सङ्घीयता भित्रको अनिश्चित निजामती साँझ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सङ्घीयता भित्रको अनिश्चित निजामती साँझ


किशोर अर्याल

२३ भाद्र २०७५, शनिबार


पंके

धेरै थाकेर आएजस्तो छ पानी लिएर आऊ ? पर्दैन । चिया खाने ? भैगो अहिले नबनाउ एक छिन रेस्ट गर्छु पछि खाउँला । घाँटीमा कालो कलेटी परेको सेतो सर्ट फुकाल्दै पंकेले मोजा पनि नफुकाली ओछ्यानमा पल्टियो । सरकारी अड्डामा काम गर्ने पंकज राव को श्रीमतीचाहिँ एउटा प्रतिस्पर्धात्मक निजी कम्पनीमा काम गर्थिन् । कामको बोझ र तौल जे जस्तो भएता पनि सधैँ घरमा पुग्दा श्रीमतीले खासै काम नगरे जस्तो र पंके भने देश विकासको ठुलै काम निम्ठ्याएर आए जस्तो देखिन्थ्यो । उ जमानामा एसएलसी पनि नदिँदै खरिदारको लोकसेवा आयोगको दर्पण पढ्ने गाउँ परिवेशमा हुर्केको पंकेको श्रीमतीलाई भने बिहे गरेपछि मात्र लोकसेवा आयोग पनि हुन्छ भन्ने थाहा भएको रे ।

सुस्ताउदैं श्रीमतीले सोधिन, कस्तो चलिरहेको छ त अफिसको काम काज, हिजोआज कामको अल्लि बढी लोड छ क्या हो ? अं त्यस्तै त्यस्तै छ पंकेले जवाफ दियो । तपाईँको काम चाहिँ के हुन्छ भन्नुस् न ? कामको बारेमा खासै चासो नराख्ने श्रीमतीले त्यस दिन चासो राखेपछि पंकेले हल्कारुपमा भन्यो खासै केही हुन्न । यसो कम्प्युटरमा अलि अलि काम, घरी घरी मिटिंग हुन्छ अनि कोही मान्छे आए भेटघाट त्यत्ति हो । त्यो त टाइम पास भयो, कामचाहिँ के त नि श्रीमतीले पुनः प्रश्न गरिन् । कसैले मलाई तेरो बुढोले के काम गर्छ भनेर सोध्दा पनि थाहा नहुने भो के । पंकेले भन्दियो, कम्प्युटरमा इमेल फेसबुक र अनलाइनका समाचारहरू हेर्छु, दिनको तीन चार पटक मिटिंग हुन्छ तर निष्कर्ष कहिले निस्कँदैन अनि मान्छे सँग भेटघाट हुन्छ देशको दुर्दशा विश्लेषण र नेताहरूको चाहिने नचाहिने बखान अनि राष्ट्रिय निराशाको संश्लेषण, चिया खाजा त्यत्ति नै हो काम । कसैले सोधे भने बुढोले ठुलो काम गर्छन् जसलाई शब्दमा व्याख्या गर्न सकिन्न भनेर भनिदेऊ न । श्रीमती मुसुमुसु हाँस्दै थिए मानौँ आफ्नो बुढोलाई जिस्क्याउन रेडि छ ।

अनि तपाईँहरूको बोसले केही भन्दैनन् यसो गर्नुपर्‍यो, उसो गर्नुपर्‍यो, यस्तो भएन, उस्तो भएन अफिसको पर्फरमेन्स देखिएन, तपांइहरु सबले बेलुका अफिस छोड्नु अगाडी दिनभरि गरेको कामको रिपोर्टिंग गर्नु भनी आदेश दिने थर्काउने गर्दैनन् ? श्रीमतीको प्रश्न सुनेर प्रश्न माथि टाउको हल्लायो तर जवाफ दिएन । अनि तपाईँहरूको अफिसमा एच.आर. हुँदैन (एच.आर. भन्नाले कर्मचारी व्यवस्थापन संकाय भन्न खोजेको) । अनि एच.आर. का मन्छेले केही भन्दैनन् । बिचरा उनलाई के थाहा सरकारी निकायमा सरुवा, बिदा र काजको सवालमा मात्र अति क्रियाशील हुने र अन्य बेला सुस्ताउने एच.आर. सबै सरकारी अड्डामा गमक्क परेको हुन्छ भनेर । पंकेले भन्यो हुन्छ नि किन नहुने तर तिनीहरूलाई अफिसको पर्फरमेन्सको बारेमा खासै चासो हुन्न । अनि अफिसको टार्गेट र गुणस्तर कसरी मेन्टेन हुन्छ त नि ? त्यो त भइहाल्छ नि जसरी भए पनि, त्यसमा शङ्कै छैन ।

श्रीमती : अब तपाईँहरूको सरुवा हुन लाग्या हो र ?

पंके : किन ?

श्रीमती : एक जना साथीले सङ्घीयताले गर्दा उसको बुढोको सरुवा हुने भयो भनेर टेन्सन मान्दै थिई । तपाईँको त केही हुने होइन नि ? श्रीमतीको अनुहारमा आशङ्का भए पनि आशावादी भने थिई । तपाईँले काठमाडौँ छाड्नु भयो भने मलाई झ्याउ हुन्छ नि, के हो र सङ्घीयतामा सबै सरुवा हुनै पर्ने हो ? राजनीतिक कुराहरू, राज्य व्यवस्था र सरकारी संयन्त्रको बारेमा खासै चासो नराख्ने मान्छेलाई बुझाउन झ्याउ हुन्छ भनेर पंकेले त्यो लामो कथा छ पछि भनौँला भन्यो ।

श्रीमती : ह्या भन्नुस् न आज म पनि बुझ्छु के के कस्तो रहेछ भनेर । आफ्नो जागिरको अवस्था बारे अबचाहिँ श्रीमतीलाई भन्नुपर्छ भन्ठान्यो सायद र बेलुका खाना खाने बेला भनौँला भनेर कोठाबाट निस्क्यो ।

श्रीमती : कहाँ जान लाको ।

पंके : आज अलिकति मासु लिएर आउँछु के ।

श्रीमती : आधा किलो टमाटर पनि ल्याउनु ल ।

उता तातो कराइमा पंकेकि श्रीमतीले पट्पट् मास भुट्दै थिइन् यता भने पंकेले चिसो बियरको बोतललाई स्विट्जरल्यान्डमा बनेको चक्कुको उल्टो दांतिले बिर्को खोलेर ग्लासमा हाल्दै थियो । एकैछिनमा मासु आइपुग्यो एक ग्लास तन्काएपछि पंकेको मुड आयो ।

पंके : ल सुन । तिमी हामी स्कुल कलेज पढ्दा खेरि यो देशमा सबैभन्दा ठुलो मान्छेको थियो ?

श्रीमती : राजा ।

पंके : किन फाले त राजालाई अहिले ?

श्रीमती : राम्रो काम नगरेर होला नि त । अहिले सङ्घीयताको बारेमा भन्नुस् न, राजाको कुरा किन चाहियो ।

पंके : त्यही भन्दै छु कि राजाले मनोमानी गर्ने र जनताले सहेर बस्नुपर्ने भएकोले नै जनताले चुनेको मान्छेले शासन गर्नुपर्छ भनेर त्यत्रो आन्दोलन गरेर देशमा गणतन्त्र आयो । बैसट्ठी त्रिसट्ठीको आन्दोलनमा भाग्दा खेरि लडेर एउटा नयाँ पाईन्टनै च्यात्तिएको अनि २ लौरी कुटाई मैले पनि खाए ।

श्रीमती : ल के ल भयो, त्यो कुरा सय पटक सुनिसके सङ्घीयताको बारेमा भन्नुस् न ।

पंके : भन्दै छु के, अनि गणतन्त्र आएपछि के भयो त ?

श्रीमती : प्रधानमन्त्री ठुलो भयो । ए त्यही बेलामा होइन त नि ६०० हो कि ७०० जना संसद् भएका एकै दिनमा चार पाँच वटा बिहे परे पनि भाग लगाएर सबै बिहेमा जन्ती जान पुग्ने हा हा ।
श्रीमतीको प्रश्नलाई पंकेले छोट्याउदै,

पंके : होइन ती सभासद् थिए, तर देशको ठुलो मान्छे जनताकै प्रतिनिधि भए त्यसलाई गणतन्त्र आयो भनियो तर सबै काम कामकारबाही केन्द्रबाटमात्र भए मतलब काठमाण्डुबाट । अव जताततै बराबरी सन्तुलित विकास हुनुपर्छ र जनताको सजिलोका लागि सङ्घीयता भयो भने चाँडो विकास हुन्छ भनेर सङ्घीयता लागु भयो । कति वटा प्रदेश छ रे हाम्रो देशमा अहिले ?

श्रीमती : ७ वटा

पंके : अनि स्थानीय सरकार नि ?

श्रीमती : के थाहा होलान् सय डेढ सय जति ।

पंके : होइन ७५३ वटा छन् ।

श्रीमती : हा हा हा ७५३ सरकार, ती सरकार नै हुन् ? हामी कुन सरकारको जनता त ?

पंकेलाई झ्याउ लाग्यो,

पंके : जुन भए पनि छोड्देऊ ती कुरा । सरकार त बने तर सरकारले काम कसरी गर्छ त ?

श्रीमती : के थाहा ?

पंके : नेताहरूले देशका लागि जे जति काम गर्छन् ती सबै सरकारी कर्मचारी मार्फत नै गर्ने हुन्

श्रीमती : ल त नि ल, तिमि सरकारी कर्मचारी, तिमी ठुलो मान्छे । सङ्घीयताले के भएको हो त्यो भनुन् ।

पंके : त्यही भन्दै छु के, सङ्घीयताको कार्यान्वयन बाट सबै तहमा सरकार र जनताका प्रतिनिधि चुनिए त्यो कुरा फाइनल भयो । अब तिनले काम गराउने कर्मचारी के सरकारी नोकर चाहिएन त ?

श्रीमती : चाहियो

पंके : हो, त्यही अहिले सबै कर्मचारी केन्द्र सरकारका छन्, भन्नाले सङ्घीय सरकारका, अव तिनलाई बाँडेर सबै तहका सरकारकोमा पु-याउने वेला भएको छ क्या । कोही केन्द्रमा बस्ने, कोही प्रदेश सरकारमा जाने अनि कोही स्थानीय सरकारमा जाने ।

श्रीमती : अनि केन्द्रको मान्छे प्रदेश अथवा स्थानीयमा गयो भने बढुवा सरुवा भत्ता सत्ता बढी हुन्छ हो ?

पंके : केही कुन्नि त्यस्तो ।

श्रीमती : त्यसो भए तिमी यही केन्द्र मै बस । मलाई अरू कुरा थाहा छैन तिमी अन्त जाने हैन ।

पंके : मैले चाहेर हुन्छ र !

श्रीमती : बरु नेता सेता लगाएर भए पनि यही बस ।

पंके : त्यही त ! उहाँ मन्त्री प्रधानमन्त्रीहरूले तिम्रै फोन कुरिरहेका होलान् फोन लगाऊ त ।

श्रीमती : अनि कर्मचारी कसरी खटाउछन रे त नि ?

पंके : पहिला संविधानमा लेखिए अनुसार काम गर्ने अफिसहरू कहाँ कहाँ कति हुने भन्ने निर्णय हुन्छ अनि बल्ल कर्मचारी खटाउने हो ।

श्रीमती : कहाँ कति हुने भन्ने फाइनल भयो त ?

पंके : लगभग भयो ।

श्रीमती : कसरी गरे नि त्यो चाहिँ ?

पंके : संविधानको अनुसूचीमा लेखेअनुसार गरे ।

श्रीमती : ठ्याक्क मिलाए त ?

पंके : हा हा, जो ठुलो सङ्गठन छ, जसको पहुँच अल्लि बढी छ, जसले टेबुल ठोक्न सके, जसले दांया वांया गर्न जाने तिनीहरूको चाहिँ चाहना अनुसार नै भयो अरू चाहिँ विना तुक एडजस्ट गरेर मिलाए । खै हाकिमहरूले कुरा गर्दा हाम्रो अफिसलाई अरूहरूले हेपे भनेर भन्दै थिए ।

श्रीमती : कसले हेप्ने ? सरकारी अफिस त सबै एउटै दर्जाका होइनन् र कि त्यहाँ पनि विभेद हुन्छ ?

बिचरा पंकेको श्रीमती लाई के थाहा नेपाल सरकारका अजंगका अफिसहरू कुनै अफिसका सुब्बा खरिदार पनि बाघजस्ता हुन्छन् अनि कुनै अफिसका सहसचिवहरू पनि रुझेको बिरालो जस्तै हुनुपर्छ भनेर ।

पंके : अल्लि धेरै राज्यको ढुकुटी राख्ने अफिसहरू अनि पुलिस र कर्मचारीहरूलाई नै परिचालन गर्ने अफिसहरूको ठुलो फुर्ती हुन्छ र प्राविधिक अफिसहरूलाई खासै कसैले गन्दैनन् ।

श्रीमती : अनि खास विकास गर्ने अड्डाहरू त प्राविधिक होइनन् र ?

पंके : त्यो त हो त तर कर्मचारीहरूमा पनि सामान्य प्रशासनका कर्मचारीहरू मालिक र प्राविधिकहरू खेताला जस्तै हुन्छन् के नेपालको कर्मचारी प्रशासनमा ।

श्रीमती : किन नि त्यस्तो ?

पंके : त्यस्तै छ के यहाँ । शान्ति सुरक्षा, राजस्व सङ्कलन र पञ्जिकरणमा दख्खल राख्ने प्रशासनका कर्मचारीहरू नै नेताहरूका प्यारा हुन्छन् र राम्रो विकास नभए पनि केही फरक पर्दैन । प्राविधिक कर्मचारीहरूले त विकास र परिणाम खोज्छन् तर अपसोच विकास कसलाई चाहिएको छ र यो देशमा । आफ्नो सरकारको पालामा देश धानिदिए पुग्छ त्यसैलाई एडमिनिस्ट्रेसन (प्रशासन) भन्छन् । विकासको वास्तविक चिन्ता कसैलाई छैन ।

श्रीमती : भनेपछि तिमी हेपिएको प्राविधिक कर्मचारी पो प-यौ, बिचरा मेरो बुढो चु: चु:, कहाँ हुने भयो तिम्रो अफिस ?

पंके : थाहा छैन ।

श्रीमती : केही त थाहा होला नि ?

पंके : खै सबै जनालाई एडजस्ट गर्न सकिएन भन्छन् । हाम्रो अफिसमा अहिले भएका कर्मचारीहरू सङ्घीयतामा अटाएनन् अरे ।

श्रीमती : (कौतूहलताका साथ प्रश्न गरिन्) तिमी त अटाउँछौ नि ?

पंके : त्यही त नअटीएला जस्तो छ ।

श्रीमती : (पंकेको श्रीमतीलाई टेन्सन) के अब तिम्रो जागिर नै नरहने भयो ?

पंके : जान्न ओ जान्न, जागिर जान्न नआत्तिए न । तर जे जति अफिस हुन्छन् त्यसमा सबैभन्दा पहिला अनुभवी बुढा पाका पुरानाहरूलाई पठाउने अरे, नयाँहरूको ठेगान छैन भन्छन् ।

श्रीमती : बुढाहरूलाई आरक्षण हो की क्या हो ?

पंके : अं त्यस्तै त्यस्तै लाग्या छ मलाइ पनि ।

श्रीमती : बुढाहरूलाई त हस्पिटलको बेडमा, गाडीको सिटमा, लाइन लाग्नुपर्ने ठाउँमा पो आरक्षण हो त । काम गर्ने अफिसमा त जसले सक्छ उसलाई पठाउने हैन र ?

पंके : त्यस्तो हुन्न के सरकारी अफिसहरूमा, बुढाहरू झन् कति धेरै अनुभवी हुन्छन् । तर सफल कार्यको की असफल कार्यको लागि भन्नेचाहिँ थाहा छैन ।

श्रीमती : भनेपछि तिम्रो जागिरको कुनै ठेगान छैन ?

पंके : अंह । कहीँ न कहीँ त पठाउला नि । जहाँ पठाउला त्यही जाम्ला सरकारको नुन पानी जो खाइएको छ ।

श्रीमती : यस्ता जाबा सरकारी नुन पानी । न गतिलो खान, लाउन र बस्न पुग्ने गरी तलब पाइन्छ न फुर्सद नै मिल्ने । अझ अव त जागिरको पनि ठेगान भएन कहाँ पो जानुपर्ने हो । अनि कहिले हो त जानुपर्ने ?

पंके : जान त यही साउन देखि नै भनेको हो नि खै अझैसम्म कहाँ जाने कहिले जाने केही पत्तो छैन ।

श्रीमती : अहिले त त्यही पहिलाकै अफिसमा काम गरिराको छौ नि ?

पंके : काम त त्यस्तै हो, हाजिर चांई गरेको छु ।

श्रीमती : हांजिर मात्र । हा हा हा । तिमी बिहान बिहानै ठाँटिएर सर्ट पाइन्ट लगाएर दश नबज्दै अफिस जाने त्यही हाजिर गर्न लाई पो हो ?

बिचरा पंके अवाक् पर्‍यो । विगतका केही दिनदेखि पङ्कज त्यस्तो अफिसमा उपस्थित छ जहाँ न कामको विनियोजन भएको छ न तलब नै विनियोजन भएको छ । सार्वजनिक सेवाको सैद्धान्तिक शून्यता भित्र प्रत्येक भोलिको पर्खाइमा १० देखि ५ गरिरहेको छ । राजनीतिले प्रशासनलाई हेप्ने/नगन्ने, कर्मचारीका मुद्दामा संवेदनशीलता नदेखाउने, एउटा सरकारी सङ्गठनले अर्को लाई नगन्ने र साङ्गठनिक अराजकता बढाउने, अनि प्रशासनिक मूलधारका बरिष्ट अधिकृतहरू भने काम भन्दा पनि एटिट्युड देखाउनमा रमाएका कारण यस्तो भांडोभैलो भइरहेको कुरा पंकेले आफ्नो श्रीमतीलाई कसरी बुझाउन सक्थ्यो र ।

श्रीमती : ल ल पिर नगर । काम नै गर्न नपरेपछि त झन् ढुक्क भई गो नि । तलब दिइहाल्ला के रे । मेरो बरु भोलि बिहान साढे ९ मा पुगिन र ५ मिनेट मात्र ढिला भयो भने पनि त्यो दिनको तलब काटिदिन्छ । काम पनि त्यस्तै, कति पो दलाउछन तिमीलाई के थाहा । म खाना लिएर आउँछु चाँडै खाना खाएर सुतौँ ।

श्रीमतीले पंकेलाई चरेसको थालमा खाना ल्याइन अनि भन्दै थिइन् आज भोलि बजारमा मार्सी चामल ट्रेण्डिंग भईराको रैछ, हामी पनि चाखौँ भनेर पकाएको । पहिलो पटक । तर साह्रो महँगो रैछ । कस्तो छ स्वाद ? पंके केही बोलेन । बोल्नै जो भा’छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस