हाकिम सा’पलाई नमस्कार ! « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

हाकिम सा’पलाई नमस्कार !


प्रशासन विशेष ब्युरो

१५ बैशाख २०७५, शनिबार


दृश्यः एक
उनी नेपाल सरकारका सचिव तर अवकासप्राप्त । केही महिना मात्रै भयो उनी सेवा निवृत भएको । केही काम विशेषले सिँहदरबार आइपुगेका छन् । आइरन नबसेको पुरानो पाइन्ट, खुइलिनै लागेका खैरो कोटभित्र धमिलो देखिने सेतो सर्टमा देखिएका उनी लुखुरलुखुर हिँडेर एउटा मन्त्रालयतिर जाँदै थिए ।

एकसुरमै हिँडिरहेका उनी खुड्किला उक्लिँदै मुल गेटभित्र प्रवेश गरे । एकछिन अलमलिय जस्तो गरेका उनले टिलिकपिलिक टाउँको नचाए । वरपर यताउती सबैतिर हेरे । नजिकै तीन जना कर्मचारी बसिरहेका थिए । एक जना बसेर, दुइ जना उभिएर गफिँदै थिए । माथिबाट एक जना नासुस्तरका कर्मचारी बाहिर निस्कदै थिए । सचिवसँग जम्काभेटै भएपछि पनि एकछिन तलदेखि माथिसम्म हेरेर उनले विस्तारै सर नमस्कार है भने, उनी एकछिन उभिएर दुइ हात जोडेर नमस्कार फर्काए, तर ति कर्मचारी सुइसुइ अगाडी बढे । एकछिन भलाकुसारी गर्न खोजे झै मुद्रामा देखिएका पूर्वसचिव हेरेको हेरेइ भए ।

आफ्नो भाव कसैले देखि पो हालेकि जस्तो गरेर मुख मिठ्याउँदै उनी भुइतलाबाट मोडिएर पहिलो तत्ला चढ्न खोज्दै थिए, छेउमै बसेका एक जना चालक र दुइ जना कार्यालय सहयोगीतर्फ उनको नजर पुग्यो । सचिवको भाउ देखेर हास्दै गरेका तीनमध्ये दुइले मुन्टो बटार्दै देखे/नदेखेझै गरी कुराकानीलाई निरन्तता दिए भने चालक उनितर्फ हेरिरहे । सचिवले ति दुइजना कार्यालय सहयोगी लगाएत चालकलाई तलदेखि माथिसम्मै हेरे तर कसैले नमस्कार गरेनन् । चालकले फनन्कै एक फन्को लगाएर म माथि पुगेर आउँछु है तिमिहरु बस्दै गर भन्दै अर्कै पट्टिबाट माथि उक्लिन अगाडि बढे ।

केही परपुगेपछि चालकले सचिवतर्फ फर्केर हेरेको त फर्काइ एकैचोटी परेछ, आँखा जुध्ने गरी । तर न चालकले नमस्कार गरे, न सचिवले नै केही भन्ने आँट गरे । यो दृश्य हेरिरहेका सहयोगी द्वयलाई सबैकुरा देखिरहेको भएपनि देखे नदेखेजस्तै गरी आफ्नै गफमा मस्त रहे । सचिव बिस्तारै माथि उक्लिए ।

पहिलो तल्लामै रहेको कुनै सहसचिवको फाँटमा पसे कि या दोस्रो तल्लामा रहेको सचिवकोमा पसे त्यो त थाहा भएन । एकैछिनपछि चालक तल झरे र तिनै पूर्वसचिवकै कुरा गर्दै बसेका सहयोगी साथीहरुलाई सचिव उक्लेको भर्याङतर्फ इसारा गर्दै खै सचिव उक्ल्यो भन्दै हाँसे । सहयोगीद्वयले गयो, नमस्कार माग्न वर्कीफर्की हेर्दै थियो, के को नमस्कार भन्दै गर्दा अर्कोले ईइइइ… गर्छ नमस्कार, नमस्कारै गर्न ढुकेर बस्दा झुकेर नमस्कार गर्दा त देखेर पनि देखे नदेखे जस्तो गरेर हिन्थ्योे, आज त्यसलाई नमस्कार !

हो नि, मुउउउ….। सवारी चालकलाई त मान्छे नै गन्दैनथ्यो । बोकेर घरअफिस पुर्याउनु पर्ने, उसले छोइछिटो झै गर्नुपर्ने ! गर्छ नमस्कार त्यस्तालाई । कतै तिमिहरुले नमस्कार गरिहाल्यौ भने मैले पनि नमस्कार गर्नुपर्छ भनेर यताबाट माथि उक्लेको हो म । तिमिहरुले सोच्यौ होला कामले गयो भनेर ?

छोड् यार यस्ताको कुरा के गर्नु । ए त्यो अँ अघि भन्दै थिइस् नि चालकले भन्छ । ए ए त्यो, अँ सहयोगीले कुरा अगाडी बढाउँछ । तिनै जना पहिलेकै गफमा गफिन्छन् ।

दृश्य दुई
दिउसोको त्यस्तै १२/०१ बजेको समय होला । एक जना ढाँका टोपी ढल्काउँदै पशु सेवा विभाग भित्र प्रवेश गरे । स्पोर्ट सुजमा उलन कोटमा ढल्किँदै आउँदै गरेका उनी नेपाल सरकारका सहसचिवस्तरका कर्मचारी । उनी त्यही विभागमा महानिर्देशक(डिजी) भएरसमेत काम गरिसकेका व्यक्ति हुन् ।

अनिवार्य अवकास पाएको धेरै समय त भएको थिएन, के काम परेछ क्यारे, हिड्दै आइपुगेका थिए उनी । गेटैमा एक जना कर्मचारीसँग जम्काभेट भयो । कुमै ठोक्किने गरी जम्काभेट हुँदा पनि ति कर्मचारीले नमस्कार नगरी देखेनदेखे झै गरी लुइलुइ अघि बढे र अलि अगाडी पुगेपछि बायाँतर्फ मोडे । केही पाइला अघि बढेपछि फर्केर हेर्दा गेटको भित्ताले पूर्व डिजीसाहेव नदेखिने भइसकेका थिए ।

दृश्य र सन्दर्भ
एकै दिन देखिएका यी दुइ फरक स्थानका फरक फरक दृश्यपछि परिसरभित्रै एकजना कर्मचारी मित्रसँग बसेर चिया पिउँदै थिए । त्यही ३० मिनेट जतिको फरकमा हुँदो हो, केही समयअघि भित्र पसेका पूर्वडिजीसा’प विभागको ढोकाबाट बाहिरिँदै थिए । खल्तिबाट केही झिक्दै गरेको जस्तो गरी सुस्त सुस्त बाहिर निस्कँदै गरेको उनको नजर आँगनमा रहेका दुई वटा चिल्ला कारमा अडिए ।

भावुक मुद्रामा देखिएका उनी एकछिन् टोपलिए । आफु हाकिमसा’प हुँदा चढेको सम्झे हुन् सायद । केही सम्झेजस्तो गरी आफुलाइ सम्हाल्दै बाहिर निस्किन अघि बढे । प्राङ्गणमा कर्मचारीको ओहोर दोहोर बाक्दै भएपनि एकआध व्यक्ति, त्यो पनि जम्काभेट भएर डिजीसाप आफैले बोल्न खोजेपछि यसो नमस्कार फर्काइहालौं न त भनेजसरी नमस्कार गर्नेवाहेक भित्रैदेखि श्रद्धाले कसैले पनि नमस्कार गरेको देखिएन ।

उनी लुखुर लुखुर हिड्दै बाहिरिए । यो सबै सदृश्य हेरिरहेका मेरा मित्रलगाएत अन्य कर्मचारीले यसलाई यसरी पुष्ट्याए- हिजो दुइ हात जोडेर निहुरिएर नमस्कार गर्दा एक हात उठाएर ठाडो टाउको लगाउँदै हिड्नेलाई आज कसले नमस्कार गर्छ ? कम्तिमा म सधैँ हाकिमै रहने होइन, भोली रिटायर्ड भएपछि सर्वसाधारण नागरिक नै हुने हो भन्नेसम्म सोचेको भए, जे जस्तो भएपनि हाकिम हुन् आजपनि नमस्कार पाउँथे नि !

अर्को कर्मचारीले थप्दै भने– बाटोमा हिडिँरहेको देख्दा पनि गाडी रोक्न त परै जाओस् टाढैबाट नमस्कार गर्दा पनि नफर्काउने र आफ्नै बाउको सम्पत्ति ठानेर छोइन्छ कि जस्तो गर्नेलाई आज कसले पुच्छ त ? हो कि होइन हजुर, हजुर आफै सोच्नु त उनले म तिर प्रश्न गरे ।

पूर्व डिजीसा’प ढोकाबाट नित्रिइ सकेका थिए । तर चिया गफमा उनको प्रसंग अझै सकिसकेको थिएन । तल्लो दर्जाका कर्मचारी पनि कर्मचारी नै हुन् भन्ने सम्झेको भए आज नमस्कार गरिहाल्छन् कि भनेर कार्यालय सहयोगीलाई फर्कि फर्कि हेर्नुपर्ने अवस्था आउँदैनथ्यो होला ! हाकिम सा’पलाई चेतना भया ।

प्रतिक्रिया दिनुहोस