तीस प्रतिशत घर भूकम्प प्रतिरोधात्मक « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

तीस प्रतिशत घर भूकम्प प्रतिरोधात्मक


प्रशासन संवाददाता

७ मंसिर २०७५, शुक्रबार


दाङ । तुलसीपुर उपमहानगरपालिकाले भवन निर्माण आचारसंहितालाई कार्यान्वयनमा कडाइ गर्ने जनाएको छ ।

अहिले भवन निर्माण आचारसंहिता कार्यान्वयन नगर्ने घरधनीलाई उपमहानगरपालिकाले बिजुली बत्तीको र खानेपानीको सिफारिस नदिनेदेखि घर नक्सापास समेत रोक्का गरिदिने गरेको उपमहानगरपालिकाका इञ्जिनियर पवनकुमार योगीले बताए । साविकको नगरपालिका हुँदा नै उपमहानगरपालिकाका धेरै घर नक्सापास नै नभई आफूखुशी निर्माण भएका थिए ।

विनाशकारी भूकम्प आउनुअघि नै साविकको नगरपालिकाले २०७१ साउन १ गतेदेखि भवन निर्माण आचारसंहिता निर्देशिका जारी गरी कार्यान्वयन गरेको थियो । तर अहिलेसम्म उपमहानगरपालिकाभित्र रहेका पक्की घरमध्ये झण्डै ३० प्रतिशत घर मात्र भूकम्प प्रतिरोधात्मक रहेको इञ्जिनीयर योगीले जानकारी दिए । ‘तुलसीपुरमा पुरानो संरचना धेरै छन, पछि निर्माण गरिएका भवनमा निर्माण सामग्री राम्रो प्रयोग भएपनि घर बनाउने तरिका नजानेका कारण भवन भूकम्प प्रतिरोधात्मक छैनन्’, उनले भने ।

हाल उपमहानगरपालिकाभित्र ३१ हजार घरधुरी रहेका छन् । ती मध्ये कम्तीमा छ हजार घर पक्की र अन्य कच्ची रहेको नगरपालिकाका सुचना अधिकारी झरेन्द्र खरेलले जानकारी दिए । छ हजार घरमा कम्तीमा पनि ३० प्रतिशत घरमात्र भुकम्पप्रतिरोधात्मक रहेको उपमहानगरपालिकाले जनाएको छ ।

‘पछिल्ला समयमा निर्माण हुने घरहरुले आचारसंहिता पालना गरेका छन् तर केही वर्ष पहिलेका घर र हाल उपमहानगरपालिका भइसकेपछि थपिएका साविकका गाविसमा निर्माण भएका केही पक्की घरले नक्सा पास नगरी निर्माण गरेका छन्’, खरेलले भने ।

उपमहानरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुले उपमहानगरपालिकाले भवन निर्माण आचारसंहिता कार्यान्वयनलाई अक्षरशः पालना गर्न आम नागरिकलाई अनुरोध गरिएको बताए । उनले आफूखुशी मापदण्ड नपुर्‍याई घर निर्माण गर्दा भूकम्पीय जोखिम बढ्नसक्ने, जीउज्यानको सुरक्षामा खतरा बढ्ने र आर्थिक लगानी पनि त्यसै खेर जाने गरेको भन्दै सबै खतराबाट आम नागरिकलाई बचाउने उद्देश्यले भवन निर्माण आचारसंहितालाई कडाइ गर्ने योजना ल्याइएको जानकारी दिए ।

उनले अब केही दिनभित्रै उपमहानगरपालिका भित्रका घरको अभिलेखीकरण गर्ने तयारी भएको बताए । त्यसबाट एउटा निश्चित् तथ्याङ्क आउने र ती घरलाई के कसरी सुरक्षित गराउने भन्ने बारेमा उपयाय खोजिने उनको भनाइ छ ।

आचारसंहिता कडाइका साथ लागू गर्न उपमहानगरनगरपालिकाले बर्सेनि यहाँका विभिन्न दलका प्रतिनिधि, उद्योगी व्यवसायी, नगरवासीसँग छलफलसमेत गरिरहेको छ ।

त्यसैगरी उपमहानगरपालिकाले यस क्षेत्रका निर्माणकर्मी तथा डकर्मी व्यवसायीलाई पनि पटकरपटक भूकम्प प्रतिरोधात्मक भवन निर्माणका लागि तालीम दिँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस