काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने भएको छ।
नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्यले मन्त्रालयले यस्तो मेला आयोजना गर्न लागेको हो।
मंगलबार आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै श्रममन्त्री डोलप्रसाद अर्यालले प्रदेशस्तरीय मेला मात्रै सुरुवात भएको बताए । आगामी दिनमा मेलालाई जिल्ला, स्थानीय तह र वडासम्म पनि पुर्याउने योजना रहेको उनले बताए।
मेलामा रोजगारीको खोजी गरिरहेका व्यक्ति, रोजगारदाता, तालिम प्रदायक संस्था तथा वैदेशिक रोजगारीसम्बन्धी सबै खालको जानकारी दिने व्यवस्था गरिएको छ।
मेला आगामी जेठ १७ देखि ३० गतेसम्म सातै प्रदेशमा सञ्चालन हुनेछ । प्रत्येक प्रदेशमा २ दिनसम्म चल्ने यो मेलाले नेपालको रोजगारी परिदृश्यको विशेष आवश्यकतालाई सम्बोधन गरी रोजगार खोज्नेहरू र रोजगारदातहरुबीच मध्यस्थताको काम गर्नेछ ।