हामी कम्ती दुःखले आएका होइनौं, त्यो हाम्रो ठूलै बाध्यता थियो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

हामी कम्ती दुःखले आएका होइनौं, त्यो हाम्रो ठूलै बाध्यता थियो


प्रशासन विशेष ब्युरो

३० फाल्गुन २०७३, सोमबार


गाउँबाट जिल्ला, जिल्लाबाट संघर्ष गर्दागर्दै काठमाडौँ पुग्यौं । यहाँसम्म आइपुग्न कम्ती दुःख भोग्नु परेन हामीले । हामी कम्ती दुःखले आएका होइनौं, त्यो हाम्रो ठूलै बाध्यता थियो ।

यही क्रममा एक दिन सानोतिनो झगडा भयो । अस्ती मिडियाले पनि प्रख्यात गरायो । खासै हामीले त्यो गरौं भनेर गरेको होइन, बाध्यताबस् सानो विवादले मिडियाले बढी बनाइदियो । तर हामीले गर्न खोजेको होइन ।

सभासदज्यूसँगको भनाभनको कुरा के भएको हो भने जिल्लाबाट प्रमुख नेता, माननीयलगायत राज्यमन्त्री, मन्त्रीसहित १२ वटा गाउँपालिकाको संकल्प बोकेर आउनु भएको थियो । काठमाडौं पुगेपछि जिल्लाको जुन प्रतिवद्धता थियो, बझाङका नेताले गाउँलेलाई जुन प्रतिवद्धता दिएर गाउँ फर्काउनु भएको थियो त्यो पुरा नहुने देखियो । हामीले जिल्ला केन्द्रित आन्दोलन स्थगित गरेर काठमाडौं आयौ ।

काठमाडौं आउँदाखेरी केही माननीयहरु बझाङ नै थिए, केही माननीय यतै काठमाडौंमै भएपनि कोठाबाट ननिस्कने । कोही यताउति जाममा छु भन्ने । हामीलाई सारै रिस पनि उठ्यो । उनीहरु भनेर नै हामी यहाँ पुग्यो अनि उनीहरुले त्यस्तो भन्नथालेपछि कसलाइ रिस उठ्दैन होला र । जुन किसिमले उनीहरुले जिल्लामा प्रतिवद्धता व्यक्त गरेका थिए त्यो किसिमको व्यवहार उनीहरुले यहाँ देखाउन सक्नु भएन ।

हामीले ज्ञापन पत्र लेखेका थियौं । हामीले १२ भनेका थियौँ तर अरुलाई टाइप गराएर लैजाँदाखेरी १२ नभनीकन ११ भित्र भन्ने भएको रहेछ । वास्तवमा त्यो ज्ञापन पत्र माननीयज्युले नै लेख्नुपथ्र्यो अथवा हेरिदिनुपथ्र्यो । हामी त धेरै पढेलेखेका पनि छैनौं । विज्ञ पनि होइनौं । पाँच पास गरेको मान्छे । तिनीहरुले त्यतातिर समयै दिएनन् । हामीले नै बनाएर लगिसकेपछि पनि हेरेर बिग्रेको रहेछ भनेर सच्याउनुपथ्र्यो । हामीले माननीयज्युसँग हस्ताक्षर गर्नुभन्दा अफिलाल जीले हस्ताक्षर गर्नुभयो चन्द्रा जोशीले पनि हस्ताक्षर गर्नुभयो र एल बी जीलाई अब तपाई गर्नु भन्दा म गर्दिन के गर्छौै ? भन्नुभयो ।

आफु पनि लेख्नमा सहयोग नगर्ने अनि हामीले लेखेर ल्याएकोलाई यस्तो भएछ यसलाई सच्याउँ भन्नुभन्दा पनि सिधै यस्तो कहाँ हुन्छ, म हस्ताक्षर गर्दिन भन्दा हामीलाई कता कता सारै रिस उठ्यो । लछार पछार भयो । एकछिन पछि फेरी साम्य भयौं ।

नेकपा एमालेको केन्द्रिय कार्यालयको बैठक चलिरहेको थियो । बैठक सकिने वित्तिकै एल बी जी नै अगाडि लागेर केपी ओलीसँग काँडा गाविसको विषयमा पूर्ण जानकारी गराउनुभयो । त्यसको साथसाथै सिमांकन आयोगमा पनि उहाँले राम्रै भूमिका निर्वाह गर्नुभयो । जे भएपनि काँडाको विषयमा अरु माननीय भन्दा उनी विज्ञ छन् । पहिले काँडामा बसिसकेकोले काँडा यस्तो हो भन्ने कुराको अनुभव छ उहाँसँग छ ।

यसले गर्दा झन् माया बढ्यो । अरुको झगडा भएको भए झन् सम्वन्ध विग्रिन्थ्यो, हाम्रो माया थपियो । उनान्सय प्रतिशत हाम्रो माग त्यति बेलै पुरा भइ सकेको थियो, अहिले हाम्रो माग पुरा भयो । अब निकै खुसि छौं ।

Tags :
प्रतिक्रिया दिनुहोस