काठमाडौँ । राहदानीमा देखिएको भिडभाड कम गर्न भन्दै विभिन्न निकायहरूबाट राहदानी विभागमा पठाइएका कम्प्युटर अपरेटरहरू अहिलेसम्म पनि नगएपछि यथाशीघ्र हाजिर हुने व्यवस्था मिलाउन ताकेता गरिएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय, आयोग, सचिवालय, विभाग तथा कार्यालयहरूलाई परिपत्र गर्दै खटाइएको निकायमा हाजिर हुन जाने व्यवस्था मिलाउन भनेको हो । मन्त्रालयले १७ पुसमा २८ जना कम्प्युटर अपरेटरहरूका कामकाजका लागि राहदानी र कन्सुलर विभागमा काज सरुवा गरेको थियो ।
सम्बन्धित समाचार : ३० जना कम्प्युटर अपरेटरको राहदानी विभागमा सरुवा
विभागले जनशक्ति अभाव भएको भन्दै मन्त्रालयसँग कम्प्युटर अपरेटर मागसँगै सामान्य प्रशासन मन्त्रालयले मन्त्रालय, आयोग लगायत कार्यालयहरूबाट ३ महिने काजमा कर्मचारी पठाउने निर्णय गरेको थियो तर निर्णय भएको दुई साता बढी भइसक्दासमेत दुई÷चार जना मात्रै अपरेटरहरूले राहदानी विभाग गएका छन् ।
राहदानी र कन्सुलर विभागले अपेरटरहरु नआएको भन्दै सामान्य प्रशासन मन्त्रालयमा जानकारी गराएपछि सामान्यले कम्प्युटर अपरेटरहरुको नाम सहित एक सूचना जारी गर्दै निर्देशन दिएको हो ।
