काठमाडौँ । वैदेशिक रोजगारीमा युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-३ बस्ने नुवाकोट म्यागङ गाउँपालिका-१ घर भएका ५४ वर्षीय न्याउरे तामाङ र काठमाडौं महानगरपालिका-३० बस्ने ताप्लेजुङ सिदिङ्वा गाउँपालिका-६ घर भएका ३५ वर्षीय जीवन कडरीया रहेका छन् ।
पक्राउ मध्ये न्याउरेले युएई पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ६९ हजार रुपैयाँ र जीवनले दक्षिण कोरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ३ लाख २० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले न्याउरेलाई टोखा नगरपालिका-३ बाट र दिपकलाई काठमाडौं महानगरपालिका-२६ बाट बुधबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।