सवारी सुरक्षाको मापदण्ड नअपनाउने सवारीसाधनलाई पूर्णरूपमा निषेध गर्नुपर्छ « प्रशासन
prasaLogo
१८ श्रावण २०७८, सोमबार
   

सवारी सुरक्षाको मापदण्ड नअपनाउने सवारीसाधनलाई पूर्णरूपमा निषेध गर्नुपर्छ


१७ जेष्ठ २०७५, बिहिबार


नेपालमा सवारी दुर्घटनाका कारण ज्यान गुमाउनेको सङ्ख्या दिनप्रतिदिन बढ्दो छ । सवारी दुर्घटना न्यूनीकरणमा बेलाबेला आवाज उठे पनि घट्न सकेको छैन । सवारी दुर्घटना नघट्नुको कारण के हो ? यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ ? यिनै विषयमा प्रशासन डट कमका एस राज उपाध्यायले पूर्व ट्राफिक प्रहरी उपरीक्षक जगतमान श्रेष्ठसँग गरेको कुराकानी ।

नेपालमा चल्ने सवारी साधन कति सुरक्षित छन् ?
नेपालमा चल्ने ८० प्रतिशतभन्दा बढी सवारी साधनहरू सुरक्षित छैनन् । आइएसओ मान्यताप्राप्त सवारीसाधन भेटेको छैन । ग्लोबल एनक्याब भन्ने एउटा संस्था छ । यसले पनि एप्रोभ गर्नुपर्ने हुन्छ । तर, हामीकहाँ ग्लोबल नेट र एसिया नेटले एप्रुभ नगरेका सवारी साधनहरू छन् । त्यो अविलम्ब रोक्नुपर्छ । किनकि सवारी साधन असुरक्षित भयो भने यात्रुहरू असुरक्षित हुन्छन् । त्यस कारण हाम्रो देशका सवारी साधनहरू सुरक्षित छैनन् ।

कुन सवारीमा कति जोखिम छ ?
मोटरसाइकललाई पनि अहिले मेन सवारीसाधन भन्न थालिएको छ । दुई पांग्रे सवारीसाधन अति नै जोखिमयुक्त हुन्छ । सवारी साधनको जोखिम मापन गर्न कम्पनी र सवारी साधनमा प्रयोग गरिएको उपकरणमा पनि भरपर्छ । त्यस कारण हामीले त्यसको लागि परीक्षण नै गर्नुपर्ने हुन्छ । हामीकहाँ सानो पाताले जोडिएको गाडी मात्रै छन् । प्लास्टिक र रबरका गाडी छन् । कुनै सवारी साधन त्यस्तो ठाउँमा ठोकियो भने त्यो त पूर्णतया असुरक्षित हुन्छ । त्यस कारण कस्तो खालको सवारी राज्यले भित्र्याउने भन्ने एउटा नम्स चाहिन्छ । सवारी साधन असुरक्षित भयो भने अरू क्षेत्र असुरक्षित हुनु स्वाभाविकै हो । त्यस कारण यही र यस्तै भन्ने नभई नेपालमा चल्ने ८० प्रतिशत जति गाडीहरूमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ ।

नामै लिएर भन्नुपर्दा कुन–कुन सवारी साधनहरू सुरक्षाका हिसाबले बढी जोखिमपूर्ण छन् ?
नेपालमा माइक्रोबसहरू सुरक्षित छैनन् । माइक्रोबसहरू सुरक्षितरूपमा बनेको होला । तर, तीव्र गतिमा चलाउनु र क्षमताभन्दा बढी यात्रु राखिनुले माइक्रो बस असुरक्षित बनेका छन् ।

उपत्यकामा निलो माइक्रोहरू गुडिरहेका छन्, त्यो निलो माइक्रो कति सुरक्षित होला ? जसमा पाँच जना मुस्किलले अट्छ, त्यसमा १४ जना राखिँदा पनि राज्यले बेवास्ता गरेको छ । त्यसले धान्न नसक्ने यात्रुहरू बोकिरहेको छ । त्यसको मेट्रियल कस्तो छ ? त्यो त हामीले हेरेकै छैनौँ । त्यत्ति मात्र होइन, कुनै इन्जिन च्यासिस कुन इन्जिनियर वा कुन कम्पनीले जोडेको छ, कुन ग्यारेज वा कुन मोटर मेकानिसले जोडेको छ । त्यसमा पनि हामीले ध्यान दिएका छैनौँ ।

केही अगाडिसम्म तपाईँले फुटबल जस्तो बस पनि गुडेको देख्नुभयो होला । इन्जिनियरले निश्चित ग्य्राबिटी तोकेर बनाएको साधन यहाँ ल्याएर कुनै एउटा वर्कसप वा ग्यारेजले जोडजाड पारेर गुडाउँछ भने त्यो सान्दर्भिक हुन्छ त ? यसतर्फ हामीले ध्यान दिएका छैनौँ । फ्याक्ट्रीमै बनेर आएको सवारी साधनहरू केही हदसम्म बलियो होलान् । तर, यहाँ आएर बनेका सवारी साधनहरूतर्फ कसैको ध्यान गएको छैन ।

सामान्य ग्यारेजहरुमै पनि जोडजाड पारेर गुडाउने गरेका पनि छन् भन्ने सुनिन्छ नि ?
हो, बडीहरू यहाँ पनि बन्छन् । जस्तै ः बस, ट्रकहरू । यहाँ सामान्य पेन्टर, आर्टिस्ट एउटा सामान्य मेकानिकले पनि बनाएको छ । त्यस्तो सवारी साधनहरूलाई हामीले पूर्णरूपमा निषेध गर्नुपर्छ । निषेध गर्न सकिँदैन भने हाम्रो सवारी सुरक्षाको मापदण्डअनुसार बनाउन लगाउनु पर्छ । जथाभाबी बनाएको सवारी साधन सुरक्षित हुँदैन ।

थुप्रै कम्पनीका प्राइभेट कार पनि नेपालमा छन्, के ती सबै यात्राका लागि उपयुक्त छन् त ?
सबै सवारी साधनहरू सुरक्षित छैनन् । त्यसमा मैले अघि पनि भनिसके ग्लोबल एनक्याबको बेवसाइडमा गएर पनि हेर्न सकिन्छ कस्तो सवारी साधन सुरक्षित हुन्छ भनेर । त्यसमा सवारीसाधनको स्ट्यान्डर्ड बारे उल्लेख छ । जुन कुरा कतिपयलाई थाहै छैन ।

चार पाङ्ग्रा गुडेर आएपछि कार भयो । छ पाङ्ग्रा जोडेपछि ठुलो ह्यावी गाडी भयो भन्ने जुन सोच छ त्यही नै गलत छ । त्यत्तिकै दर्ता गरेका छन् । सुरक्षित हुनुपर्ने कुराहरू के–के छन् ? निश्चित मापदण्डहरू के–के हुन् त्यो त हामीले चेक गरेकै छैनौँ । सवारी साधन भएर आइसकेपछि उसले स्वीकृति पाइसकेपछि त्यो सवारी साधन भयो । तर, त्यो गर्न हुँदैन । त्यो गलत हो ।

जोखिमपूर्ण यात्रा गर्न बाध्य हुँदा पनि सरकार मौन, यसको भित्री कारण ?
यसमा राज्यको ध्यान नपुगेकै हो । कतिपय ठाउँमा सुविधा पनि नपुगेको हुन सक्छ, जस्तोः यहाँबाट पोखराका लागि २० ओटा बस चाहिन्छ भने १५ ओटा मात्रै भए भने पनि त्यो जोखिम भयो । किनकि ओभर यात्रु बोक्यो भने त डिसब्यालेन्स भइहाल्छ । सवारीसाधनमा पनि भारबहन क्षमता भनेर तोकेको हुन्छ । त्यो भारबहन क्षमताभन्दा बढी राख्दा त त्यो डिसब्यालेन्स भइहाल्छ । त्यस कारण राज्यले पुर्याउनुपर्ने त्यो सुविधा नदिएर पो हो कि ? कार्यान्वयन गर्ने पक्षले त्यो नचाहेर पो त्यस्तो हुन गएको हो कि ? यदि राज्यले सुरक्षित बनाउन चाहने हो भने बेला बेलामा छड्के चेक गरेर त्यसलाई कन्ट्रोल गर्न सक्नुपर्छ, अनि बल्ल हुन्छ । नभए हुँदैन ।

व्यावसायीले व्यावसायिक धर्म नाघेपछि यो अवस्था आएको हो भन्न मिल्छ ?
सबैलाई अहिले हतार छ, छिटो कमाउनुपर्ने । आफ्नो सवारीसाधनले कति बोक्न सक्छ ? यो कुरा व्यावसायीले बुझ्नुपर्छ । सवारीसाधनको क्षमता र त्यसको इन्जिनियरिङबारे समेत बुझ्न आवश्यक छ । व्यावसायीले छिटो कमाउने ध्येय राखेको कारणले पनि दुर्घटना बढिरहेको छ । सवारीसाधनको शक्ति पनि घटिरहेको छ ।

पलपलको जोखिमपूर्ण यात्राबाट जोगिने उपाय केही छन् कि ?
हामी आफै सचेत हुनुपर्छ । दुर्घटना भनेको धेरै मानवीय गल्तीबाटै हुन्छ । मान्छेले हो जहिले पनि दुर्घटना गराउने । त्यस कारण सडक दुर्घटना रोक्न सकिन्छ । किनभने यो मान्छेले गर्दा नै भएको हुन्छ । यसका लागि मान्छे सचेत हुनुपर्छ । चाहे चालक होस् वा व्यावसायी । त्यसपछि दुर्घटना रोक्न सकिन्छ ।

यसलाई म प्रमाणित पनि गर्न सक्छु । सन् १९७५ तिर युरोपियन युनियनमा वार्षिक ७५ हजारभन्दा बढी गाडी दुर्घटना हुन्थे । अहिले १५–२० हजारमा झारिसक्यो । उनीहरूले प्रत्येक वर्ष पाँच–दश हजारको दरले दुर्घटना घटाउँदै छन् । किनभने त्यहाँ मान्छे र संयन्त्र सचेत भयो । सन् १९७५ र २०१५ को युुरोपियन युनियनको दुर्घटनाको तथ्याङ्क हेर्नुहोस् त, कसरी दुर्घटना घटेको छ । तर, हाम्रोमा ठिक उल्टो छ । यहाँ दुर्घटना बढिरहेको छ । किनकि हामी सचेत भएनौँ । यहाँका जनता सचेत भएनन् । सरकार सचेत भएन । तर, दुर्घटना घटाउन सकिन्छ । त्यसका लागि चेतना जगाउन आवश्यक छ ।

Tags :
प्रतिक्रिया दिनुहोस