काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड र बुल्गेरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौँ टोखा नगरपालिका-५ बस्ने दैलेख भगवतीमाई गाउँपालिका-१ घर भएका ३५ वर्षीय हिक्मत कुमार थापा र काठमाडौँ महानगरपालिका(२९ बस्ने बारा आदर्श कोतवाल गाउँपालिका-८ घर भएका ३० वर्षीय जिक्रुल्लाह मिया रहेका छन् ।
पक्राउ मध्ये हिक्मतले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख १० हजार रुपैयाँ र जिक्रुल्लाहले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । सम्पर्कबिहीन भएपछि पीडितहरूले दिएको उक्त उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले हिक्मतलाई टोखा नगरपालिकाबाट र जिक्रुल्लाहलाई ललितपुरबाट बिहीबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।