१. कुण्ठित जिन्दगी
आफै भित्र गुम्सिएर
कैदी जस्तो
घात/प्रतिघात
आत्मा स्वयं
तड्पन र जलनमा
पीडाले छटपटी रहेको
तड्पन हो त, मान्छेको जिन्दगी ?
जिन्दगी जिउने कसरी
थाहा छैन
म जिन्दगी बोकेर
हिमाल उक्लन्छु
म जिन्दगी बोकेर
समुद्र तर्छु
जिन्दगी विस्मयकारी यात्रामा छ
जिन्दगी, जिन्दगी जस्तो छैन
खोइ, कहाँ भोग्दै छु जिन्दगी ?
अलाप/विलाप कति गर्नु ?
मर्न लागेँ छटपटिएर
आफै भित्र कति रुनु ?
अलिकति मल्हम चाहिएको छ ।
खोइ मेरो उद्देश्य ?
कसले खोसी लग्यो ?
उद्देश्यहीन भए पछि
कति बरबराउनु असन्तुष्टि ?
मुटु दुख्ने गरी ।
धारमा उभिएको छु स्वयं
कुन बेला कताबाट रेटिन्छु
थाहा छैन
यो कुण्ठित मान्छेको जिन्दगी ।
२. अनुवाद
कुनै दिन
हाम्रा गाउँ वासिन्दको
मन, हाँस्ला या नहाँस्ला ?
म अनुवाद भएर
मन भित्र पस्ने प्रयत्नमा छु ।
अनुवाद हुने क्रममा
रोएको छु
चिच्याएको छु
पहाड उक्लेर
भञ्ज्याङ्ग तिर झरेको छु ।
म नुन नपाएर
अलिनै रोएको छु
म एक आङ कपडाको पर्खाइमा
जाडोमा कठाङ्ग्रिएको छु
म एच. आइ.भी. एड्सबाट संक्रमित
पुन : स्थापना केन्द्र खड्किएको छु
म अक्षरहरू नजानेरै
पाठशाला महसुस भएको छु
म सुकुम्वासी
न्यानो ओत पर्खेर बसिरहेछु ।
जीवन जिउने क्रममा
गाउँलेहरूकै
आँगनमा उभ्भिदै
अवरोधका मुक्का सँग जुझ्दै
गाउँलेहरूकै पक्षमा वकालत गरी
म मन मनमा अनुवाद भएको छु ।
३. हार्नुको अर्थ
अव कुन शब्दले
संवोध गरूँ ?
आफन्तका अनुहारहरूलाई ।
उनीहरू धुरी माथि चढेका छन
मलाई नमिठा दागहरू पोताएर
म उनीहरूलाई पछ्याउन खोज्छु
चिच्याउँछु
आफन्तहरू हो पर्ख
उनीहरू अट्टहास गर्छन्
र मलाई
एउटा खाडल तिर धकेली दिन्छन्
म जसो तसो खाडलबाट निस्किएर
आफन्तलाई विनम्रता पूर्वक भन्छु
ए, आफन्तहरू हो
आउ सम्झौता गरौँ
म हारुन्जेल मात्रै तिमीहरूको जित हो
मैले जितेको दिन तिमीहरूको हार हो
म हारेको छु र तिमीहरूले जितेका छौँ
म नहारेको भए
तिमीहरूले कसरी जित्न सक्थ्यौँ ?
साँझ पर्छ र बिहानी हुन्छ
बिहान हुन्छ र साँझ पर्छ
सूर्य उज्यालोको प्रतीक हो
सूर्यलाई छेक्ने कोसिस नगर
आकाशकै ओतले
धरती सुरक्षित बाँचेको छ ।
धरती एकलौटी हुनै सक्दैन
धरती कहाँ तिमीहरूको मात्रै हो र ?
क्षितिजले पनि
तिमीहरूलाई कुनै दिन लोप्पा ख्वाउने नै छ
सायद, त्यति बेला याद होला
जित्नु मात्रै कुनै अर्थ होइन रहेछ
हार्नुको पनि एउटा अर्थ हुन्छ ।