अस्थायी शिक्षक ‘परीक्षा रोकिन्न’, « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अस्थायी शिक्षक ‘परीक्षा रोकिन्न’,


प्रशासन विशेष ब्युरो

१५ चैत्र २०७४, बिहिबार


काठमाडौँ । चैत २३ लाई तोकिएको अस्थायी शिक्षकको परीक्षा रोक्न माग गर्दै राजधानीमा शिक्षक र विद्यार्थीको दुइटा अनशन चलिरहे पनि शिक्षक सेवा आयोगले नरोकिने जनाएको छ ।

आयोगको कार्यालय भक्तपुर, सानोठिमीमा बुधबार पत्रकार सम्मेलन गरेर अध्यक्ष ताना गौतमले परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए ।

‘परीक्षा बिथोल्न खोजिएको छ, शिक्षा ऐन कार्यान्वयन गर्ने काम आयोगको हो,’ आन्दोलनरत पक्षतर्फ संकेत गर्दै उनले भने, ‘कानुनको पालना गर्न पनि तोकिएको परीक्षा गर्नैपर्छ ।’ आयोगका अनुसार देशभरका ५ जिल्लाका एक सय १६ परीक्षा केन्द्रमा २३ गते दिउँसो १ बजेबाट अस्थायी शिक्षकहरूको परीक्षा हुनेछ ।

शतप्रतिशत अस्थायी शिक्षकलाई सामान्य प्रक्रियाबाट स्थायी गरिनुपर्ने माग राखेर २ शिक्षक र खुला प्रतिस्पर्धाबाट मात्रै शिक्षक स्थायी गरिनुपर्ने मागसहित शिक्षाशास्त्र संकायमा अध्ययनरत ३ विद्यार्थी अनशनमा छन् । शिक्षक र विद्यार्थी दुवैले तोकिएको परीक्षा रोकेर नयाँ प्रक्रियामा जानुपर्ने माग राखेका हुन् । अनशनरत पक्षको माग सम्बोधन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलको संयोजकत्वमा ३ सदस्यीय वार्ता समिति गठन गरेको छ । आयोग अध्यक्ष गौतमले धेरै शिक्षक परीक्षा दिन तयार भए पनि ऐनमा नसमेटिएकाहरूले आन्दोलन गरेर परीक्षा बिथोल्न खोजेको आरोप लगाए । ‘आन्दोलन गर्नेमा परीक्षा दिन पाउने शिक्षक कम छन्,’ उनले भने, ‘२०७२ पछि अस्थायी सेवामा प्रवेश गरेका, राहत र विस्थापित शिक्षकहरू बढी छन् ।’ २०७२ अघि अस्थायी सेवामा प्रवेश गरेका शिक्षकको आवेदन लिएर परीक्षा लिन लागिएको हो । ७५ प्रतिशत अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरेर २५ प्रतिशतका लागि खुला प्रतिस्पर्धा गराउने सरकारको तयारी छ ।

६ लाखभन्दा बढी विद्यार्थी अध्यापन अनुमतिपत्र लिएर खुला प्रतिस्पर्धा गर्न तयार रहेको अवस्थामा आन्तरिक प्रतिस्पर्धा हुन लागेको भन्दै विद्यार्थी आन्दोलित भएका हुन् । शिक्षा ऐनको आठौं संशोधनमा ४९ प्रतिशत शिक्षकलाई मात्रै आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने प्रावधानलाई नवौं संशोधन गरेर ७५ प्रतिशत बनाइएको हो ।

४९ प्रतिशतलाई वृद्धि गरेर ७५ प्रतिशत बनाउँदा २ हजार ७ सय ५६ शिक्षक आन्तरिक प्रतिस्पर्धामा थपिएका छन् । उनीहरूलाई न्यूनतम ४० प्रतिशत अंक ल्याए स्थायी हुने र परीक्षामा फेल भए सुविधासहित बिदा दिइने ऐनमा व्यवस्था छ । प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहमा २२ हजार ७६ पदमा विज्ञापन गरिएको थियो जसमा २३ हजार ३ सय शिक्षकले आवेदन दिएका छन् । तीमध्ये प्राथमिक तहमा विज्ञापन गरिएको पदभन्दा ३ सय ३३ मात्र कम आवेदन परेको छ ।

प्राथमिक तहका परीक्षामा सम्मिलित हुने अस्थायी शिक्षक ४० अंक प्राप्त गरे स्वतस् स्थायी हुनेछन् । निम्नमाध्यमिक र माध्यमिक तहमा विज्ञापन गरिएको पदको क्रमशः ५ सय ३० र १ हजार १३ बढी शिक्षकले दरखास्त दिएका छन् ।

२३ गतेको परीक्षा सक्दा १० हजारभन्दा बढी शिक्षकको दरबन्दी रिक्त हुने आयोगको तथ्यांक छ । ‘परीक्षा सम्पन्न भए तत्कालै खुला प्रतिस्पर्धाका लागि विज्ञापन गर्ने वातावरण मिल्छ,’ आयोगका प्रशासकीय अधिकृत तुलसीप्रसाद थपलियाले भने । परीक्षामा फेल हुने शिक्षकको दरबन्दीमा फेरि अस्थायी शिक्षक नियुक्त हुने सम्भावना रहेकाले तत्काल खुला प्रतिस्पर्धा गरेर स्थायी शिक्षक राख्नुपर्ने उनले बताए । ‘परीक्षा सकेर असारभित्र परीक्षाफल निकाल्छौं,’ उनले भने, ‘त्यसपछि खुला प्रतिस्पर्धा गराउने बाटो खुल्छ ।’आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस