काठमाडौं । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले नयाँ बन्न लागेको मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिला सहभागी गराउनुपर्ने बताएकी छन् ।
रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा उनले संविधानले व्यवस्था गरेअनुसार मन्त्रिपरिषद्मा महिला प्रतिनिधित्व गराउनुपर्ने बताएकी हुन् । ‘संविधानले संघ र प्रदेशमा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत महिला रहने अनिवार्य व्यवस्था गरेको छ, त्यसअनुसार महिला प्रतिनिधित्व हुनुपर्छ,’ उनले भनिन् ।
मन्त्री थापाले स्थानीय तह बलियो भएमात्र संविधान कार्यान्वयन गर्न सजिलो हुने भएकाले विकास निर्माणमा स्थानीय क्षेत्रलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिन् ।
नेकपा एमालेका नेता महेश बस्नेतले मन्त्रिपरिषद्ले चाँडो पूर्णता पाउने बताए । ‘नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच छलफल भइरहेको छ, अब चाँडै नै निष्कर्षमा पुगेर मन्त्रिपरिषद् विस्तार हुन्छ’, उनले भने ।
नेता बस्नेतले मुलुकको समृद्धि र प्रविधियुक्त नेपाल वर्तमान सरकारको प्रमुख एजेण्डा हुने बताए । सबै हिसाबले प्रदेश नं ३ को राजधानी भक्तपुर मिल्ने भएकाले भक्तपुर राजधानी बनाउनुपर्ने उनको भनाइ थियो ।
नेपाली कांग्रेसका नेता रामकृष्ण यादवले जनताको जनादेशअनुसार कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । ‘राम्रो काम गरे हामी सरकारलाई सहयोग गर्छौं, नराम्रो काम गरे खबरदारी गर्छौं’, उनले भने । नेपाली कांग्रेसको संसदीय दलको नेतामा युवालाई अवसर दिनुपर्ने उनको भनाइ थियो ।
माओवादी केन्द्रका नेता अमललाल मोदीले मुलुकको विकासका लागि वाम एकता भएको बताए । उनले चाँडै नै मन्त्रिपरिषद् विस्तार हुने र समावेशी र समानुपातिक प्रक्रिया अपनाए आफू मन्त्री बन्ने स्पष्ट पारे ।