प्रगति र उन्नतिका लागि विदेश गइरहनु पर्दैन । नेपालमा नै सम्भव छ भन्ने सन्देशसहित २३ जना प्रेरक व्यक्तित्वका संघर्ष र सफलताका कथाहरु समेटिएको पुस्तक ‘सम्भव छ ‘पछि प्रेरक सन्दर्भहरुको संगालो ‘नेपालमै सकिन्छ’ लिएर पाठकमाझ आएका छन् रोहित भण्डारी । विकासको प्रमुख बाधक बनिरहेको अस्थिर राजनीतिले जन्माएको चरम निराशाले दक्ष तथा होनहार युवा जनशक्तिलाई विदेशतिर धकेलिरहेको वर्तमान परिप्रेक्ष्यमा नेपालमै गर्न सकिन्छ भनेर डिभिपिआर नै त्यागेर नेपाल फर्केकाहरु पनि छन् । अभाव, तनाव र असहज परिवेशका बाबजुत पनि स–सानो लगानीबाट नाम र दाम कमाएकाहरुको सन्दर्भलाई कुशल ढंगले प्रस्तुत गरेका संचारकर्मी रोहित भण्डारीसँग सिद्धराज उपाध्यायले छोटो कुराकानी गर्नु भएको छ । प्रस्तुत सम्बादको सम्पादित अंशः
नेपालमै सकिन्छ कस्तो पुस्तक हो ?
नेपालमा केही हुँदैन, केही गर्न सकिदैन, उन्नति र प्रगति नेपालमा सम्भव छैन भन्ने जुन सोच छ त्यो गलत हो भन्ने एउटा प्रमाण हो— नेपालमै सकिन्छ ।
के छ यो पुस्तकमा त्यस्तो ?
प्रेरक व्यक्ति र प्रेरक सन्दर्भ यो पुस्तकका विषयवस्तु हुन् । विदेश भोगेर, डिभी/पिआर छोडेर नेपालमै सकिन्छ भनी फर्किएर आएका व्यक्तिहरुका विश्वासयुक्त सन्दर्भ अनि नेपालमै बसेर सानातिना व्यवसायमार्फत राम्रो आम्दानी गरिरहेका युवाहरुका प्रेरणादायी कथा यसमा समेटिएको छ । सँगै सानो लगानीमा गर्न सकिने केही नवीन व्यवसायका आइडियाहरु पनि प्रस्तुत गरिएको छ ।
अभाव, तनाव र असहज परिवेशमा कसरी सकारात्मक सोच पलायो तपाईँमा ?
हो, नेपालमा अभाव, तनाव र असहज परिवेश नभएको होइन । तर, त्यसका बाबजुत पनि जब मैले डिभी पिआर छोडेर नेपाल फर्किएका मान्छेहरुलाई देखेँ, पढेलेखेका युवा जसले नेपालमा सानातिना भनिने कामको सम्मान गरेर राम्रो आम्दानी गरिरहेको देखेँ तब लाग्यो—नेपालमा हुँदैनथ्यो, नेपालमा सकिदैनथ्यो, नेपालमा सम्भावना थिएन भने डिभी पिआर छोडेर यहाँ कोही फर्कदैनथे । नेपालमा हुन्छ, सकिन्छ र न ती फर्किएका हुन् ।
पुस्तकको शीर्षक नै नेपालमै सकिन्छ भन्ने छ, नेपालका उच्च ओहोदाका कर्मचारी त जागिर छाडेर डिभी पिआर लिएर विदेश पलायन भएका कैयौं उदाहरण छन् नि ?
हो, सबैले यहाँ सम्भावना देखेका छैनन्, सबैलाई यहाँ हुन्छ, सकिन्छ भन्ने लागेको छैन । तपाइँले भनेजस्तै विदेशको मोह उच्च ओहोदाका कर्मचारीदेखि लिएर सामान्य व्यक्तिसम्ममा छ । तर, मलाई विश्वास छ— यो पुस्तकमा डिभी पिआर छोडेर नेपाल फर्किएकाहरु अनि नेपालमै थोरै लगानीमा राम्रो आम्दानी गरिरहेकाहरुका अनुभव र आइडिया प्रस्तुत गरिएका कारण पनि यो पुस्तक पढेपछि जो कसैले एकपटक सोच्नुहुन्छ र भन्नुहुन्छ—हो, नेपालमै सकिन्छ म विदेश जान्नँ ।
दुई चार जनाले स्वदेशमा केही गरेको देखेर नेपालमै सकिन्छ भन्न मिल्छ र ?
दुई चार जनाले मात्र होइन खोज्दै जाने हो भने यहाँ हजारौंले गरेका छन् । तर, पुस्तकमा ती सबैलाई समेट्न कहाँ सकिन्छ त ? त्यसैले प्रतिनिधी पात्र र सन्दर्भ मात्र समेटेको छु ।
अस्थिर राजनीतिका कारण देशमा अन्यौल छ भनेर दैनिक सयौं युवा विदेश पलायन भइरहेका छन् पुस्तकले तीनलाई रोक्ने तागत राख्ला र ?
विदेश पलायनको मूख्य कारण भनेको यहाँ सम्भावना नदेखेर हो । यहाँ के गर्ने, कसो गर्ने भन्ने अन्यौलताका कारण हो । यो पुस्तकमा केही उद्यमीहरुका व्यवसायिक आइडिया पनि प्रस्तुत गरिएका कारण मलाई विश्वास छ कि, के गरौं कसो गरौंको अन्यौलता चिर्न यसले मद्दत पुर्याउँछ । थोरै लगानीमा पनि म नेपालमै केही गर्न सक्ने रहेछु भन्ने आत्मविश्वास जगाउँछ । अस्थिर राजनीति उद्यमशीलताको बाधक हो तर, सबै कारण त्यही मात्रै चाहिं होइन ।
सपनामा नै विदेश देख्न थालिसकेको युवा मस्तिष्कलाई स्वदेशमै सकिन्छ भनेर कन्भिन्स गर्न त्यति सजिलो छ त ?
मैले अघि नै भनेँ स्वदेशमा सम्भावना नदेखेर मात्रै हो युवाहरुले विदेश सोचेको । जब त्यो सम्भावना देखाउँन सकिन्छ, आँट, विश्वास र उर्जा भर्न सकिन्छ तब कोही पनि युवाले विदेशको सपना देख्दैन । आफ्नो देश छोडेर विदेशीने रहर कसैले पाल्दैन ।
भनाइ र गराइ फरक कुरा हुन् अहिलेको परिवेशमा नेपालमा साँच्चि नै केही गर्न सक्ने अवस्था छ र ?
गर्न सकिने अबस्था प्रशस्तै छन् । जसलाई मैले पुस्तकमा उल्लेख गरेको छु । परिस्थिती अनुकुल भएका बेला जसले पनि गर्छ तर, प्रतिकुलतामा के र कसरी गर्ने भन्ने कुरा चाहिं महत्वपूर्ण हो ।
जताततै नकारात्मकता छाइरहेको वर्तमान परिवेशमा कसरी आशा जगाउँन सक्छ यो पुस्तकले ?
गर्न नसकिने, असम्भव र अपत्यारिला कुराहरु छैनन् यसमा । प्रेरणादायी व्यक्ति र सन्दर्भहरु प्रस्तुत छन् त्यसैले पनि आशा जगाउँछ र जाग्छ ।
पाठकले किन पढिदिने तपाईँको पुस्तक ?
आर्थिक सबलता सबैको चाहना हो । उन्नति र प्रगति गर्नुपर्छ भन्ने सोच सबैको हो । तपार्इँमा त्यो सोच पूरा गराउँन यो पुस्तक सहयोगी बन्न सक्छ । त्यसैले पढिदिने ।
अन्त्यमा थप भन्न मन लागेको केही ?
उद्यमशीलता प्रवद्र्धन मेरो उद्देश्य हो । नेपालमै केही गर्न सकिन्छ र गर्नुपर्छ भन्ने मेरो भावना हो । त्यही कुरा पुस्तकमा उल्लेख गरेको छु । लेखाइका क्रममा कमी कमजोरी हुन सक्छन् जसलाई औंल्याएर मलाई सल्लाह सुझाव दिन पृय पाठकसँग आग्रह गर्दछु ।