अब छोपिएको केही छैन.. « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अब छोपिएको केही छैन..


प्रशासन विशेष ब्युरो

१० चैत्र २०७४, शनिबार


सन् १९२९ मा भर्जिनिया वुल्फले एक अत्यन्त महत्वपूर्ण किताब लेखिन् ए रुम अफ वन्स ओन । स्वास्नी मान्छेको बुबाको घर, श्रीमानको घर, भाइको घर, मामाको घर, छोराको घरमा बास हुन्छ । स्वास्नी मानिसको आफ्नो कुनै घर हुँदैन । उनीहरु अरुकै घरमा बस्नुपर्छ । स्वास्नी मानिस निजी रुपैयाँ पैसा धन सम्पत्ति हुँदैन, उनीहरुको आफुखुसी जीवनयापन हँुदैन, उनीहरुको आफ्नो कुनै प्राइभेसी हुँदैन ।

स्वास्नी मानिसको लागि नितान्त आफ्नो, बिल्कुलै छुट्टै, जहाँ कोही उसलाई दुःखदिने नहोस्, जहाँ कसैलै हस्तक्षेप गर्न नसकोस्, त्यस्तो घर अत्यन्त आवस्यक छ । यो कुरा भर्जिनिया उल्फले धेरै पहिले बताएकी थिइन् । आज पश्चिममा केटीहरुलाई एक्लै बस्ने मौका र परिवेश प्राप्त भैसकेको छ ।

हिजो आज स्वास्नी मानिस पहिले भन्दा कहीँ अधिक आत्म निर्भर भैसकेका छन् । समाजबाट संस्कारको भुत धेरै अघि नै गायव भैसकेको छ । तर पूर्वको अवस्था अत्यन्त नाजुक छ । पूर्वका स्वास्नी मानिसलाई अहिले पनि पितृ तन्त्र, धर्म र सात सय किसिमका संस्कारको जाँतोमा पिसेर समाप्त गरिन्छ ।

समाज सुधारकहरुले स्वास्नी मानिसको शिक्षा, यहाँसम्मकी आत्म निर्भरताको पनि व्यवस्था गरिदिएका छन् । तर यसबाट स्थितिमा के कुनै परिवर्तन आएको छ ? कति स्वास्नी मानिस आज आफ्नो घर कोठामा पूर्ण रुपले आफ्नै किसिमले एक्लै र इच्छा अनुसार एकाकी जीवन बाँचिरहेका छन ? कति महिलालाई एस्तो स्वतन्त्रता प्रप्त छ वा स्वेच्छाचारको सुविधा छ । उ आप्mनो कमाइले आफ्नो घर, आफ्नो गृहस्थी बनाओस् एक्लै घुम्ने सुविधा प्राप्त होस्, आफ्नो इच्छा अनुसारको काम गरोस् ? कुनै कुनै स्वास्नी मानिस जो एस्तो जीवन विताउन अघि बढ्छन् तिनीहरुलाई पूरुषका समुह समुह दिन रात सल्लाह सूझाव दिन सक्रिय हुन्छन् । त्यसैलै स्वास्नी मानिसहरु एक्लै बस्नुको साँचो सुख भोगबाट बञ्चित हुन पुग्छन् ।

एक युग भन्दा अधिक समयदेखि म एक्लै बसिरहेकी छु र मैले एक्लै बस्नु, कुनै घटना या कतिपय घटनाको परिणम होइन । एक्लै बस्ने मरो सपना थियो । मैले त्यो सपना साँचो बनाइ सकेँ । म माथि कम समस्याहरु आएनन् म एक्लै बस्ने छु, आजदेखि कुनै पुरुषसँग बस्ने छैन भन्ने निर्णय लिएपछि भाडामा घर लिन सम्पूर्ण शहर घुम्दै हिडे ।

तर घर के पाइन्थ्यो र ? कति घर धनीले घृणाले मलाई लखेटिदिए । उनीहरुले पहिले त आतङ्कित आँखाले मलाई टाउकोदेखि खुट्टासम्म घुरेर हेरे, एउटी एक्ली महिला घर भाडामा लिन आएकी छे ? म डाक्टर हँ । सहरको ठूलो अस्पतालमा काम गर्छु । मसँग भाडा तिर्न सक्ने पूर्ण क्षमता छ । यी सबै कुरा थाहा पाएपछि पनि कुनै घर धनी मलाई आफ्नो घर भाडामा दिन तयार भएनन् । कारण थियो मसँग कुनै पूरुष अभिभावक थिएनन् । न बुबा, न भाइ, न श्रीमान । धेरै घुमफेर र मिहिनेत गरेपछि बल्ल मैले एउटा घर पाएँ । पुरुष विना पनि मलाई बस्न दिइयोस् भनेर मैलै घरमालिकसँग हात जोडर अनुग्रह गर्नु पर्यो । अन्त्यमा घरमालिक सहमत भए । तर उसले भन्यो ठीक छ पूरुष नभएपनि हुन्छ । तर एक्लै बस्न पाइने छैन, कसै न कसैसँग बस्नै पर्छ ।

मैले कसै न कसैसँग बस्नै पर्छ, किनकि म महिला हुँ, स्वास्नी मानिस जातकी हुँ । स्वास्नी मानिस त शरीर हुन्छन् । लोभ लाग्दो शरीर । शरीर बाहेक उ केहि हुँदिन । पुरुष ययस शरीरलाई लोभी आँखालै हेर्छन् । पुरुषको पहरा हुँदो हो त स्वास्नी मानिसको कुमारीत्व समाप्त हुन्छ । सतीत्वलाई समस्या पर्छ । जस्तो आधा खाएर आँगनमा फालेको अनारसका टुक्रामा झिँगा भुनभुनाउन थाल्छ । संसारमा एक्लो स्वास्नी मानिसलाई कसले हेर्न चाहन्छ र ? घरव्यहारमा एक्ली स्वास्नी मानिसको नाम सुनेर मानिस डर र लाज, दुवै दृष्टिले काँप्छन् ।

स्वास्नी मानिसले एक्लै बस्नै हुन्न । असल स्वास्नी मानिस एक्ली बस्दिनन् । अभद्र बजारिया स्वास्नी मानिस, वेश्याहरु एक्लै बस्छन् । म भए प्रसिद्ध अस्पतालकी ब्यस्त डाक्टर ! तथापि म एक्लै बस्थें त्यसैले टोलका मानिसहरु आँखा खुम्च्याएर राक्ष्यसी हाँसो हाँस्थे, मानौं उ कुनै वेश्यालाई हेरिरहेको छ । यस्तो हुन्थ्यो उनीहरुको हाँसो !

मैले आमालाई आफुकहाँ लिएर आएँ । तर जस्ती ‘एक्ली स्वास्नी मानिस’ त्यस्तै ‘दुई स्वास्नी मानिस’ । त्यस घरमा धेरै दिनसम्म बस्न मेरा लागि सम्भव भएन । छरछिमेकिहरुको नाक खुम्च्याइँबाट पिडित भएर घरमालिकले मलाइ घरबाट लखेटीदिए । एक्ली केटी अर्थात् स्वास्नी मानिसलाई कसैले आश्रय दिदैनन्, प्राण प्रिय साथी पनि तेतिबेला खुसुक्क भाग्छन् । महिनौँसम्म मैले होटेलमा बस्नुपर्यो ।

‘म एक्लै बस्ने छु’ यस दृढताका कारणले मात्र बस्न सकेँ । त्यसबेला ममा यास्तो जिद्यीपन थियो कालो अँधेरी रातमा पनि कुनै दुर्गम जङ्गल पार गर्नसक्छु । समुद्रको बरफ जस्तो पानी पौडेर पार गर्न सक्छु । समाजका असभ्य नियमहरुले मलाई पटक पटक चिर्ने पयास गरे, यति हुँदाहुँदै पनि मैले आफुलाई अटल–अडिग राखे ।

यस भयंकर नारी विद्वेषी समाज म पूरुषलाई अस्वीकार गरेर, स्वास्नी मानिसले एक्लै बस्नु कति जोखिमपूर्ण हुन्छ, यो तथ्य मैले आफ्नो जीवन समर्पण गरेर बुझेँ । त्यसै किसिमका अन्य दुःख कष्ट झेल्नुका साथै लात घुस्सा थप्पड खाइसकेपछि अन्ततः म कुनै सभ्य टोलमा एक अपार्टमेन्ट लिन बाध्य भए । मैले सोचेकी थिएँ अब कुनै झन्झट झमेला हुने छैन, अब मैले कुनै विद्रुप, कुनै रमिताको शिकार हुनुपर्दैन । तर त्यतिबेला भयो, जब मैले एक युवकसँग प्रेम गर्न थालेँ । यो केटा कोहो ?’ के नाता छ त्यससँग ? मेरो उत्तर थियो – उ मेरो प्रेमी हो ।’

प्रेमी ? प्रेमी मानौँ कुनै शब्द नभएर बम हो । आफ्नो प्रेमीलाईसँगै लिएर म घुमुँ फिरुँ, कहिलेकाहीँ मेरो प्रेमीले मेरो घरमा रात बिताउन्, यो कुनै पनि व्यक्ति सहन सक्तैनथे । सत्य त यो थियो तथापि म एक्लै बस्थेँ त्यसैले छरछिमेककीको आँखाले मलाई अलि बढीनै नियाल्थ्यो ।

होइन ! कसैले गरेको कुरा कटाइ न कसैको आदेश र क्रोधविरुद्ध, रिसाएर मैले घुडा टेकिनँ । मलाई जे राम्रो लाग्थ्यो विना हिच्किचाहट त्यहिँ गरिरहेँ । त्यो पनि आफ्नो मेरुदण्ड सोझो राखेर । एकदम सोझो ! टाउको ठाडोपारेर ! न म कसैको खान्थे, न लगाउँथे । म जेसुकै गरुँ, जोसुकैसँग सुतुँ, कसको बाउको के जान्छ ?

धेरै बढी पूरुष नहोलान्, मैले धेरै पूरुष देखेकी छुँ । के एउटै पूरुष काफी छै्रन ? तथापि एउटै पूरुष धेरै होइन, त्यसैले सौखले अर्को पनि हेरेँ । मैले देखेँ सबै एकै जस्ता हुन्छन् । औँलामा गन्न लायक बस्, केहि दिन प्रेम । दुवै मात्र एकअर्काका लागि । तिमी बिना म बाँच्न सक्दिनँ । तिमीलाई नपाए आत्म हत्या गर्नेछु । आदि ! आदि ! पछि फेरि जस्ताको तस्तै ।

मखुण्डो चिरेर बुबा बाजे प्रकट हुन्छन्, साँचो रुप देखबाउँछन् । साथै बस्न सुरु गर्नु भन्दा पहिले पूरुष, नारी पूरुषको समान अधिकार, दुई हजार प्रतिशत विश्वास व्यक्त गर्दछन् । स्वास्नी मानिसको स्वतन्त्रताको तिनीहरु संसारमा एक नम्बरका पक्षधर हुन्छन् । तर जब सँगै बस्न सुरु हुन्छ, त्यसपछि पूरुष महाशय बसी–सुती आराम गर्न लाग्छन् । हुकुम दिन थाल्छन् – बाघको दुध चाहियो, जिराफको टाउको चाहियो । यी सारा फर्माईस पुरा गर्नैपर्छ, सबै चिज जुटाउनै पर्छ, किनकी उनीहरु पूरुष हुन् । दुवै तिघ्राको बीचमा ३ वा ४ इन्चको एक खास चिज छ उनीहरुसँग । उनीहरुका तर्फबाट आफ्नालागि धेरै धेरै माग हुन्छन्, त्यस भन्दा पनि बढी मेरो आफ्नो लागि ‘नमागुन्’ भन्ने अपेक्षाहरु !

ती महाशयहरु चाहँदैनन् उ बाहेक, कुनै अरु पुरुषसँग, म तोकिए भन्दा बढी समय कुरा गरुँ । उसको अनुमति बिना म जहाँ पनि जाउँ, जे पनि गरुँ, ती महाशय, जसरी पनि होस्, मलाई आफ्नो मुट्ठीमा दबाएर आरामदायका, सुखी जीवन बिताउन चाहन्छ । उनको चिप्लो मुठ्ठीमा मेरो सास बन्द होला जस्तो भएको छ, मलाई सास लिन अप्ठ्यारो भइरहेको छ, यो कुरा उनको बुद्धिमा आउँदैन ! उनको बुद्धिमा केही पनि आउँदैन, किनकी उ सँग ३-४ इञ्चको जुन विशेष चीज छ । त्यो क्षुद्र चीज, मान्छेको बुद्धिलाई समाप्त गरिदिन पर्याप्त हुन्छ ।

जे होस, जबसम्म बुद्धिले काम गर्ने छ, त्यस दिनसम्म म एक्लै बस्ने छु । पागल नभएको भए कुनै पनि महिला के कुनै पुरुषसँग बस्थी होली ? कुनै कुनै महिलामा जापनबुझी न, पुरुषको हातको खेलौना बन्ने इच्छा जाग्छ । ती सबै महिलालाई जन्मैदेखि त्यसै किसिमले रचिन्छ, बनाइन्छ । तर एक समय म त्यस बिरुद्ध उभिएँ । होइन, म खेलौना बन्दिन, ‘माल’ बन्दिनँ । त्यसो भए म बन्ने छु के ? मानिस बन्ने छु । म ‘म’ नै बन्ने छु । मेरो यो संकल्प सर्वत्र थियो ! सर्वाङग थियो ।

पुरुषलाई म आफ्नो घर ठाँउ दिन्नँ, तर यसको अर्थ यो पनि थिएन, म पुरुषसँग प्रेम गर्न चाहँदिन । प्रेम बिना त म एक क्षण पनि रहन सक्दिनथेँ । तथापि म समलिङ्गी होइन, त्यसैले सुदर्शन पुरुषहरुप्रतिको आकर्षणलाई म रोक्न सक्दिनँ ।

त्यस्तो सुदर्शन व्यक्ति यदि विद्या बुद्धिमा, हार्दिक प्रतिभामा, हाँसो–ठट्टामा, कौतुहलतामा असाधारण भएमा त्यस्ताको प्रेम नबाँधिई म बस्न सक्दिनँ । मेरो प्रेम, दिन रातकै हुन्छ । यहाँका पुरुष त प्रेमलाई मात्र एक – दुई घण्टाको सम्झिन्छन् ।

समय सुविधा हेरेर, श्रीमतीबाट लुकीछुपि, घरबाहिर कुनै केटीका ओठ टोकेर, स्तन चिमोटेर, स्वास्नी मानिसमाथि आफुलाई फ्याक्नुलाई प्रेम सम्भन्छन् । तर म यस्तो सम्झिन्नँ । म त प्रेमको अर्थ ‘दृढप्यासन’ सम्झन्छु । म चाहन्छु यस्तो प्रेमी, जो मेरो सबैभन्दा घनिस्ट साथी होस्, जो सँग म जिन्दगीका सबै सुख–दुःख, दिन होस् या रात भन्न सुन्न सकुँ । जो झुठो नहोस्, धोकेबाज नहोस्, जसप्रतिको प्यास कहिल्यै नमेटियोस्, जसलाई पाएर म संसार आफन्त भुल्न सकूँ र जो सँग मलाई सारा संसार प्राप्त होस् । जो मेरो साथ होस् । जो मेरो साथ हुन्छ, मेरो छेउ हुन्छ, जोसँग म हर्क क्षण कल्पनाको आकाशमा शीर्ष–सुखमा उडान भरुँ ।

नजिक रहनुको अर्थ उसँग प्रत्येक रात मैले ओछ्यानलाई बाँड्नु अथवा एउटै कोठामा बस्नु होइन । जो हृदयमा हुन्छ उ सयौँ माइल टाढा किन नहोस्, हृदयमा नै हुन्छ । जब मेरो मनले इच्छा गर्ने छ, म उसँग शारिरीक सम्बन्ध राख्ने छु । चाहे आफ्नै घरमा होस चाहे अन्त कतै !

तर रातको बाह्र बजेभित्र उसले मेरो घरबाट निस्किसक्नु पर्ने छ । होइन, म उसलाई बेइज्जत गरेर निकाल्ने छैन । मायाले चुम्दै चुम्दै उसलाई ढोका देखाउने छु । हो, कहिलेकाहीँ उसले मसँग रात पनि बिताउन सक्छ, तर मेरो घरको पाहुना बनेर होइन, सदस्य बनेर होइन । यो मेरो निर्णय हो म कुनै प्रेमीसँग त्यतिबेलासम्म एकसाथ बस्ने छैन, जबसम्म मेरो त्यस प्रेमीको मस्तिष्कबाट पुरुषतन्त्रको आखिरी कण पनि झरेर निशान विहीन नहोस् । किनकि एकैसाथ बस्ने वित्तिकै पुरुषको असली रुप, केही दिनमै यस्तो विकट रुपमा प्रकट हुन्छ कि उ आफुलाई पति सम्झीन सुरु गर्छ र पति स्वास्नी मानिसमाथि जुन किसिमको शारिरीक मानसिक अत्याचार गर्छ, त्यस्तै गर्न थाल्छ । त्यसैलै यस घोर पुरुषतान्त्रिक समाजमा सँगै बस्नुभन्दा, म अत्यन्त गम्भीरतापूर्वक बेग्लाबेग्लै बस्नुमा विस्वास गर्छु । पश्चिमका पुरुषशरुबारे मेरो आदर्श यहि हो, पूर्व पश्चिमका पुरुषहरुको आनुहारमा सुरु सुरुमा केही भिन्नता हुन्छ । तर पुरुष मुलतः एकैजस्ता हुन्छन् उनीहरु भित्रको मसला, माल सामान एउटै हुन्छ ।

एक्लै बस्नुको सुख मलाई थाहा छ । एक्लै बस्दा आत्मविश्वास बढ्छ, आफुप्रति श्रद्धा बढ्छ । एक्लै बस्दा मनको शक्ति बढ्छ, नाता सम्बन्धि धारणा गहिरो बन्छ । एक्लै बस्दा अर्कालाई तृप्त गर्नका लागि गुलामी गर्नु पर्दैन । यस्ता कुनै जिम्मेवारी हुँदैन । स्वतन्त्रताको साँचो अर्थ हामी थाहा पाउछौँ । एक्लै बसेर जिन्दगीको सम्पूर्ण सूख भोग्न सकिन्छ । जिन्दगी त सबै मानिसलाई एउटै प्रप्त भएको हो र सबै प्राप्त हुँदाहुँदै पनि सम्पूर्ण हो हल्ला, हङ्गामाको अन्त्यमा मानिस एक्लो नै त छ ।

तसलीमा नसरीनको आइमाईको कुनै देश छैनबाट

प्रतिक्रिया दिनुहोस