यसरी बनाऔं घरलाई वास्तुदोषमुक्त « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

यसरी बनाऔं घरलाई वास्तुदोषमुक्त


भीमप्रसाद गुरागाँई

२ असार २०७५, शनिबार


वास्तुशास्त्र पूर्वीय दर्शनको प्राचीन शास्त्र हो । वैदिककालमा यसलाई सत्य वेदको संज्ञा दिइएको थियो । आधुनिक युगमा पनि वास्तुशास्त्रको त्यतिकै महत्व छ ।

वास्तुशास्त्रमा वैज्ञानिक दृष्टिकोण लुकेको छ । निर्माण कार्यपूर्व मानिसले सूर्यको किरण, पृथ्वीको चुम्बकीय क्षेत्र तथा भौगोलिक परिस्थितिहरूको ध्यान राख्छन् । ताकि कुनै प्रकारको दुष्प्रभाव गर्ने शक्तिलाई टाढा राख्न सकियोस् ।

वास्तुशास्त्र निर्माण सिद्धान्तका आधारमा बनाएका कुनै पनि निर्माण त्यसको स्वामीका लागि वरदान नै सिद्ध भएको छ । तर, त्यसमा अलिकति पनि तलमाथि भए निजको समृद्धि र शान्तिलाई नै नष्ट गरिदिन्छ । वास्तुशास्त्र प्रकृतिसँग मानिसको दिनचर्याको सामञ्जस्य स्थापित गर्ने एक पौराणिक कला हो ।

प्रकृति पञ्चतत्वमा आधारित छ । यहाँ प्रकृतिको तात्पर्य संसारका सबै चराचर वस्तुहरूसँग हो । मानव जीवनमा जस्तै संसारका कुनै पनि चराचर वस्तुहरूमा यी पञ्चतत्वको असन्तुलन भएको खण्डमा स्वास्थ्य र वातावरणमा नकारात्मक असर पर्छ । निर्माण कार्यहरूमा पञ्चतत्वको सन्तुिलत प्रयोग गरिए शान्ति र समृद्धि हुन्छ भने असन्तुलित प्रयोग गरिए कलह, अशान्ति र नोक्सान हुन्छ ।

वास्तुदोषको कारण रोग, दुर्घटना, अकाल मृत्युलगायत घटना घट्न सक्छन् । तर, यसतर्फ कसैको ध्यान गएको पाइँदैन । किनभने आधुनिक वास्तुशास्त्रीहरू यसको कारण बताउन असमर्थ हुन्छन् ।
तसर्थ निर्माण कार्यपूर्व वास्तुशास्त्रबारे ध्यान पुर्याउनु जरुरी छ । निर्माण पूरा भएको अवस्थामा पनि वास्तुदोष निवारण गर्न विभिन्न उपाय अपनाउन सकिन्छ ।

वास्तुशास्त्र सम्बन्धी केही महत्वपूर्ण जानकारीहरू
– उत्तर वा पूर्व दिशामा बाटो भएको घडेरीमा बनेको घरमा बस्नु उपयुक्त मानिन्छ । यस्तो घरमा बस्ने सदस्यहरू स्वस्थ हुनुका साथै उनीहरूमा समृद्धि बनिरहन्छ ।

– घर निर्माण गर्न आधारशिला (फाउन्डेसन) खन्दा पूर्वबाट सुरु गरेर उत्तर, पश्चिम हुँदै दक्षिणमा अन्त गर्नुपर्छ ।

– बाटोको अन्त्यमा भएको घडेरीमा बनेको घर बस्न अयोग्य मानिन्छ ।

– घरको मुख्यढोका पूर्व, उत्तर वा पूर्वोत्तर दिशामा शुभ मानिन्छ । दक्षिण–पश्चिम दिशामा घरको मुख्यढोका भएको घरमा बस्ने सदस्यहरूमा अशान्ति र स्वास्थ्यमा बाधा बनिरहन्छ ।

– मुख्य ढोका ठूलो भएको घरमा बस्ने सदस्यहरूमा अकल्पनीय घटना घट्ने र स्वास्थ्यमा बाधा बनिरहन्छ ।

– घरको मुख्य ढोका पूर्वोत्तरमा शुभ र दक्षिण–पश्चिममा अशुभ मानिन्छ । यस्तै घरको ढोकाहरू कोठाको भित्रतिर खुल्ने हुनुपर्छ । यसो हुँदा ढोका खोल्दा सकारात्मक ऊर्जा कोठाभित्र प्रवेश हुन्छ । बाहिरतिर खोलिने ढोका राम्रो मानिँदैन । यस्ता ढोका खोल्दा घरको सकारात्मक ऊर्जा बाहिर जान्छ ।

– तनावमुक्त वातावरणका लागि घरका कोठाहरूमा हल्का उज्यालो रंगको प्रयोग उचित मानिन्छ । ज्यादा गाढा पहेंलो, रातो, सुन्तला रङ लगाएको घरमा बस्ने सदस्यहरू बढी उत्तेजित, चिन्तित र निरास हुने तथा दिक्क मान्ने हुन्छन् ।

– सबै किसिमको जमिनभित्रको पानीको स्रोत र यस सम्बन्धित उपकरणहरूको लागि इशानकोण पूर्वोत्तर दिशामा राख्न अति नै उत्तम मानिन्छ । यसो गर्दा परिवारका सदस्यहरू स्वस्थ हुनुका साथै घरमा शान्ति र समृद्धि बनिरहन्छ ।

– घरको दक्षिण–पश्चिम दिशामा कुनै पनि किसिमको पानीको स्रोत इनार, चापाकल र खाल्डोहरूलाई अति नै अशुभ मानिन्छ ।

– घरनजिक तुलसी, केरा, अशोक, नीम, चम्पा, अमला र नरिवल जस्ता बोटबिरुवा हुनु अति शुभ मानिन्छ । यसले घर वरपरको वातावरण शुद्ध बनाउनेसँगै परिवारमा सुख, शान्ति र समृद्धि बनाइरहन्छ । तर, घरनजिक काँडा भएको र दूध आउने बिरुवा लगाउनु हुँदैन ।

Tags :
प्रतिक्रिया दिनुहोस