काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल) सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत अलाइन टेप्लिज्ले आज शिष्टाचार भेटवार्ता गरेकी छन् ।
गृहमन्त्रालयमा भएको भेटमा दुई देशको सम्बन्ध, आपसी सहकार्य र सहयोगका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो । भेटमा गृहमन्त्री थापाले नेपाल र अमेरिकाबीच ७० वर्षअघिदेखि कूटनीतिक सम्बन्ध रहि आएको र पछिल्ला दिनमा यो सम्बन्ध थप प्रगाढ बन्दै गएको बताए । उनले नेपालको विकास तथा सुरक्षा निकायको तालीम र भौतिक संरचना निर्माणलगायतका क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोगप्रति धन्यवाद दिए ।
अमेरिकी राजदूत टेप्लिज्ले नेपालको गृहमन्त्रीका रुपमा कार्यभार सम्हाल्नुभएकोमा मन्त्री थापालाई बधाई दिँदै कार्यकाल सफलताका लागि शुभकामना व्यक्त गरेकी थिइन् । उनले मानव तस्करी नियन्त्रण र भुटानी शरणार्थी एंव तिब्बती शरणार्थीको व्यवस्थापनका विषयमा पनि कुरा राखेकी थिइन् ।
यस्तै अध्यागमन सुरक्षासम्बन्धी विषयमा अमेरिकी सरकारले सहयोग गर्न चाहेको तथा अमेरिकी नागरिकबाट नेपाल सरकारले लिने प्रवेशाज्ञा शुल्क पुनरावलोकन हुनुपर्ने लगायतका विषयलाई उनले उठाएकी थिइन् । रासस