परीक्षापयोगी विशेष श्रृंखला ४ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

परीक्षापयोगी विशेष श्रृंखला ४


प्रशासन विशेष ब्युरो

५ माघ २०७३, बुधबार


 

वस्तुगत प्रश्नहरु

१. कुनै त्रिभुजभित्र N वटा खप्टिएका त्रिभुजहरु छन् । साना ठूला गरी जम्माजम्मी त्रिभुजको संख्या निकाल्नु छ भने कुन सूत्र प्रयोगमा ल्याउन सकिन्छ ?

२. सार्वजनिक निकायमा काम गर्ने व्यक्तिहरुबाट चयन गरिने Integrity Idol Nepal, 2016 को उपाधी कसले जितेका छन् ?

३. भनिन्छ कि बेदव्यास तनहुँमा, संस्कृत रामायणका रचयिता बाल्मिकी नवलपरासीमा जन्मेका थिए । त्यस्तै संस्कृत साहित्यका अग्रणी पाणिनी कुन जिल्लामा जन्मेको मानिन्छ ?

४. थारु समुदायमा गाँउ सञ्चालनका लागि प्रत्येक घरमुलीहरुको मतअनुसार चुनिने अगुवालाई के भनिन्छ ?

५. ¹ ½सँग योगफल र गुणनफल उही आउने तलकामध्ये कुन संख्या हो ?

            (क) ७        (ख) ५        (ग) ३        (घ) १

 

सही उत्तरहरु :

१. 4N-3                  २. गुल्मी तमघासका शिक्षक डोरविक्रम श्रीश     ३. अर्धाखाँची (हालको पणेना गाविस)

४. बडघर ( भलमन्सा)     ५. (ग) ३

 

छोटो प्रश्नोत्तर

. वेरुजु भनेको के हो ? वेरुजु फर्छ्यौटलाई प्रभावकारी वनाउने उपाय के के हुन सक्दछन् ?

नमिलेको कारोवार वा रुजु नभएको स्रेस्तालाई वेरुजु भन्ने गरिन्छ । आर्थिक कार्यविधि ऐन, २०५५ ले वेरुजु भन्नाले प्रचलित कानुनवमोजिम पुर्याउनुपर्ने रीत नपुर्याई कारोवार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा वेमनासिव तरिकाले आर्थिक कारोवार गरेको भनी लेखा परीक्षण गर्दा औल्याएको वा ठहर्याइएको कारोवारलाई मानेको छ । वेरुजुको किसिम हेर्दा असूलउपर गर्नुपर्ने, प्रमाण जुटाई नियमित गर्ने र पेश्की वेरुजु भनेर मुख्य ३ वटामा राखेर हेर्ने गरिएको छ ।

वेरुजु फर्छ्यौट गर्ने मूल दायित्व सम्वन्धित कार्यालयको हुन्छ भने तालुक निकाय, वेरुजु फर्छ्यौट अनुगमन तथा मूल्यांकन समिति, केन्द्रिय तहसिल कार्यालयको समेत यसमा भूमिका रहने गर्दछ । वित्तीय अनुशासनको सूचकका रुपमा र कार्यालय वा कार्यालय प्रमुखको कार्यसम्पादनको एउटा मानककारुपमा समेत वेरुजुको आकार र फर्छ्यौटको प्रगतिलाई हेर्ने गरिन्छ ।

वेरुजु वढी हुने र प्रगति कम हुने दुवै कुरा आपसमा सम्वन्धित छन् । कानुनको पालना कमजोर हुने, उही गल्ती दोहोरिने, छुचो नदेखिनेप्रवृत्ति, आन्तरिक नियन्त्रण कमजोर हुनु, अभिलेख प्रणाली व्यवस्थित र आधुनिक नहुनु, वित्तीय अनुशासनले कम प्राथमिकता पाउनु जस्ता कारणले वेरुजुको समस्या रहिरहेको हो । उल्लेखित समस्याको निदानसँग वेरुजु न्युनिकरणको विषय जोडिएको छ । अर्कोतर्फ पेश्की लिने दिने विधिमा पुनरावलोकन नभएसम्म शुन्य वेरुजु कल्पना मात्र हुन्छ । मूल कुरा त व्यक्ति र निकायको कार्यसम्पादनसँग वेरुजुको आकार र भएको वेरुजु फर्छ्यौटको स्थितिलाई आवद्ध गर्नुपर्दछ ।

वेरुजु हुन नदिन खर्च गर्ने पाटो अर्थात आयोजना व्यवस्थापन एवं निर्णय प्रकृया, लेखा तथा प्रतिवेदन एवं परीक्षण गरी पृष्ठपोषण दिने पद्धतिमा सुधार भएमा मात्र वेरुजु घटाउन सम्भव देखिन्छ । त्यस्तै वेरुजु भैहालेमा पनि छिटै प्रमाण जुटाई सम्परिक्षण गर्ने वातावरण तयार गर्न अख्तियारवाला, खर्च लेख्ने कार्यालयको प्रमुखले बढी चासो दिनुपर्दछ । सरोकारवालावीचको निरन्तरको सम्वाद, असल अभ्यासवाट सिकाई, लेखा राख्ने र परीक्षण गर्ने नीति एवं कानुनमा समयानुकूल परिमार्जन, वेरुजुलाई नजरअन्दाज गर्ने जोकोहीलाई अनुशासनको कारवाही नभएसम्म वेरुजु फर्छ्यौट कार्यमा प्रभावकारिता सम्भव छैन ।

 

. विपद व्यवस्थापनका क्षेत्रमा सेण्डाई फ्रेमवर्क (Sendai Framework) को छोटो परिचय दिनुहोस् ।

विश्वमा जनसंख्याका साथमा प्रकृतिको दोहन मात्र वढेको छैन कि जलवायु परिवर्तन लगायतका प्राकृतिक र अन्यभौतिक, मानवसृजित विपत्तिहरुको जोखिम पनि वढिरहेको छ । विपद व्यवस्थापनका लागि जोखिम न्युनिकरण तथा पूर्वतयारीलाई जोड दिनुपर्दछ भन्ने निश्कर्ष पछिल्लोपटक जापानको सेन्डाई सहरमा सन् २०१५ मार्चमा सम्पन्न UN World Conference on Disaster Risk Reduction ले निकालेको हो । सो सम्मेलनले पारित गरेको खाकालाई नै “सेन्डाई फ्रेमवर्क (२०१५-२०३०)” नाम दिइएको छ । यस खाकामा ४ वटा प्राथमिकताप्राप्त कामहरु, १३ वटा मार्गदर्शक सिद्दान्तहरु र ७ वटा विश्वव्यापी गन्तव्यहरु समेटिएका छन् । यो खाकालाई “ह्युगो खाका (२००५-२०१५)” को नयाँ अध्यायको रुपमा हेर्न सकिन्छ ।

मूलत: विश्वव्यापी साझा धारणा र आपसी सहयोगका साथै राष्ट्रिय र स्थानीय तहमा विपद जोखिम न्युनिकरण गर्ने र सामना गर्ने क्षमता वढाउनतर्फ केन्द्रित देखिएको यो खाकाले अघि सारेका प्राथमिकताप्राप्त ४ कार्यहरु (Priority Action Agenda) यसप्रकार रहेका छन् :

१. विपदको जोखिमलाई बुझ्ने

२. विपद जोखिम व्यवस्थापन गर्न विपद जोखिम शासन सुदृढीकरण गर्ने

३. उत्थानशीलतका लागि विपद् जोखिम न्युनिकुरणमा लगानी गर्ने

४. प्रभावकारी प्रतिकार्य र पुनर्लाभ, पुनर्स्थापना र पुननिर्माणमा अझ राम्रो निर्माण (Build Back Better) का लागि विपदपूर्व तयारी अभिवृद्धि गर्ने ।

विपदवाट प्रभावित हुने/मृत्यु हुनेको संख्या घटाउने, आर्थिक हानीनोक्शानी घटाउने तथा पूर्वाधारमा हुने क्षति तथा सेवा प्रवाहमा हुने वाधा कम गर्ने गरी जोखिम न्युनिकरण रणनिति सवै पक्ष देशले वनाउनुपर्ने, अन्तराष्ट्रिय सहयोग प्रवर्द्धन गर्ने र विपद जोखिमको पूर्वजानकारी प्रणाली विकसित गर्नुपर्ने पनि उक्त्त खाकामा औँल्याइएको छ । The Sendai Conference outcome represents “first step of our journey to a new future”भनेर सेन्डाई खाकाको महत्वलाई तत्कालिन UN महासचिव वान कि मूनले उच्च मूल्यांकन गरेको हामी पाउँछौँ । विपद जोखिमका हिसावले संवेदनशील देशका रुपमा रहेको नेपालका लागि पनि उल्लेखित खाकाको कार्यान्वयनले विशेष अर्थ राख्ने प्रष्ट छ ।

प्रस्तोताः नेत्र सुवेदी ‘प्रयास’

 

नोटः नेत्र सुवेदी “प्रयास” द्वारा प्रस्तुत श्रृखंला १ देखि ३ सम्मका परीक्षापयोगी सामग्रीहरु समेत अध्ययन गरी लाभ लिनुहुन पाठकवर्गमा अनुरोध छ । यसका लागि हाम्रो होमपेजको दायाँतर्फ रहेको GK & IQ Corner मा क्लिक गर्नुहोला । साथै यो स्तम्भलाई थप उपयोगी वनाउन विद्वान पाठकहरुको सुझावको समेत आशा गरिएको छ । -prasashan.com

 

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/iq-corner/

 

Tags :
प्रतिक्रिया दिनुहोस