झापा । प्रहरीले प्रमाणसहितको अनुसन्धानका लागि सहजता होस् भन्दै झापाको मुख्य बजार बिर्तामोडका प्रत्येक टोलटोलमा सिसी क्यामेरा जडान गरेको छ ।
दिन प्रतिदिन बिर्तामोड क्षेत्रमा आपराधिक क्रियाकलाप बढ्दै गएपछि स्थानीय निकाय, उद्योगी व्यवसायी र विभिन्न संघ संस्थाको सहयोगमा प्रहरीले पूर्व–पश्चिम राजमार्गसहित बिर्तामोडका प्रत्येक टोल–टोलमा सिसी क्यामेरा जडान गरेको हो ।
झण्डै ३० लाखको लागतमा यहाँका ५० बढी ठाउँमा सिसी क्यामेरा जडान गरिएको छ । जडित सिसी क्यामेराको अनुगमन जिल्ला ट्राफिक प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय र सिसी क्यामेरा जडित टोल समितिबाटै गर्न सकिने व्यवस्था मिलाइएको छ ।
सिसी क्यामेरा जडान गर्दा प्रहरीलाई आपराधिक गतिविधिमा संलग्नलाई पक्राउ गर्न सहजता हुने र प्रमाणसहितको अनुसन्धानमा सहयोग पुग्ने अपेक्षा गरेपनि आपराधिक क्रियाकलापमा संलग्नले नयाँनयाँ तरिका अपनाउँदै अपराधका घटना दिनहुँजसो घटाउन थालेपछि प्रहरीलाई थपिएको सुरक्षा चुनौतीमा भने अझै कमी आएको छैन ।
एक साता अघि आँगन एफएमका समाचार वाचक मदन संग्रौलाले बिर्तामोडको भद्रपुररोडस्थित अन्नपूर्ण चोक नजिक रहेको अफिसको प्यासेजमा मोटरसाइकल राखेर समाचार भन्न रेडियो स्टेसन छिरे । समाचार वाचन गरिसके लगत्तै उनी घर फर्कन अफिसबाट ओर्लनु भयो तर उनको मोटरसाइकल राखेको ठाउँमा थिएन । लगत्तै उनले प्रहरीमा उजुरी दिए तर उनको मोटरसाइकल अझै भेटिएको छैन ।
त्यस्तै चन्द्रगढी निवासी अधिवक्ता दीपेन्द्र भट्टराईको पनि यसै साता बिर्तामोडबाटै मोटरसाइकल चोरी भयो । उनको मोटरसाइकल संवाद समूहको सचिवालयबाटै चोरी भएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दर्ता गराएको छ । तर उनको पनि मोटरसाइकल भेटिएको छैन ।
चालू आवको यो अवधिमा संग्रौला र भट्टराईसहित ५४ जनाको मोटरसाइकल चोरी भएको इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दर्ता भएको प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले बताए ।
विशेष गरी पार्किङ गरेर राखेको ठाउँबाट मोटरसाइकल हराउने गरेका छन् प्रहरी निरीक्षक विष्टले भने – ‘उजुरीका आधारमा खोजतलास गर्दा केही मोटरसाइकल फेला परे पनि सबै मोटरसाइकल फेला पार्न सकिएन ।’ १२ वटा बेवारिसे अवस्थामा भेटिएका मोटरसाइकल सवारी धनीलाई बुझाइएको छ भने छ वटा भन्सार पठाइएको प्रहरी निरीक्षक विष्टले बताए । प्रहरीले फेला पारेका मोटरसाइकल कोशीपारि, कोशीपारिबाट चोरिएका मोटरसाइकल पूर्वमा फेला पर्ने गरेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल मात्रै नभई बिर्तामोडमा नगद तथा गरगहना चोरीका घटनामा पनि कमी आउन सकेको छैन । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार साउनदेखि माघसम्म गरगहना र सामान चोरीका दर्जन बढी उजुरी परेका छन् ।
भारतसँगको खुल्ला सिमानाका कारण चोरीका घटना नियन्त्रणमा हामीलाई चुनौती छ– प्रहरी नायब उपरीक्षक कोइरालाले भमे – बिर्तामोड क्षेत्रमा आपराधिक गतिविधि हुन नदिन नयाँनयाँ सुरक्षा रणनीति अपनाए पनि आपराधिक गतिविधिमा उल्लेख्य कमी भने आउन सकेको छैन ।
बिर्तामोड पूर्वको व्यापारिक केन्द्र भएको र धेरै जिल्लाबाट व्यवसायका लागि मानिस यहाँ आउने गरेको कारण नगरमा कस्ता मानिसको बाहुल्यता छ तथ्यांक राखिनु पर्ने बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बताए । खुल्ला सिमाना, विलाशी जीवनशैलीलगायतका कारणले पनि आपराधिक घटना बढेका हुन् । यसको नियन्त्रण गर्न कस्तो रणनीति अपनाउनु पर्छ भन्ने विषय सम्बन्धित निकायको ध्यान केन्द्रित हुन आवश्यक छ ।
बिर्तामोड नगर क्षेत्रबाटै व्यवसायी अपहरण र हत्याजस्ता जघन्य अपराधका घटना घट्न थालेपछि व्यवसायीसहित बिर्तामोडका बासिन्दा भयरहित वातावरणमा बस्न नसक्ने अवस्था सिर्जना भएको नेपाल सुनचाँदी व्यवसायी संघ झापाका अध्यक्ष राजु धमलाले बताए । उनले भने –‘यहाँका सम्पूर्ण नागरिकको जनधनको सुरक्षाका लागि नगरपालिकाले पनि नगर प्रहरीको व्यवस्थापन गर्न जरुरी छ ।’ रासस