात गरेको प्रजिअ बस्नेत लेख्छन्,-‘ यस अवधिमा नियमित प्रशासन सञ्चालन र सामान्य प्रकृतिका काम बाहेक मुख्य ६ उल्लेखनीय काम गरियो कि भन्ने लाल्छ ।’

उनले पहिलो बुँदामा त्रुटि रहित द्वन्द्व पिडित/विस्थापित राहत वितरण गर्न सफल भएको उल्लेख गरेका छन् ।

खर्च गर्ने अख्तियारी आर्थिक वर्षको अन्तिममा आउने र वास्तविक विस्थापित यकिन गर्न जटिल र झन्झटिलो हुने भएकोले विगत वर्षमा राहत वितरणको कार्य थालनी नै नगरिएको र धेरै जिल्लाहरूमा यस वर्ष पनि नगरेको भए तापनि यस जिल्लामा आर्थिक वर्षको अन्तिम दिनसम्म निरन्तर खटिएर २९१ विस्थापित परिवारका १४४१ जनालाई गरी करिब ३ करोड ५० लाख राहत वितरण गर्न सफल भएको बताएका छन् ।

उक्त नाम सहितको विवरण कार्यालयको सूचना पार्टीमा टाँस गर्नुका साथसाथै सञ्चार माध्यमबाट समेत सार्वजनिक गरिएको थियो ।

दोस्रो बुँदामा प्रभावकारी विपद व्यवस्थापनका बारेमा उल्लेख गरेका छन् । जसअन्तर्गत बाढी पहिरो लगायतका ठुला ठुला विपदले यो वर्ष यो जिल्ला नराम्रोसँग प्रभावित भएको उल्लेख गर्दै सदरमुकाम खलङ्गाकै ठाँटीमा गएको पहिरोमा परी एकै स्थानमा ९ जनाको मृत्यु भयो भने अन्य विभिन्न स्थान गरी जम्मा १४ जनाको मृत्यु भयो । सम्पत्ति क्षति तर्फ ४० करोडभन्दा बढी भएको उल्लेख गरेका छन् ।

जिल्ला विपद व्यवस्थापन समितिको तर्फबाट सबै मृतकका परिवारलाई प्रति मृतक १ लाखको दरले तथा तत्काल गुजाराको लागि थप राहत दिएको र विभिन्न स्थानमा विपदबाट प्रभावित व्यक्तिहरूलाई ४ हजारदेखि ५० हजारसम्म राहत उपलब्ध गराउनुको साथै खाने बस्ने व्यवस्था सहित कतिपय प्रभावितलाई सुरक्षित स्थानमा समेत राखिएको प्रजिअ बस्नेतले उल्लेख गरेका छन् ।

जिल्लाभरि गरी करिब १२५ घरपरिवारलाई गरी २६ लाख ६ हजार रकम राहत स्वरूप वितरण गरियो भने पहिरोमा परी टुहुरा भएका एक बालक सुरेन्द्र परियारलाई शिक्षा, दीक्षा सहित पालन पोषणको लागि एस ओ एस बालग्राम सुर्खेतमा भर्ना गर्न पहल गरिएको छ । यो वर्ष यो जिल्ला बाढी पहिरोबाट अति प्रभावित भए तापनि खोज, उद्धार, राहत तथा पुनस्र्थापनामा जनतालाई राज्य भएको अनुभूति हुने गरी काम गरियो भन्ने ठम्याई छ उनले उल्लेख गरेका छन् ।

तेस्रो बुँदामा सघन बजार अनुगमनका सन्दर्भमा सदरमुकाममा मात्र नभई सदरमुकाम बाहिर नलगाढको दल्ली, कालीमाटी एवं छेडागाढको थलह बजार, शिवालयको छेडा बजार लगायतका ठाउँमा सघन बजार अनुगमन गरी म्याद नाघेका, तौल नपुगेका, बढी मूल्य लिएका एवं कानुन विपरीत सञ्चालन गरिएका सामाग्रीहरू ठुलो परिमाणमा जफत गरी नष्ट गरिएको उल्लेख छ।

चाडबाडमा मात्र नभएर सबै समयमा अनुगमन कार्य अघि बढाइयो । यसै गरी जिल्लाको विभिन्न रुटमा नयाँ भाडा दर निर्धारण गर्नुका साथै त्यसको प्रभावकारी कार्यान्वयन गरिएको उनको भनाई छ ।

त्यसै गरी चौथो बुँदामा नतिजामुखी संस्थागत सुधारका विषयमा लेखेका छन् । कार्यालयको सेवा प्रवाहलाई प्रभावकारी बनाउन कार्यालयको आफ्नै कार्य सञ्चालन निर्देशिका बनाउनुको साथै संस्था दर्ताको लागि नमुना विधान बनाउनुका साथै विभिन्न निवेदनको ढाँचा तयार गर्ने काम गरिएको उनले जनाएको छन् । यस जिल्लामा बारम्बार बत्ती गएर सेवा प्रवाहमा असर पुर्‍याउने गरेको सन्दर्भमा लामो समयसम्ममा बत्ती गएमा पनि सेवा प्रवाहमा असर नपुग्ने किसिमले शक्तिशाली व्याकअपको व्यवस्था गरिएको छ ।

पाँचौँ बुँदामा कानुनको पालनामा कठोरताबारे उल्लेख गरेका छन् । सबैतिर जस्तै कानुन विपरीतका काम यस जिल्लामा पनि नभएका होइनन् तर अपराध गर्ने एवं कानुनको उल्लङ्घन गर्नेहरू ठुला साना सबैलाई कानुन कठघरामा ल्याई कारबाही प्रक्रिया अघि बढाइएको छ ।

र छैटौँ बुँदामा प्रभावकारी सुरक्षा व्यवस्थापनका बारेमा उल्लेख गरेका छन् । सबै सुरक्षा निकायको प्रभावकारी समन्वय र उच्च सतर्कताको कारण यो अवधिमा जिल्लामा शान्ति, सुरक्षाको अवस्था सुदृढ नै रह्यो । विगतको समयमा मेला चाडपर्वको समयमा ठुला, ठुला लडाई झैंझडा हुने गरे तापनि यो वर्ष त्यस्ता खासै ठुला घटना सार्वजनिक नभएको उल्लेख गरेका छन् ।

‘हरेक स्थानीय तहको मुकाममा सम्भव भए स्थायी नभए अस्थायी प्रहरी पोष्ट खडा गर्ने गरी सबै तयारी गरिएको छ । अव शीघ्र वैंकिंग लगायतका सबै आधारभूत सेवा स्थानीय तहसम्म पुगी सबै स्थानीय सरकारहरूले आफ्नै पालिकाको केन्द्रबाट कार्य सञ्चालन गर्ने छन्’ –उनले भनेका छन् ।

र अन्तमा उनले यी कार्यमा सहयोग पुर्‍याउने सम्पूर्ण सरोकारवालाहरूलाई धन्यवाद दिँदै भनेका छन्, – ‘आगामी दिनमा पनि यस्तै सल्लाह, सुझाव , सहयोग र समन्वयको लागि सादर अनुरोध गर्दछु ।’

आफूले सम्पादन गरेका सफल प्रयासहरूलाई यसरी नै सबै कार्यालय प्रमुखहरूबाट सार्वजनिक गर्ने अभ्यासको थालनी पो गर्ने हो कि ? ताकि आम जनताले राज्यले जनताको लागि प्रयास गरिरहेको छ भन्ने महसुस गर्न सकुन र राज्यप्रति जनताको अपनत्व अभिबृद्भि हुन सकोस् ।

उनले यस अबधिमा सम्पन्न गरेका केहि कार्यहरुको तस्बिर पनि राखेका छन् । हेर्नुस तस्बिर:

 

प्रतिक्रिया दिनुहोस