काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले ऐन, कानून र अनुशासनको परिधिमा रही जिम्मेवार भएर काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
पर्यटन मन्त्रालयमा आफ्नो स्वागत तथा सोही मन्त्रालयबाट अन्यत्र सरुवा हुनुभएका सचिव महेश्वर न्यौपानेको बिदाइ कार्यक्रममा उनले इमान्दारपूर्वक मन्त्रालय र मातहतका काम कारबाहीलाई चुस्त तथा प्रभावकारी बनाउन आग्रह गरे ।
व्यापारिक प्रभावमा मन्त्रालयका सचिव र मातहत निकायका महानिर्देशकको सरुवा हुने गरेको प्रसंग उल्लेख गर्दै सचिव देवकोटाले कानूनी राज्यभन्दा माथि कोही व्यक्ति नहुने भन्दै कसैको दबाब र प्रभावमा नपरी जिम्मेवार भएर कार्यसम्पादन गर्न आग्रह गरे । आफू कर्मचारीको सम्बन्धलाई सुमधुर तुल्याएर सेवा प्रवाहलाई परिणाममुखी बनाउन लागि पर्ने भन्दै उहाँले गल्ती गर्नेलाई कुनै छुट नदिने बताए ।
सचिव महेश्वर न्यौपानेले केही व्यापारिक समूह र आफ्नो अभीष्ट पूरा गर्न चाहने व्यक्तिको स्वार्थका कारण मन्त्रालयमा विभिन्न निर्णयलाई प्रभाव पार्न मन्त्रालयकै जिम्मेवार अधिकारीलाई प्रयोग गर्ने खेल चल्ने गरेको भन्दै यस्ता गतिविधिलाई निर्मूल पार्न मन्त्रालयका कर्मचारी जिम्मेवार बन्नुपर्ने खाँचो औँल्याए । उनले मन्त्रालयका कतिपय महत्वपूर्ण प्रस्ताव मन्त्रिपरिषद्मा लैजाँदा सचिवसँग समन्वय नहुने गरेको र आन्तरिक निर्णय प्रक्रियामा पनि सचिव र सहसचिवबीच समन्वयको अभाव खड्किएको गुनासो पोखे ।
सचिव न्यौपानेले मन्त्रालय मातहत राष्ट्रिय गौरवका पाँच आयोजना रहेका र तीमध्ये अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई थप प्रभावकारी ढंगले अघि बढाइनुपर्ने खाँचो औँल्याए ।
मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले सचिवको निर्देशनको पूर्ण पालना गर्दै अनुशासित रुपमा कर्मचारीका तर्फबाट सक्दो सहयोग गर्ने वचन दिए ।
यही माघ ११ गतेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिद अनुगमनका सचिव कृष्ण देवकोटालाई पर्यटन मन्त्रालयमा र सो मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो । कार्यक्रममा मन्त्रालय मातहत निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो । रासस