तिलोत्तमा (रुपन्देही) । बालबालिकालाई अनुशासित र नैतिकवान् बनाउने ध्येयले नेपाल स्काउट लुम्बिनी प्रदेशद्वारा आयोजित एक हप्ते तालिम यहाँ सुरु भएको छ ।
बुटवल माविमा सुरु भएको सो तालिमको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश सभासदस्य लीला गिरीले आफू सहित समाजलाई नैतिकवान् बनाउने कुरामा स्काउटले महत्त्वपूर्ण भूमिका खेलेको बताइन्। उनले भने, “ व्यक्ति नैतिकवान् र चरित्रवान भएमा मात्र समुन्नत र समृद्ध समाज बन्छ । ” कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई रुपन्देही प्रमुख माधव बञ्जाडेले स्काउटका गतिविधि सबै विद्यालयमा पुर्याइ विद्यार्थीको सामाजिक र व्यावहारिक जीवनमा परिवर्तन ल्याउन आग्रह गरे ।
नेपाल स्काउट राष्ट्रिय परिषद् सदस्य तथा मुख्य प्रशिक्षक विजेन्द्रलाल ध्वजूले सम्पूर्ण सामुदायिक विद्यालयमा स्काउट हुन जरुरी रहेको बताए। कार्यक्रममा बुटवल माविका प्रधानाध्यापक होमबहादुर रायमाझीले स्काउटका माध्यमबाट बालबालिका अनुशासित बन्नेमा जोड दिए।
कार्यक्रममा प्रा. डा.आरसि आचार्य, रुपन्देही व्यापार संघ कोषाध्यक्ष मणि खनाल , नेपाल स्काउट राष्ट्रिय परिषद् सदस्य तथा मुख्य प्रशिक्षक सुशीला कुमारी विष्ट, प्याब्सन पूर्व अध्यक्ष लालहरि पाण्डेलगायतले स्काउटको महत्वमाथि प्रकाश पाएका थिए । लुम्बिनी प्रदेश स्काउट प्रमुख आयुक्त तथा कार्यक्रमका अध्यक्ष दिनानाथ भट्टराईले एक घर एक स्काउट बनाउने गरी स्काउट अघि बढेको जनाउँदै स्वार्थ भन्दामाथि उठेर स्काउटले समाज सेवा गर्दै आएको बताए ।