निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र वातावरणीय पक्ष « प्रशासन
prasaLogo
३ आश्विन २०७५, बुधबार

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र वातावरणीय पक्ष


प्रकाशित मिति : 19 September, 2018 3:22 pm

सन् १९४९ सालमा सर्वप्रथम काठमाडौंमा हवाईजहाज अवतरण गरेसँगै नेपालमा हवाई मार्गको बिज रोपण भएको पाइन्छ । हवाई मार्गको सुरुवातसँगै नेपालको राजनीतिमा पनि यसले आफ्नो स्थान सुनिश्चित गरेको पाइन्छ, चाहे नेपालमा प्रजातन्त्रको स्थापनामा नै किन न होस् । सन् १९५५ जुन १५ मा काठमाडौँ विमानस्थललाई त्रिभुवन विमानस्थल भनी नामाकरण गरियो र उक्त विमानस्थललाई सन् १९६४ सालमा अन्तर्राष्ट्रिय विमानस्थल भएको घोषणा गरियो र तत् पश्चात आजको दिनसम्म विधिवतरूपमा अन्तर्राष्ट्रिय विमानहरू उक्त विमानस्थलमा अवतरण गर्दै आएका छन् । सुरुवाती चरणमा केही कठिनाई परिस्थितिको सामना गर्दै यस विमानस्थलको क्रमगत स्तरोन्नति गरिँदै लगियो र हालको मितिसम्म नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रहेको छ ।

तर, कमजोर पूर्वाधार र सांगठनिक संरचनाका कारण यसको स्तर दिनानुदिन ओरालो लाग्दै गएको छ । कतिपय राष्ट्रहरूले यस विमानस्थललाई कालो सूचीमा मात्रै राखेका छैनन्, उडान भर्न पनि प्रतिबन्ध लगाएका छन् । यही कारणले गर्दा होला, नेपालमा अरु पनि अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता महसुस भएको छ ।

नेपालको राष्ट्रिय गौरवको आयोनाहरूमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पनि परिचित भएको छ । विकासको प्रथम स्तम्भ भनेकै यातायात हो र जसरी अध्ययनले मानिसको जीवनका आयामहरूलाई फराकिलो पार्छ, त्यसरी नै विकासको आयामहरूलाई बढावा दिने कार्य यातायातले गर्छ । सायद त्यसैले होेला राज्यले यातायातको सुविधालाई उच्च प्राथमिकतामा राख्नु ।

केही दिनयता पत्रपत्रिका, अनलाइन समाचारका माध्यमहरू अध्ययन गर्दा कतै न कतै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण थालनीको सुरुवाती प्रक्रियाको खबर पढ्न पाइन्छ । हुन पनि किन नहोस् ? आखिर नेपालले हवाई मार्गको क्षेत्रमा ठूलै फड्को मार्न जो गइरहेको छ । यही विषयले पनि मेरो ध्यानाकर्षण गर्‍यो

अहिले सडकसँगै हवाई यातायातको लोकप्रियता पनि बढिरहेको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल हाम्रो लागि एउटा ड्रिम प्रोजेक्ट हो र जति छिटो निर्माण गर्न सकियो त्यति नै लाभदायक हुने देखिन्छ । यस विमानस्थल निर्माण अघि बढाउनेसँगै विभिन्न प्रश्नहरू उठेका छन् र ति प्रश्नहरूको जवाफ पनि जरुरी देखिन्छ । विशेषतः उक्त निर्माण कार्यलाई वातावरण पक्षसँग जोड्न चाहन्छु ।

उक्त विमानस्थल तराईको दक्षिण–पूर्वी भागमा पर्छ, जुन जंगलको बीच भागमा छ । यसका लागि करिब आठ लाख ठूला रुखहरू काट्नुपर्ने आवस्था आएको छ । एकतर्फ हामी वातावरण संरक्षण र जलवायु परिवर्तनलाई न्युनीकरण गर्दै विकासको बाटोमा अघि बढ्ने कुरा गरिरहेका छौ भने अर्कोतर्फ यति ठूलो मात्रामा रुख काट्नुपर्ने कदम पनि अघि सारेका छौँ । जंगल विनासले बेमौसमी वर्षात्, अम्ल वर्षा, बाढी–पहिरो जस्ता प्राकृतिक प्रकोपले ग्रसित हामी नै छौं । यस्तो अवस्थामा जंगल विनासीकरणले भविष्यमा कस्तो परिणाम ल्याउला ? यसमा सरोकारवालाको ध्यान जानु जरुरी देखिन्छ । जंगलसँग जोडिएका असंख्यौं वनजीवनलाई पनि हामी विस्थापित गर्न गइरहेका छौं । हामीले उक्त स्थानको बदलामा अन्य स्थानमा वृक्षारोपण गर्ने योजना अघि सारेका छौं । तर, सीमित अवधिमा उक्त स्थान त जंगलमा परिणत हुन त सक्दैन ? यसको लागि त निकै समय लाग्छ । तर, आजको दिनमा ति अमुल्य वन्यजन्तुहरूलाई कहाँ स्थापित गर्ने ? यति मात्र होइन, तराईको भूमिगत पानीको स्तर पनि घट्दै गएको अवस्था छ र वन विनासीकरणले आगामी दिनमा मरुभूमीकरणको स्थिति नआउँला भन्न सकिन्न । साथै जैविक विविधतालाई पनि यसले नकारात्मक असर पार्ने देखिन्छ ।

करिब ८० वर्ग किलोमिटरमा निर्माण गर्न लागिएको उक्त विमानस्थलको औचित्यता के होला ? विश्व मानचित्रमा चर्चित एवं सफल विमानस्थलहरूले पनि यति अधिक क्षेत्रफल ओगटेको पाइँदैन । चाहे त्यो भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल होस्, वा मुम्बईको अन्तर्राष्ट्रिय विमानस्थल होस् वा बेलायतको हिथरो अन्तर्राष्ट्रिय विमानस्थल । हिथरो विमानस्थल विश्वको छैटौं व्यस्त विमानस्थल पनि हो । यहाँबाट वार्षिक करिब ७ करोडभन्दा बढी यात्रुहरू यात्रा गर्छन् । यसको क्षेत्रफल १२.२७ वर्ग किमी छ । तर, हामी भने जंगल मासेर ८० वर्ग किमीको विमानस्थल बनाउन गइरहेका छौँ ।

अझ उक्त क्षेत्रफलमा विमानस्थल निर्माणसँगै पुनर्बासको अवधारणा अघि सारेको पाइन्छ । एउटा जीवलाई विस्थापित गरेर अर्को जीवलाई स्थापित गर्नुमा कुनै लाभ देखिँदैन जबकी अन्य विकल्प प्रशस्तै छन् ।

अतः राज्यले निजगढमा नेपालकै सर्वोत्कृष्ट विमानस्थल बनाउन गइरहेको कदमलाई प्रशंसनीय मान्न सकिन्छ । तर, विकासको नाममा दिगो विकासको अवधारणालाई अन्धकारमा राख्नु पनि हुँदैन ।

वि.सं. २०६५ सालमा जलवायु परिवर्तनको असर न्युनीकरण गर्न मन्त्रिपरिषद्ले कालापथ्थरमा बैठक बसेको कुरालाई नकार्न सकिन्न । त्यसैले विमानस्थल निर्माणमा अन्य विकल्पको पनि अध्ययन गरी वातावरणीय हिसावले कम असर पार्ने विकल्प छनोट गर्न आवश्यक छ । र, विमानस्थल चाडोभन्दा चाडो निर्माण गर्नु पनि उत्तिकै जरुरी छ ।

प्रतिक्रिया दिनुहोस