१० जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जलस्रोतको धनी देशमा अन्धकारको साँझ

अ+ अ-

भनिन्छ- ‘जलस्रोतमा विश्वमै ब्राजिलपछि दोस्रो नम्बरमा पर्ने देश नेपाल हो ।’ यहाँ हजारौँ नदीनाला छन् । तिनबाट कैयौँ मेगावाट बिजुली निकाल्न सकिन्छ । तर ती सबै बगेर त्यत्तिकै खेर गइरहेका छन् । तालका पानी तालमै जमेर बसिरहेका छन् । कोशी, गण्डकी, कर्णालीहरू गडगडाउँदै बग्दै गइरहेका छन् । पानीको धनी देशको गर्व व्यर्थ हुन थालिरहेको छ । पानी प्यासले कति जना प्याकप्याकती परिरहेका छन् । पानीबाट निकालिएका जलविद्युतले बिजुली उत्पादन गरिरहेकै छन् । तर अघोषित ‘लोडसेडिङ’ ले जनता हैरान हुँदै छन् ।

बिजुली नभई आधुनिक जीवनशैली कल्पना गर्न नसकिने भइसकेको बेला बिजुली गइरहन्छ । यहाँ एउटा रुख ढल्दा बिजुली जान्छ । पानी पर्दा त झन् बिजुली आफैँ चट्याङले विस्फोट भएर जान्छ । ‘चुहावट भयो, चोरी भयो, कर्मचारी बदलिए’ यी त मात्र बहाना हुन । असलमा त यो देश आफैँ ‘बिजुली गइरहने’ देश हो भन्दा फरक नपर्ने लज्जास्पद पहिचान बन्दै छ ।

वास्तवमा बिजुली यहाँ अनिश्चितता, लाचारी र व्यवस्थागत बेथितिको प्रकाश र प्रतीक हो । जब सिँचाइको पम्प बन्द हुन्छ, किसानको पसिना सुक्छ । जब विद्यालयको पङ्खा घुम्दैन, कम्प्युटर चल्दैन, बालबालिकाको ध्यान पन्छिन्छ । उद्योगमा कलकारखाना बन्द हुन्छ । श्रमिकको चुल्हो निभ्छ । यसरी बिजुली मात्र जाँदैन, हजारौँ सपना पनि निभेर जान्छन् ।

रुख ढल्दा झुल्किने अन्धकारले भन्दा पनि हामीलाई व्यवस्थाको असक्षमताले घेरिएको छ । बिजुली जानु प्राकृतिक कारण हैन, प्राविधिक र प्रबन्धनको असफलता हो । पानी धेरै पर्दा बाढीले बगाउनु पर्ने होइन । तर यहाँ एउटा भल काट्दा, एउटा रुख ढल्दा र एउटा व्यक्ति बद्लिँदा नै योजना, क्षमता, जबाफदेहिता सब थोक बग्छ । अन्त्यमा अन्धकार युगको प्रारम्भ हुन्छ ।

चोरी चकारी त सधैँ एक बहानाको आवरणमा आउँछ । राज्यको ढोका खुला छ । यसले जहाँ पायो, त्यहीँबाट चुहाउने गर्छ । अनि भोलिपल्ट अखबारमा देखिन्छ– ‘बिजुली गइरहेको छ, चुहावट भएको छ, अनुसन्धान भइरहेको छ ।’ 

परन्तु त्यो अनुसन्धान कहिल्यै सकिँदैन, त्यो बिजुली कहिल्यै फर्किँदैन । केही दिनपछि जब विरोधको आवाज सहरका गल्ली, चोक हुँदै सिंहदरबार नजिक माइतीघर मण्डलातिर पुग्छ । त्यस बेला सरकार भन्छ– ‘लोडसेडिङ’ भएको छैन । र, हुँदैन । ‘सिस्टम अपडेट’ गर्दा गएको हो । कतै रुख ढलेर बत्ती गएको हो । तर ढुक्क हुनुहोस् ‘लोडसेडिङ’ हुँदैन ।’

अफसोस जब साँझ बत्ती बाल्नुपर्ने समय हुन्छ ह्वात्त बत्ती जान्छ र सर्वत्र अन्धकार छाउँछ । आरतीको समय घर्किन्छ । घर फर्किएका थकिन ज्यानले सुस्ताउन सक्दैन । गृहकार्य गर्नुपर्ने र परीक्षाको तयारीमा पढ्नुपर्ने विद्यार्थीको भविष्य अलमलमा पर्छ । त्यसपछि आँखाले केही देख्दैन । गर्दागर्दैको कामले बाटो बिराउँछ । सम्पर्क र सम्बन्ध टुट्छ । चोरी डकैतीको यही बेला आँखा लाग्छ । सुचारु र व्यवस्थित किसिमले चलिरहेको जीवनशैलीमा ठूलो असर पर्छ । 

अन्धकारको साँझ भित्रिन्छ । अचानक संसार अन्धकारमा विलीन हुन्छ । बिजुलीको आशामा हामीले साँझको प्राकृतिक उज्यालो बिर्सिएका छौँ । टुकी, मैनबत्ती, ढिब्री, दियो बत्ती, टर्च लाइट, मैन टोल आदि यी सबै पुराना संस्मरण बनेका छन् । अब त बत्ती जानु भनेको अनायासै अन्धकारको गर्तमा झर्नु हो । अनि त्यो अन्धकार केवल दृष्टिको होइन, त्यो अन्धकार चेतनाको पनि हो । किनकि हामीलाई उज्यालोले मात्र होइन, त्यो उज्यालोसँग जोडिएका सम्पर्क र सम्बन्धहरूले पनि दिशा दिएको हुन्छ ।

बत्ती जाँदा हेरिरहेको आँखाले केही देख्दैन । घरको चिनिएको बाटो पनि अपरिचित लाग्छ । गर्दागर्दैको काम अधुरो रहन्छ । जीवनको गतिशीलता एकाएक स्थगित हुन्छ । यही बेलामा मानिसहरूको सम्बन्धहरूमा पनि अन्धकार छाउँछ । फोन काटिन्छ, इन्टरनेट बन्द हुन्छ, सामाजिक सञ्जालको आवरणभरि अनायासै पटक–पटक ‘लोडसेडिङ’ भएको प्रति तीव्र विरोध छाउँछ । यति बेला सुनिदिने सरकार बुझ पचाएर बस्छ । मारमा तमाम जनता पर्छन् ।

झिलिमिली बत्तीले झकिझकाउ हुनुपर्ने समय कालरात्रिमा परिणत हुन्छ । अन्धकार साँझको यो क्षण केवल दिन र रातको सन्धि मात्र हैन, यो मानव चेतनाको परीक्षाको घडी हो । अन्धकारभित्र लुकेका चुनौतीहरूलाई नदेखेझैँ गर्न सकिँदैन । उज्यालो नहुँदासम्म, त्यो सिङ्गो संसार कति काँचो, कति असुरक्षित र कति एक्लो हुन्छ भन्ने महसुस हुन्छ । यसैले त अन्धकारको एक झिल्कोले पनि मानिसको भित्री डरहरू उजागर गर्छ ।

तर यही अन्धकारभित्र आशा पनि छ । जब सबै बत्ती निभ्छन्, त्यही बेला आफूभित्रको उज्यालो खोज्ने यात्रा सुरु हुन्छ । त्यो उज्यालो कुनै तारा, कुनै टुकी वा कुनै आत्मामा लुकेको हुन्छ । प्रत्येक आँखाले अधैर्यपूर्वक उज्यालो समयलाई पर्खिरहेको हुन्छ ।

वास्तवमा एउटा कर्मचारी फेरिनु यहाँ सम्पूर्ण व्यवस्था फेरिनु सरह हुन्छ । अर्बौँ नाफामा गइरहेको बिद्युत् प्राधिकरण एक्कासी अर्बौँ घाटामा जान्छ । त्यसपछि अब मुनाफा कमाउन बिजुलीको भाउ बढाउनुको विकल्प नरहेको समाचार छ्याप्छ्याप्ती हुन्छ । मानिस फेरिनु स्वाभाविक हो, तर कुनै संस्थाको प्रमुखमा बसेको एउटा व्यक्ति फेरिँदा जब सम्पूर्ण प्रणाली नै बदलिन्छ, त्यसको प्रभाव कोठामा होइन, हजारौँ–लाखौँ महलदेखि झुपडीहरूमा समेत त्यसको गम्भीर असर महसुस हुन्छ । 

केही समय अघिसम्म अर्बौँको नाफामा रमाएको बिद्युत् प्राधिकरणको उज्यालो अनुहार, एकाएक घाटाको अँध्यारो अनुहारमा परिणत हुन्छ । त्यो घाटा केवल कागजमा सीमित रहेन । प्रत्येक साँझ जब बत्ती निभ्छ, बिरामीको सास अड्किन्छ, साना उद्योगहरूको मेशिन रोकिन्छ । त्यही घाटाको पीडा भिजेर जनमानसमा पोखिन्छ ।

‘कुलमान’ हुँदा पानी परेन, हावा चलेन, रुख ढलेन कहिल्यै पोल पनि ढलेन । तर जब ‘हितमान’ आए तब जहिल्यै पानी पर्छ, हावा चल्छ, रुख ढल्छ, पोल ढल्छ । त्यसपछि उज्यालो अनुहार एकाएक अन्धकारमा परिणत हुन्छ । घोषित ‘लोडसेडिङ’ भन्न नसकेर अघोषित रूपमा ‘लोडसेडिङ’ गरिन्छ । ‘लोडसेडिङ’ भइरहेको हुन्छ फेरि भनिन्छ– ‘लोडसेडिङ’ हुँदैन ।

बिजुली जस्ता आधारभूत सेवाको अभाव हुँदा मानिस केवल अँध्यारोमा बस्दैन; ऊ आफ्ना सपना, सम्भावना र स्वतन्त्रता सबै गुमाउँछ । विडम्बना यो अभाव योजनाबद्ध रूपमा सिर्जना गरिएको भान हुन्छ । मुनाफा नहुँदा बिजुलीको मूल्य वृद्धि अपरिहार्य ठहरिन्छ । जनतालाई दयनीय अवस्थाबाट निस्किन अरू उपाय दिइँदैन । यसको अर्थ अन्ततोगत्वा जनतालाई अँध्यारोमा राखेर उज्यालोको व्यापार गरिन्छ ।

‘लोडसेडिङ’ अब प्रविधि अभावको परिणाम होइन, नीति अभावको संकेत हो । कहिले ‘लोडसेडिङ’ गरेर जनतालाई हैरान पारिन्छ, कहिले मूल्य वृद्धिको सूचना दिइन्छ । अन्त्यमा एउटै निष्कर्षमा पुर्‍याइन्छ– ‘अब यसैमा सम्झौता गर्नुपर्छ ।’ यो रणनीति केवल विद्युतीय व्यापार होइन, सामाजिक मनोविज्ञानमा हस्तक्षेप हो ।

हामीले बुझ्नुपर्ने कुरा, समस्या केवल ‘लोडसेडिङ’ होइन । समस्या त्यो सोच हो जसले सार्वजनिक सेवालाई निजी मुनाफाको स्रोत बनाउँछ । समस्या त्यो प्रणाली हो जसले इमानदार प्रयासलाई असफलता र कर्तव्यच्युतलाई सफलता ठान्छ । हामी उज्यालो खोजिरहेका छौँ, केवल बल्भको उज्यालो होइन, नियतको उज्यालो, नीतिगत पारदर्शिता र जबाफदेहिताको प्रकाश ।

‘तमसोमा ज्यार्तिर्गमय’ को पौराणिक मान्यता सधैँ उज्यालोतिरकै प्रस्थान हो । अन्धकारमा को बस्न सक्छ र ! अँध्यारोमा के गर्न सकिन्छ र ! उज्यालोले नै संसार जोडिदिएको छ । उज्यालोको समयमा अनायासै लाद्न खोजिएको अन्धकार युगतिरको ‘अधोमतिको गति’ जलस्रोतको धनी देशमा ‘अन्धकारको उपस्थिति’ सुहाउँदो कुरा होइन । 

प्रतिक्रिया दिनुहोस