काठमाडौं । सिरियाली नागरिक माथिको हिंसा तत्काल वन्द गर्न माग गर्दै गैर सरकारी संस्था महासंघले एक विज्ञप्ति जारी गरेको छ ।
सन् २०११ देखि सिरियामा चलेको गृहयुद्घका कारण हालसम्म चार लाख भन्दा बढी नागरिकले ज्यान गुमाई सकेका रएक करोडभन्दा बढी ब्यक्तिहरु शरणार्थी तथा बिस्थापित भएको उल्लेख गर्दै तत्काल युद्ध रोक्न माग गरिएको छ ।
मानव अधिकारका आधारभूत मान्यता र संवेदनशीलतालाई समेत वेवास्ता गरी भईरहेका आक्रमणबाट लाखौं नागरिकले अकालमा ज्यान गुमाउनु परेकोप्रति दुःख व्यक्त गर्दै संयुक्त राष्ट्र संघले पारित गरेको युद्घ विराम लागु गर्न सिरियाका सत्तापक्ष र विपक्षि समुहहरुका साथै संयुक्त राष्ट्र संघसँग माग गरिएको छ ।
उक्त घटनामा वालवालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिहरु र महिला लगायत आमनागरिकको संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै मानवीयता, शान्ति र मानवअधिकारका लागि क्रियाशील संयुक्त राष्ट्रसंघीय निकाय लगायत अन्तराष्ट्रिय समुदायसंग यस प्रकारको युद्ध एवं हिंसात्मक र निन्दनीय कार्यहरुको अन्त्यका लागि सहजीकरण, अझ बढी क्रियाशीलता, ऐक्यवद्धता र समझदारी बढाउन जरुरी रहेको बिज्ञप्तिमा उल्लेख छ ।
यस परिस्थतिमा गैरसरकारी संस्था महासंघ नेपाल आम विश्व समुदाय, मानव अधिकारकर्मी, नागरिक समाज, संघसंस्थाहरुलाई आ–आफ्नो स्थानवाट आम सिरीयाली नागरिकको जीवन रक्षाका लागि क्रियाशील रहन र तत्काल मानवीय सहायताका लागि जुट्न आह्वान गर्दछ भनिएको छ ।