काठमाडौँ । चैत १५ गतेको तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाईंलाई अनुसन्धानको लागि थप चार दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।
आइतबार न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले प्रसाईंसहित २६ जनालाई अनुसन्धानका लागि थप चार दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
पछिल्लो पटक प्रसाईंविरुद्ध वैशाख ३० गते ५ दिन म्याद थप भएको थियो । प्रसाईंविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरमा मुद्दा दर्ता भएको छ ।
चैत १५ गते प्रदर्शनका नाममा हिंसा भड्काएर उनी फरार रहेकोमा चैत २८ गते प्रहरीको विशेष ब्युरोले भारतमा पक्राउ गरी चैत २९ गते बिहान उनलाई भद्रपुर ल्याएको थियो । त्यसपछि उनलाई जहाजबाट काठमाडौँ ल्याइएको हो ।
गत १५ चैतमा काठमाडौँको तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि दुई जनाको ज्यान गएको थियो भने आगजनी र लुटपाटका घटना भएका थिए । प्रहरीले सोही दिनदेखि केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।